प्रमुख समाचार
Mar 21, 2020
नदीमा सिधै ढल, कारवाही गर्ने अधिकार छैन अधिकार सम्पन्न समितिलाई
पूर्णप्रसाद मिश्र
काठमाडौँ, चैत  ८
सडक विस्तारका क्रममा वाग्मतीको सहायक नदी कोलमतीमा गोकर्णेश्वर नगरपालिकाको वडा नं ४ र २ बाट ढल सिधै नदीमा हाल्न थालिएको छ । चार वर्षदेखि रोकिएको जोरपाटी–सुन्दरीजल सडक विस्तार तीन महिना अघिदेखि शुरु भएपछि साविकको गोकर्ण गाविस हालको नगरपालिकाको वडा नं ४ र साविकको नयाँपाटी गाविस हालको नगरपालिकाको वडा नं २ बाट ढल बिच्छ्याएर कोलमतीमा खसालिएको हो । कोलमती करिब १०० मिटर तल झरेपछि वाग्मती नदीमा मिसिन्छ । गोकर्णको किसिगालतिरबाट हालिएको ढलबाट कालो लेदो पानी कोलमतीमा खसिरहेको छ । नयाँपाटीको भूमिस्थलीतिरबाट ल्याइएको ढलबाट भने फोहर पानी बगेको छैन । आकाशबाट परेको पानीले सडकमा आउने पानी कटाउने नाममा फोहर पानी हालेपछि कसरी वाग्मती सफा हुनसक्छ ? अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य समेत रहनुभएका अभियानकर्मी राम साहले भन्नुभयो । “सडक विस्तारका क्रममा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले नै सिधै नदीमा फोहर पानी हालेपछि तलतिर जति सय हप्ता नदी सफाइ गरे पनि स्वच्छ पानी बग्दैन, सरकारी निकायका बीच समन्वय नहुँदा नदी सफाइमा कठिनाइ आइपरेको छ”, उहाँको दुखेसो थियो । नदीमा सिधै ढल हालेको स्थानमा अधिकार सम्पन्न वाग्मतीले अनुगमन पनि गरेको छ । सञ्चालक सदस्य साह, समितिका सूचना अधिकारी इञ्जिनीयर कमल अर्यालसहित सञ्चारकर्मीको समूहले यहाँको स्थलगत अनुगमन गरेको हो । अनुगमनपछि सूचना अधिकारी अर्यालले ढलबाट प्रशोधन केन्द्रमा लगी प्रशोधन गर्नुपर्ने फोहर पानी सिधै नदीमा मिसाइएको बताउनुभयो । समितिले गोकर्णमा फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण गरिसकेको छ । सडक विस्तार आयोजनाले भने आकाशबाट परेको पानी जानेगरी ड्रेनमात्र निर्माण गरिएको जनाएको छ । आयोजना प्रमुख गुरु अधिकारी ढलबाट ट्वाइलेट एवं घरायसी प्रयोगबाट निस्किएको फोहर पानी नहालिने दाबी गर्नुहुन्छ । तर स्थलगतरूपमा हेर्ने हो भने त्यस्तो देखिँदैन । उत्तरबाहिनीको उचाइदेखिको सडकको दायाँबायाँबाट कपडा धोएको, भाँडा माझेको, नुहाएको कालोपानी किसिगाल हुँदै सिधै कोलमतीमा खसेको देखिन्छ । स्थानीय ध्रुव थापाले नदीमा सिधै फोहर पानी मिसाउँदा पनि कसैले विरोध नगरेको बताउनुभयो । यसरी पानी मिसाउँदा त्यस वरपरका मानिसलाई त सजिलो हुन्छ । घरअघि जम्ने फोहर पानी ढलबाट वाग्मतीमा पुग्छ । यसरी पुगेको फोहर पानीले सभ्यताको स्रोत वाग्मती किनारमा जाँदा नाक थुन्नुपर्ने दुर्दशा भएको हो भन्नेमा कसैको ध्यान जान नसकेको उहाँले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधि समेत यस विषयमा मौन बसेको स्थानीयवासी धीरज लामाले बताउनुभयो । ३० वर्षदेखि सडक नबन्ने सडकमा फोहर पानी जम्ने हुँदा पनि जनप्रतिनिधिको ध्यान जान नसकेको उहाँको गुनासो छ । नाममै अधिकार सम्पन्न वाग्मती राखिए पनि खोलामा ढल र फोहर फाल्नेलाई कारवाही गर्ने अधिकार नदिँदा हेर्नेबाहेक केही गर्न नसकिएको कार्यकारी अध्यक्ष र आयोजना प्रमुखको एउटै स्वर छ । समिति स्थापना भएको २५ वर्ष पूरा भई २६ वर्ष प्रवेश गर्न लागे पनि गठन आदेशकै भरमा काम चलाउनुपर्दा जिम्मेवारी पूरा गर्न नसकिएको अध्यक्ष नरेन्द्रराज बस्नेतले स्वीकार्नुभयो । शहरी विकासमन्त्री र सचिवलाई पटकपटक भन्दा पनि समितिको विधेयक तयार हुन नसकेको उहाँले गुनासो गर्नुभयो । “कार्यालयको नाम अधिकार सम्पन्न वाग्मती छ, तर अधिकार भने नदीमा फोहर फाल्नेलाई कुनै कानूनी कारवाहीको दायरामा ल्याउने अधिकारसमेत दिइएको छैन, समितिको ऐन नबन्दा कर्मचारीको वृत्तिविकासको कामसमेत हुनसकेको छैन”, उहाँले भन्नुभयो । वाग्मती सफाइ अभियान शुरु भएको छ वर्ष पूरा हुन लागेको छ । तर नदीमा खासै ठूलो परिवर्तन आएको छैन । हिँड्दैछ पाइला मेट्दैछ भनेजस्तै सफाइ गर्नेले गर्दैछन् ढल हाल्नेले हाल्दैछन्को शैली दोहोरिएपछि जति हप्ता सफा गरे पनि केही नहुने अभियानकर्मी साहले बताउनुभयो । आयोजना प्रमुख लीलाप्रसाद ढकालले समितिसँग अधिकार नभएकैले सुकुम्वासीका नाममा नदीको किनार अतिक्रमण गरी बसेकालाई कानूनी कारवाहीको दायरामा ल्याउन नसक्ने गरेको बताउनुभयो । “नदी किनारमा सुकुम्वासी थुपारेर वाग्मती कहिल्यै सफा हुँदैन, वास्तविक सुकुम्वासीको समस्या समाधान गर्न अध्ययन भइरहेको छ, सुकुम्वासीका नाममा नदी किनारमा टहरा बनाई भाडामा लगाउनेकोे सङ्ख्या धेरै छ, यसको वास्तविकता पत्ता लगाउन मोबाइल एप्स बनाएर ट्रयाकिङ गरिँदैछ”, उहाँले भन्नुभयो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्ने जिम्मेवारी अधिकार सम्पन्न वाग्मतीबाट वाग्मती सुन्दरता सरोकार मञ्चले पाएको छ । मञ्चले वडावडामा समेत समिति गठन गरेको छ । तर नदीमा सिधै ढल हाल्दा पनि नबोलेको स्थानीयवासीको गुनासो छ । मञ्चका सदस्य एवं वडा संयोजक ईश्वर पुडासैनीले नदीमा सिधै ढल हालेको ठाउँको स्थलगत अनुगमन अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुखलगायत अधिकारीलाई गराउँदा पनि केही नभएको बताउनुभयो । “गोकर्णेश्वर–५ को हनुमानवाटिका, वडा नं ७ को नामी कलेजअघि र वडा नं ८ को माकालबारीमा पनि सिधै नदीमा ढल हालिएको छ, सडक र वाग्मती दुवैले देखेजस्तो गर्ने तर केही नगर्ने गरेका छन्”, उहाँले भन्नुभयो । विश्वव्यापी महामारीको कोरोनाजस्ता सङ्क्रमण फैलिएका बेला सिधै नदीमा हालिएको ढलबाट कीटाणु बगे भने राजधानीवासीमा कति छिटो रोग फैलिएला भन्नेमा कुनै पनि सरकारले ध्यान नदिएको नदी किनारमा बसोवास गरिरहेकाहरुको गुनासो छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video