प्रमुख समाचार
Jan 29, 2020
वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी भइरहेको छ : अर्थमन्त्री
काठमाडौँ, माघ १५ अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट’का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जर्ज फ्राइडेन नेतृत्व टोलीले आज अर्थमन्त्रालयमा आफूसँग गरेको भेटवार्तामा उहाँले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक स्रोतको आवश्यकता रहेको प्रष्टयाउनुभयो । भेटमा अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले प्रत्यक्ष वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अगाडि बढाइएको, ‘च्यालेन्ज फण्ड’को शुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानून निर्माण गरिएको र विद्यमान कानूनको परिमार्जन गर्न लागिएको बताउनुभयो । अर्थमन्त्री डा खतिवडाले पूर्वाधारको विकास गरी पर्यटन र ऊर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धिसँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने बताउनुभयो । उहाँले पूर्वाधार विकाससँगै सेवाको गुणस्तरयुक्त विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो । मुलुकको समग्र विकासका लागि नवप्रवर्तन, अन्वेषण तथा युवा लक्षित सीप र प्रविधिक ज्ञानको सहयोगमार्फत साना मझौला व्यवसायको प्रवद्र्धन र रोजगारी सिर्जना अहिलेको मुख्य आवश्यकता भएको उहाँले स्पस्ट पार्नुभयो । उहाँले विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालन मार्फत नेपालले सहकार्य गर्न चाहेको समेत स्पष्ट पार्नुभयो । सो अवसरमा फ्राइडेन नेतृत्वको टोलीले नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर भएकोमा खुशी व्यक्त गरेको थियो । भेटमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन कपेलर तथा स्वीस इन्भेष्टमेन्ट फण्डका प्रतिनिधिको उपस्थिति रहेको अर्थमन्त्रालयले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video