धर्म/संस्कृति
Jan 31, 2020
नुवाकोटको शिवपुरी र पञ्चकन्याको संगम उत्तरप्रयाग त्रिवेणी धाममा महायज्ञ सुरु
 रबिन थपलिया । काठमाण्डौं । माघ १७ । धार्मिक पर्यटनका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले नुवाकोटका शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा हिजो माघ १६ देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । 
भागवत सुरुहुनुपुर्व शिवपुरी गाँउपालीका ८ थानापतिको सत्तरी बजारबाट त्रिवेणी धाम सम्म सयौंको संख्यामा भक्तजनहरुले कलस यात्रामा सहभागी भएका थिए । कलस यात्रामा विश्वविख्यात कथावाचक इश्वरकृष्ण महाराज, बौद्ध धर्मगुरु खेम्पो कमल भण्डारी, शिवपुरी गाँउपालीका अध्यक्ष रामकृष्ण थापा, बिभिन्न संघसंस्था, महायज्ञ मुल समारोह समितिका पदाधीकारीहरु लगायतको उपस्थीति रहेको महायज्ञ मुल समारोह समितिका प्रचारप्रसार संयोजक रामचन्द्र पाठकले जानकारी दिनुभयो । 
एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको सो महायज्ञ माघ २४ सम्म चल्ने छ । महायज्ञमा विश्वविख्यात कथावाचक ईश्वरकृष्ण महाराजले भागवत कथा वाचन तथा बौद्ध धर्मगुरु खेम्पो कमल भण्डारीले विशेष प्रवचन दिने छन् ।
Image may contain: 34 people, people smiling, crowd

त्रिवेणी धामको प्रचारप्रसार, पूर्वाधार विकास तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न लिखु, सत्यावती (स्यालपिङ¬) र कन्यावती (खहरे) को सङ्गमस्थलमा महायज्ञ गर्न लागिएको त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाका उपाध्यक्ष तथा श्रीमद भागवत मुल आयोजक समितिका प्रचारप्रसार संयोजक रामचन्द्र पाठकले जानकारी दिनुभयो । 
त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले महायज्ञ पवित्र उदेश्य सहित आयोजना गरिएकाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

हिमवत् खण्डमा त्रिवेणी धामबारेमा उल्लेख 

त्रिवेणी धाम नुवाकोट, शिवपुरी गाउँपालिकास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको शिवपुरीमा उद्गमस्थल रहेको सत्यवती, शिवपुरीकै चिसापानी भएर बग्ने लिखु र पञ्चकन्या गाउँपालिकाको इन्द्रेणी छहरा उद्गस्थल भएको कन्यावती खोलाको सङ्गमस्थल हो । यो शिवपुरी गाउँपालिकाका वडा नं ६ र ७ तथा पञ्चकन्या गाउँपालिकाको वडा नं ५ मा पर्छ । 

‘हिमवत खण्ड’मा उल्लिखित सो धाम समुद्री सतहबाट ७०० मिटर उचाइमा छ । राजधानी काठमाडौँबाट २५ किमी उत्तर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट ३० किमी पश्चिम र नुवाकोट सदरमुकाम विदुरदेखि २० किमी पूर्वमा त्रिवेणी धाम छ । सो धाममा पौष कृष्ण औंसीमा स्नान गर्नाले पुण्य मिल्ने जनविश्वास छ । यस्तै यहाँ पितृको श्राद्ध गर्नाले मोक्ष प्राप्त गर्छन् भन्ने मान्यता छ । त्रिवेणी धाममा कात्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीका दिन तथा मकर सङ्क्रान्तिका दिन स्नान गर्नाले पुण्य मिल्छ भन्ने पौराणिक विश्वास छ । धाममा हरिबोधनी एकादशीको दिन ठूलो जात्रा लाग्छ । भक्तजनले नारायणपूजा गरी ल्याएको तोरण त्रिवेणी खोलामा टाँगेर स्नान गरे पुण्य प्राप्त हुने विश्वास गरिन्छ । शिवरात्रि र तीजको व्रतका दिनमा यस स्थानमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजा हुन्छ । हरेक शनिबार यस धामको भजन घरमा भजन कीर्तन हुँदै आएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video