विचार/अन्तरवार्ता
Jul 20, 2017
फासिवादका विरुद्ध
 – खेम थपलिया
फासिवाद भन्नेवित्तिकै इटाली र बेनिटो मुसोलिनीको नाम आइहाल्छ । यसको साथमा हिटलरले जर्मनीमा र जनरल फ्रान्कोले स्पेनमा फासीवादी शासन चलाएको कुरा जोडिन्छ । फासीवाद मूलतः निम्न–पुँजीपतिवर्गमा आधारित व्यवस्था हो । यसले ठूला पुँजीपतिको निर्देशन, सहयोगमा निम्न–पुँजीपति, आवारा तथा एकहदसम्म सर्वहारावर्गको आंशिक तप्का पनि समेट्छ । पुँजीवाद गहिरो आर्थिक संकटबाट गुज्रिएको बेला सर्वहारावर्ग निकै नै चिन्तित हुन्छन् । त्यो चिन्तालाई आफ्ना स्वार्थमा आकर्षित गर्न फासीवादिहरूले ‘समाजवाद’ शब्दावलीको उपयोग गर्दछन् । मुसोलिनी र हिटलरले पनि यही गरेका थिए । माओवादीवादी केन्द्रको अहिलेको तथाकथित ‘समाजवाद’ लाई यही अर्थमा लिनु उपयुक्त हुन्छ । तानाशाही, फासिवाद र अधिनायकत्वका विषयका आधारभूत भिन्नता छन्, जसको चर्चा गर्ने उद्देश्य यहाँ राखिएको छैन ।
पुँजीवाद गहिरो आर्थिक संकटबाट गुज्रिरहेको बेला पुँजीपतिहरूले कम्युनिस्ट–सर्वहारावर्गको दबाबको कारण आफ्नो सत्ता बचाउन अन्तिम प्रयासस्वरूप निम्न–पुँजीपतिको हातमा सत्ता पुग्दा फासिवाद जन्मिन्छ । कम्युनिस्ट–सर्वहारावर्गको पार्टीले पुँजीवादविरुद्धको संघर्षलाई निष्कर्षमा पु¥याई कम्युनिस्ट–सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्न नसक्दा पनि फासिवाद जन्मिन्छ । नेपालमा जनयुद्धले लक्षित उद्देश्य हासिल गर्नबाट चुकेको यतिबेला विभिन्न समस्या देखाउँदै फासिवाद हावी हुन खतरा बढ्दै गएको छ । नेपालमा संसद्वादको आबरणमा यो खतरा तीब्र बन्दै गएको छ । संसद्वाद भनेको दलाल पूँजीपति तथा सामन्तवर्गको अधिनायकत्व हो भने नयाँ जनवाद भनेको सर्वहारावर्ग–कम्युनिस्टको नेतृत्वमा मजदुर–किसानको मित्रतामा राष्ट्रिय पूँजीपतिवर्गसहत जनताको जनवादी अधिनायकत्व हो । आजको संसद्वादको चरित्र दलाल मात्र छैन कि फासिवादी पनि छ । 
केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आयोजना गरेको थियो । यो बन्दका बारेमा विभिन्न कोणबाट टिप्पणीहरू आएका छन् । नेपाल बन्द तात्कालिक कार्यानीतिसँग सम्बन्धित विषय हो । सामान्यतया नेपाल बन्द अप्रिय नै हुन्छ । नेपाली समाजमा बन्दबारे एक किसिमको नकारात्मक धारणा बन्न थालेको पनि छ तर राजनीतिक जीवनमा कहिलेकाहीँ जनताले बुझिराखेको विषयभन्दा माथिबाट राजनीतिक कार्यक्रमहरू दिंदा त्यसले अंशतः केही समय नकारात्मक प्रभाव पनि दिन सक्छ । परिणामतः यसको दीर्घकालीन अर्थ भने सकारात्मक नै हुने गर्दछ । नेपालमा अनेकन् प्रकारका राजनीतिक आन्दोलन–संघर्षहरू भएका छन् । ती सबैमा कुनै न कुनै किसिमका नेपाल बन्दका कार्यक्रमहरू समाविष्ट छन् । आज देशमा जे जति परिवर्तन भएका छन्, त्यसमा नोपल बन्दको पनि भूमिका रहेको कुरा सुपष्ट नै छ । 
नेपाल कम्युनिस्ट पार्टीले सरकारद्वारा जनतामाथि थोपरेको कथित स्थानीय तहको निर्वाचनको सम्पूर्ण प्रक्रियालाई खारेज गरेको घोषणा ग¥यो । पार्टी केन्द्रको योजना र निर्देशनमा देशैभर एकसाथ नेता, कार्यकर्ता र जनता चलायमान भए । जनताको साथ र समर्थनमा राज्यको वैकल्पिक धारा र शक्तिको गतिशील एवम् प्रभावकारी चलायमान भएको देखेपछि कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बनेको सरकार नराम्ररी हल्लियो । ऊ सुरुदेखि नै नेपालमा संसदीयधारलाई टक्कर दिने अर्को धार नबनोस् भन्ने चाहन्थ्यो तर यो कुरा उसको मनोगत थियो र छ । देउवा–माके सरकार एकीकृत जनक्रान्ति पक्षधर शक्तिलाई आतंकवादी देख्न थाल्यो । जसलाई पनि बहिष्कारवादी, खारेजवादी र नेकपावादी देख्दै उसले गिरफ्तार, धरपकड खानतलासीलाई तीव्र दिँदै श्वेत आतंक मच्चायो । अहिले पनि पार्टीका केन्द्रीय सदस्यसहित थुप्रै नेता तथा कार्यकर्ता हिरासत–जेलमा हुनुहुन्छ । सरकारको यसप्रकारको रवैयाविरुद्ध जेल तथा हिरासतमा रहेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै पार्टीकेन्द्रले प्रेस विज्ञप्तिमार्फत् आफ्नो भनाइ पनि सार्वजनिक गरिसकेको थियो तर सरकारको दमनात्मक–फासिवादी रवैयामा कुनै कमी आएन । आफ्ना नेता तथा कार्यकर्ता रिहाइका लागि सबै प्रयास निष्काम भएपछि पार्टीले वाध्यतावश नेपाल बन्दको आयोजना गर्नुपरेको थियो । देशभर जनताको समर्थन र व्यावसायी तथा सरोकार सबै पक्षको हार्दिकतापूर्ण ऐक्यबद्धताले पार्टीको राजनीतिक उचाइ थपेको छ भने सरकारको छबिलाई झन् धुमिल बनाएको छ । सरकारको फासिवादी चरित्रलाई झन् नाङ्गेझार पारेको छ   
जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । नेपाल बन्द पनि एउटा जनप्रतिरोध हो । यो प्रतिरोधमा पार्टीका नेता तथा कार्यकर्ता खरो रूपमा उत्रिए । नेपालमा भीषण वर्गसंघर्षको नेतृत्व गर्दै आएका तथा रक्तरंजित इतिहासका निर्माताहरूलाई नेपाल बन्द सामान्य कार्यनीतिक विषय हो भन्ने कुरा जनताले पनि राम्ररी बुझेका छन् । अहिले देशमा अशान्ति छ, अराजकता छ, राष्ट्रिय स्वाधीनता चरम संकटमा छ । यस्तो बेला क्रान्तिकारी, देशभक्त, प्रगतिशील शक्तिहरू चुपचाप बस्न सक्दैनन् र बस्न मिल्दै पनि । नेपालको केन्द्रीय सत्ता दलाल चरित्रमा रूपान्तरित हुँदै गएको यतिबेला जनताले वैकल्पिक शक्ति र सत्ताको विकास गर्नु, प्राप्त उपलब्धिको रक्षा गर्नु र आमूल परिवर्तनको दिशामा प्रवाहित हुनु आजको आवश्यकता हो । दलाल सत्ताका सबै किसिमका जंजिरलाई चुँडाल्दै तथा जनताको व्यापक एकता कायम गर्दै अघि बढेर मात्र हामीले लक्षित उद्देश्य हासिल गर्न सक्तछौँ । जनसम्बन्धको हार्दिकतापूर्ण सुदृढीकरणबाट मात्र एकीकृत जनक्रान्तिको सफलता हासिल गर्न सकिन्छ । 
अहिले दलाल सत्ता आफ्नो सत्ताको रक्षार्थ जे पनि गर्न तयार हुँदै गइरहेको छ । यो निकै घातक र दर्दनाक विषय हो । सत्तास्वार्थको लागि जे पनि गर्न तयार हुने दलाल मानसिकता भएका नेता र संसदीय राजनीतिक पार्टीहरूले देशलाई कहाँ पु¥याऊलान् ! विषय सामान्य छैन । तसर्थ, दलाल सरकारको गलत रवैयाका विरोध तथा पक्राउ गरिएका नेता तथा कार्यर्ताहरूलाई तत्काल रिहाई झुट्ठा मुद्दा खारेजी, अनावश्यक धरपकड र खानतलासी बन्द गर्नुको सट्टा उल्टै जनविरोधी–फासिवादी हर्कतलाई सरकारले यस्तै किसिमका दोहो¥याइरहने हो भने जनतासित भीषण सङ्घर्षको विकल्प हुँदैन । 
हामीले बदलिएको परिवेशअनुसार अर्थ–व्यवस्थाको समाजवादी चरित्र र त्यसको कार्यान्वयन, समाजवादी जनतन्त्रको विकास, आम जनता, सरकार र पार्टीबीचको सम्बन्ध, पार्टी जीवनमा अभ्यास गरिने जनवादी केन्द्रीयता, समाजवादी मूल्य र आदर्शको अनुपालन, समाजवादी समाजमा वर्गसंघर्षको सिद्धान्त र बाह्य भूमिका आदिमा विशेष गम्भीर बन्नैपर्दछ । वैज्ञानिक समाजवाद अर्थात् समाजवादका अगाडि कुनै पनि हालतमा पुँजीवाद श्रेष्ठ हुनै सक्तैन । 
आज विश्व बहुध्रुबमा ध्रुबीकृत हुँदै गएको छ । भ्लादिमिर पुटिनको नेतृत्वमा रसियन विचारधारा शक्तिशाली हुँदैछ । उत्तर कोरियाले अमेरिकालाई ठाडो हाँक दिइरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वविद्यालयहरू माक्र्सवादको अध्ययनकेन्द्र हुनुपर्ने कुरामा जोड दिइरहेका छन् । नेपालमा विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने ‘प्रमाणपत्र वितरक’ र प्रज्ञा प्रतिष्ठानहरू पैसा उठाउने–कमाउने ‘घरमालिक’ बनेको यतिबेला विचाराधात्मक विषयहरूका बारेमा कुराहरू उठ्न थालेका छन् । कुनै पनि देशका लागि वैचारिक अकर्मण्यता र संक्रमण सबैभन्दा ठूलो रोग हो । यो अकर्मण्यतालाई तोड्दै अहिले नयाँ र क्रान्तिकारी विचार–अन्तर्वस्तु बोकेको एकीकृत जनक्रान्ति गतिमा छ । नेपाल आज पनि अर्धसामन्ती, अर्धऔपनिवेशिक र नवऔपनिवेशिक अवस्थाबाट गुज्रिरहेको छ । सत्तामा दलाल चरित्र हावी हुँदै फासिवादी बन्दै गएको यतिबेला नेपालका क्रान्तिकारी शक्तिहरूको आम कार्यदिशा नयाँ जनवादी क्रान्ति नै हुन्छ । नेपाली समाजमा विकास भएका नयाँ विशेषता र विश्वस्तरमा विकास बर्चश्व जमाउँदै गएको निगम पुँजीवादविरुद्ध लडेर त्यसलाई पराजित नगरीकन क्रान्ति सम्पन्न हुने अवस्था देखापर्दैन । तसर्थ, नोपालमा नयाँ जनवादी क्रान्तिको कार्यभारलाई एकीकृत जनक्रान्तिमार्फत पूरा गर्न निरन्तर लागिपरौँ । फासिवादविरुद्ध जनप्रतिरोधको झन्डालाई अझै माथि उठाऔँ ।  फासिवादविरुद्धको लडाइँमा जनताको विजय अवश्यम्भावी छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video