शिक्षा /स्वास्थ्य
Mar 11, 2020
टोखा नगरपालिका साक्षर घोषणा
काठमाडौँ, फागुन २८ काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा टोखालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो ।
कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । सीपमूलक शिक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल आधार बन्नसक्ने उहाँको भनाइ थियो । सोही क्षेत्रका सांसदसमेत रहनुभएका उहाँले नगरपालिकाको भवन निर्माणसँगै छरिएको ठाउँबाट दिँदै आएको सेवा एकै ठाउँबाट दिने हुँदा सेवाग्राहीलाई सहज हुने बताउनुभयो ।
 “भवनको सही सदुपयोग गरी गुणस्तरीय सेवा र सेवाको स्तरलाई बढाउँदै लानुपर्छ”, रक्षामन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो । सेवामा पारदर्शी भएमात्र टोखाको विकास हुने उहाँको भनाइ थियो । नगर प्रमुख प्रकाश अधिकारीले भवन समयभित्र सक्नका लागि नगरपालिकाले काम गर्ने बताउनुभयो । नगरपालिकाले साक्षर नगरपालिका घोषणाका लागि सामुदायिक सिकाइको अवधारणाअनुुसार कक्षा सञ्चालन गरेको उहाँको भनाइ थियो ।
नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले भ्याटबाहेक रु १२ करोड लगानीमा नगरपालिकाको भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो । सात तलाको नयाँ बन्ने भवन डेढ वर्षमा सम्पन्न गरिसक्नुपर्नेछ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौँमा रहेका ११ नगरपालिकामध्ये नौ नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेको जानकारी दिनुभयो ।
नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र जम्मा ९२ विद्यालय रहेको बताउनुभयो । कूल ११ वडा रहेको टोखामा १५ देखि ६० वर्ष उमेर समूहका ९८।५४ प्रतिशत जनसङ्ख्या साक्षर रहेको उहाँको भनाइ थियो । विसं २०६७ मा टोखामा साक्षरताको प्रतिशत जम्मा ७९ प्रतिशत रहेको थियो । सोही अवसरमा साक्षरता बनाउन महत्वपूर्ण भूमिका खेल्ने वैकल्पिक विद्यालयलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।
–––



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video