अर्थतन्त्र/सेयरबजार
Mar 14, 2020
चार सय फर्मलाई कारवाही
काठमाडौँ, चैत्र १ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ । 
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाट रु एक करोड १६ लाख ७२ हजार राजश्व सङ्कलन भएको छ । उहाँका अनुसार काठमाडौँ उपत्यका र उपत्यकाबाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराइएको हो । विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुनको १६ गतेसम्म काठमाडौँसहित विभिन्न जिल्लाका एक हजार दुई सय ३३ फर्म तथा उद्योगमा अनुगमन गरेको जनाएको छ । विभागको तथ्याङ्कअनुसार बजार अनुगमनका क्रममा १४४ फर्मलाई स्पष्टीकरण, ५४१ फर्मलाई निर्देशन, २१ फर्मको नमूना परीक्षणका लागि लिइएको र ४८ फर्मको कारोवार रोक्का गरिएको छ । त्यस्तै अनुगमका क्रममा भेटिएका एक करोड ५३ लाख ७८ हजार बराबरका गुणस्तरहीन, म्याद समाप्त भएका वस्तु नष्ट गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार चालु आवमा एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य थियो तर हामीले लक्ष्य पूरा गरी थप एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य लिइएको छ । 

त्यस्तै विभागमा गरिमा जातको नक्कली धानको बीउका बारेमा उजुरी परेपछि विभागले विभिन्न १७ फर्मलाई कारवाही गरेको छ । किसानको उजुरीपछि गठित टोलीले स्थलगत रूपमा अनुगमन तथा निरीक्षण गरी बीउ आयातकर्तालाई रु तीन लाख र अन्य बिक्रेतालाई रु दुई लाखको दरले जरिवाना तोकेको थियो । कारवाहीमा परेका १७ फर्ममध्ये लमही नगरपालिका–३ दाङको सनराइज एग्रिकल्चर रिसर्च प्रालिलाई रु तीन लाख र अन्य १५ फर्मलाई रु दुई लाख र एक फर्मलाई रु २० हजार जरिवाना गर्दा रु ३१ लाख २० हजार राजश्व सङ्कलन भएको जनाएको छ ।

विश्व उपभोक्ता दिवस मनाइने

‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’ भन्ने मूल नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाइने भएको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आयोजनामा आगामी चैत २ गते उक्त कार्यक्रम आयोजना हुने विभागले जनाएको छ । विभागका महानिर्देशक  सुवेदीका अनुसार औपचारिक कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो ।   “दिवसजस्तो कार्यक्रमपछि सार्न नमिल्ने हुँदा सचेतनामूलक कार्यक्रम गरी मनाउने तयारी गरिएको हो”, उहाँले भन्नुभयो, “पछिल्लो समय कोरोना भाइरसका कारण सामान्य कार्यक्रम गरी मनाउने निर्णय गरिएको हो ।” उहाँका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहका साथै जिल्ला प्रशासन कार्यालय र विभाग मातहतका पाँचवटै कार्यालयको संयुक्तरूपमा कार्यक्रम आयोजना गरिनेछ ।

विभागले दिवसका अवसरमा कर्मचारी, उपभोक्ताकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा आम उपभोक्ताको सहभागीमा सचेतनामूलक कार्यक्रम गरी मनाउने जनाएको छ । त्यस्तै उद्योगमन्त्रीले उपभोक्ता अधिकार सद्भावनादूत नियुक्त गर्नेसमेत महानिर्देशक सुवेदीले जानकारी दिनुभयो । 

पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले ठूला समारोह र भीडभाडमा नजान आग्रह गरेसँगै विभागले परिसरमै दिवस मनाउने तयारी गरेको हो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video