समाज
Dec 10, 2019
बिश्व मानबाधिकार दिवस मनाइरहँदा बुझ्नपर्ने कुरा
–लोकनारायण सुबेदी
काठमाण्डौं । मंसिर २४ बिश्वमा गरीबी आज कुनै पनि देशमा मानबअधिकारको सबैभन्दा ठूलो चूनौतिको रुपमा खडा छ । त्यसैले मानबाधिकार दिबस मनाउनुको मूख्य लक्ष गरीबी उन्मूलन र  सुरक्षित जीबन हुनु पर्दछ । यसैमा केन्द्रि भएर बाच्ने आधार तयार गरिनु आजको पहिलो मानबीय आबश्यकता हो । बास्तवमा बाल–बालिका, बृद्ध–बृद्धा, महिला, गरीब  खाशगरी आम जन समुदायका लागि के आज सतही रुपमा पनि कतै कुनै मानबाधिकारको संरक्षण तथा सम्बद्र्धन भइरहेको छ ? यो आजको सबैभन्दा ठूलो अहंं यक्ष प्रश्न  हो ।
हुन त नेपालमा पनि मानबाधिकारको संरक्षण र सम्बद्र्धनका लागि अन्य देशहरुमा जस्तै मानब अधिकार आयोग छ । यस्तै महिला, जनजाति आदि अयोगहरु पनि खुलेका छन् । तर के मानबोचित शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितता र सुरक्षित भबिष्य बनेको छ त ? भन्ने गम्भीर प्रश्न अहिले पनि ज्यूँका त्यूँ छ । यद्यपि बिगत  बर्षहरुमा जस्तै यस बर्ष पनि नेपालमा सारा बिश्वका अन्य देशहरुमा जस्तै मानबाधिकार दिवस मनाइदैछ र मनाइदै  आएको छ । मानबाधिकारको रक्षा र बिकासको कुरा गरिदै आएको छ । यो अधिकार हनन हुन नदिने कुरा बर्षैपिच्छै गरिने गरिन्छ । यस्ता कयौं कार्यक्रमहरु पनि भएका या हुनेगरेका छन् जसमा ‘मानब अधिकारको हनन हुन नदिने’ सपथ पनि लिइने  गरिएको छ ।
तर बास्तबिकता के कस्तो छ र के हुदै आएको छ ? ? त्यसको सर्सरी उल्लेख गर्नु उपयुक्त होला । धेरै टाढा नगएर बिगत छ बर्षदेखिका यस दिवसका नाराहरुलाई सर्सरी मात्र हेर्ने हो भने पनि २०१३ मा यस दिवसको बिषय थियो ः ‘२० बर्ष ः आफ्नो अधिकारका लागि काम’ २०१४ को नारा थियो ‘मानबाधिकारको माध्यमबाट जीवनलाई बदल्ने १० बर्ष’ २०१५ मा ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता सधैभरी’ २०१६ मा ‘आज कसैको अधिकारको लागि खडा थिए’ २०१७ मा ‘जाऔं समानता, न्याय र मानब गरीमाका लागि खडा होऔं’ भन्ने थियो । अघिल्लो बर्ष अर्थात २०१८ मा यस दिवसमा ‘मानबधिकारको सार्बाभौमिक घोषणा’ को ७०औं बार्षिकोत्सब मनाउने सन्दर्भमा बर्षभरी बिभिन्न अभियान चलाउने बताइएको थियो । अहिले २०१९ का लागि ‘आदिबासी भाषाहरुको बर्ष ः मानबाधिकारको प्रबद्र्धन र प्रगाढीकरण’ भन्ने नारा तय गरिएको छ । हुन पनि मानबाधिकार घोषणापत्र अत्यन्तै महत्वपूर्ण छ र यो बिश्वको सबैभन्दा धेरै अनुबादित बिश्व दस्ताबेज हो जुन ५०० भन्दा बढी भाषामा बिश्वभरी नै उपलब्ध छ ।
यो लेखमा माथि बिगत पाँच बर्षका बिषय बस्तुहरु यहाँ उल्लेख गरियो । यदि सतहीरुपमा मात्रै यी बिषयहरुको परिपालना भएको भए आज हामी, हाम्रो देश लगायत बिश्व मानबाधिकारको संरक्षण र सम्बद्र्धनमा निकै नै अगडि हुने थियौं ।  तर त्यसो हुन सकिरहेको छैन । मानब अधिकारको घोर उल्लंघन बिश्वब्यापीरुपमै हुँदै आएको छ । हाम्रो देशमा पनि आयोग गठन गर्ने तर त्यसलाई आवश्यक पर्ने कानुनहरु, श्रोत साधानहरु अपर्याप्त रहने गर्दा तिनले समर्पित भएर ठोसरुपमा अझै पनि जनताको मानबाधिकारको पक्षमा काम गर्न सकिरहेको छैनन् । 
के प्रष्ट छ भने मानब अधिकार अन्तरगत धेरै महत्वपूर्ण कुराहरु आउदछन् । मानिसको जीवनका आधारभूत सुबिधा र स्वतन्त्रता यस अन्तरगत पर्दछन् । तर राजनीतिकरुपमा दमन र उत्पीडनको कुरा मात्रै ती पनि धेरैजसो सतहीरुपमा उछालिने गरेको देखिन्छ । गाँस,बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका समस्या हल नभइकन या समाधान हुने स्थिति नबनीकन मानबाधिकारको कुरा ब्यबहारमा खरो उत्रिने आधार बन्दैन । त्यसैले गरीबी निबारणमा मानब अधिकार केन्द्रित गरिनु आजको सर्बोपरी आवश्यकता हो र दीगो बिकास लक्षको आधार भूमि पनि यही नै हो ।
मानबाधिकारसँग सँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धिहरु र अन्य  सम्बन्धित सम्झौता तथा दस्ताबेजहरुको अध्ययन गर्न र तिनको प्रभावकरी अनुपालन गर्न अत्याबश्यक छ ।जहा मानिसहरु जीवनका आधारभूत आवश्यकताबाटै बञ्चित हुने गए गुज्रेको स्थितिबाट आक्रान्त छन् ती समस्या हल नभइकन मानबाधिकारको गफ गर्नु एउटा पाखण्डपूर्ण कुरा दोहो¥याइरहनु हुन्छ । निश्चय नै मानब बिरोधी, शोषण, अन्याय, हिंसा, हत्या, बलात्कारको बिरुद्ध जोडदाररुपमा कुरा उठाउन र मानबीय जन चेतना जगाउन पनि उत्तिकै आवश्यक छ ।
अहिले देशमा जसरी महिला हिंसा, हत्या, बलात्कारक घटनाहरु घटिरहेका र बढिरहेका छन्, जसरी यस्ता घटनाहरुको अनुसन्धानमा नियोजित ढाकछोप, लापरबाही र उदासीनता देखाइने गरेका कुराहरु एक पछि अर्को प्रकाशमा आइरहेका छन् त्यसले मानब अधिकारप्रतिको हाम्रो ओठे भक्तिभावको नराम्रोसँग पोल खोलिरहेको छ । हामीले दिने गरेका नारा र ब्यवहारमा हाम्रा पारा बिपरीत हुने गरेक छन् भन्ने कुरा प्रष्ट छ । यो मनोबृत्ति र प्रबृत्तिको कडाईकासाथ अन्त्य हुनु पर्दछ । बालबालिका, महिला, दलित, बृद्धबृद्धाहरु र यूवा समुदाय समेतको सहजरुपमा बाच्न र गरीमामय र गौरबशाली जीवन बिताउन पाउने आधारभूत कुरामा नै हामी चुकिरहेका हुन्छौ भने त्यहा मानब अधिकारको कुरा एउटा सस्तो र हलुका किसिमले उठाइने फगत औपचारिकता मात्र बनेर रहन्छ । त्यसमा पनि राजनैतिक प्रतिशोध,बाट हत्या हुने र त्यसलाई ढाकछोप गर्ने हाम्रो जस्तो देशमा मानबाधिकारको कुरा गर्नु नै यो दिवसको खिल्ली उडाउुन होइन भनेर प्रश्न उठिरहेकै छ । त्यसैले मानबीय गरीमा कायम राख्न र सुनिश्चित तुल्याउन शोषण उत्पीडन र अमानबीय अत्याचारका सबै किसिमका हतकण्डाहरुको अन्त्य गर्न राज्य, मानबाधिकार अयोग, सञ्चार जगत र सबै सरोकारवाला निकायहरु गम्भीर बनेर लाग्नै पर्दछ । मानब अधिकार संरक्षण र सम्वद्र्धनको कुनै बिकल्प छैन ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video