राजनीति
Apr 09, 2020
वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार
काठमाण्डौं । चैत्र २७ । लकडाउनको समयमा गाडी चढेर हिडेका वडा अध्यक्ष चढेको गाडीबाट प्रहरीले चेकजाँचको क्रममा हतियार र त्यसमा लाग्ने गोली बरामद गरेको छ । 
कैलालीको गोदावरी नगरपालिका– १० का वडाध्यक्ष रवीन्द्र शाही चढेको भारतीय नम्बर प्लेटको डिएल ३ सिसिआर ३९९७ नम्बर प्लेट रहेको टोयोटा फर्च्युन गाडीबाट प्वाइन्ट टु–टु एसएलआर एक थान, त्यसमा लाग्ने गोली १४ थान, एयरगन एक थान तथा त्यसको छर्रा एक सय ९६ थान बरामद भएको छ । 
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले मंगलबार साँझ वडाध्यक्ष शाही चढेको गाडीबाट उक्त हतियार बरामद भएको बताए । गाडीबाट वडाध्यक्ष शाहीको नाममा रहेका विभिन्न बैंकका कार्ड बरामद भएको उनले जानकारी दिए ।

वडाध्यक्ष शाहीले नै हाँकेर कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ गुलरिया आएका वडाध्यक्ष शाही चढेको उक्त गाडीलाई त्यहाँ खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । गाडी रोकेपछि शाही गाडी त्यहीँ छाडेर भागेको बताइएको छ । वडाध्यक्ष शाहीका केही समर्थकले दुईमध्ये एउटा हतियारको लाइसेन्स सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै उनको बचाउ गरेका छन् । तर, हतियारको लाइसेन्स छ भन्दैमा लकडाउनको समयमा वडाध्यक्षजस्तो जिम्मेवार व्यक्ति भारतीय नम्बर प्लेटको गाडीमा हतियार बोकेर अर्को जिल्ला पुग्नु कति उचित भनेर व्यापक आलोचना पनि भएको छ ।
सशस्त्र प्रहरीले भने गाडी चेकजाँच गर्दा हतियारका कागजात फेला नपरेको स्पष्ट पारेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडाले लाइसेन्स लिएकै भए पनि लकडाउनको वेला हतियार बोक्न नमिल्ने बताए । यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको उनको भनाइ छ । गाडी वडाध्यक्ष शाहीले नै चलाएको प्रमाण भेटिएकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रवीन्द्र पौडेलले बताए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video