शिक्षा /स्वास्थ्य
Feb 07, 2020
‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’
चितवन, माघ २४ छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरुपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पु¥याउन जरुरत देखिएको बताउनुभयो । नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उहाँले चीनको रोग देखिएका शहरबाट पर्यटक यहाँ नआएकाले यस क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चीनबाट पर्यटक नआउने र अन्यत्रबाट पनि पर्यटक आएनन् भने यहाँको व्यवसाय धरासायी हुन्छ ।” चीनको भाइरस देखिएका क्षेत्रबाट पर्यटक नेपाल आएका छैनन् । सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँबाहेकका पर्यटक छैनन् । गत वर्षमा यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउने गर्दथे । यतिबेला चितवनमा फाट्टफुट्ट मात्र चिनियाँ पर्यटक रहेका छन् । स्वदेशी, भारतीय र युरोपियन गरी दैनिक २५० देखि ४०० पर्यटकले अहिले सौराहा धानेको उहाँको भनाइ छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समयमै हामी सुरक्षित छौँ भन्ने सन्देश स्वदेश र विदेशमा प्रवाह गर्न सकेमा चिनियाँ पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्ने बताउनुभयो । सौराहा आउने पर्यटकका लागि यो मौसम निकै राम्रो मानिन्छ । वनभित्र बाघ, गैँडाजस्ता जनावरसँगै चराचुरुङ्गी अवलोकनका लागि उपयुक्त समय भएको भन्दै घिमिरेले मौसमका हिसाबले पनि चितवन यतिबेला राम्रो रहेको बताउनुभयो । यहाँ गर्मी पनि छैन र जाडो पनि हट्दै गएको छ । चिनियाँ पर्यटकको बुकिङ रद्द भएका छन् । कोरोना भाइरसको त्रासले अन्य मुलुकका पर्यटकले पनि यहाँको अवस्थाका बारेमा बुझेर मात्र आउने गरेका छन् । कतिपयले भ्रमण रद्दसमेत गर्ने गरेका छन् । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सकेमा विदेशी पर्यटकको भ्रमण तालिका रद्द नहुने र सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सौराहा आउने विदेशी पर्यटक अन्तरराष्ट्रिय विमानस्थल र भरतपुर विमानस्थलको स्वास्थ्य कक्षमा परीक्षण गरेर मात्र पुग्ने भएकाले सुरक्षित भएकाहरु मात्र पुग्ने गरेका छन् । यससँगै सबै होटलमा उच्च सतर्कता अपनाइएको र कुनै कोरोना भाइरसको लक्ष्यण देखापरेमा तत्काल यहाँको सरकारी भरतपुर अस्पतालसँग समन्वय गरेर उपचार गर्ने व्यवस्थासमेत गरिएको छ । सौराहा क्षेत्रमा ६ हजार पर्यटक धान्न सक्ने ११५ होटल रहेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video