अपांगता/अल्पसंख्यक
Jul 22, 2017
ह्विलचेरबाटै समाज हल्लाउनेहरू
 
 स्कुल जानुअघि लक्ष्मीले वस्तुभाउका लागि एक भारी घाँस काट्नुपर्थ्यो। खेतीको मौसममा त स्कुल छाडेर घाँस–दाउरा गर्नुपर्थ्यो। गुल्मीकी उनको दैनिकी अरू गाउँले बालबालिकाको भन्दा फरक हुनै कुरै भएन।

एकदिन उनी घाँस काट्न रूख चढिन्। १६ वर्षीया लक्ष्मी कुँवरलाई के थाहा? डालेघाँसको लोभले उनको जीवनमा यत्ति ठूलो वज्रपात पर्छ भनेर। घाँस काट्न रूख चढेकी कुँवर हाँगा भाँचिएर लडिन्। अग्लो रूखबाट खसेकी उनको होस खुल्दा आफन्त र छिमेकीबाट घेरिएकी थिइन्। सबैले उनका खुट्टा भाँचिएको लख काटे।

 

‘म ह्विलचियरबाटै स्विमिङका लागि डाइभ हान्छु। मानिसहरू अचम्म मान्छन्, हातैले चालेर सग्लासँग प्रतिस्पर्धा गर्छु।’

उपचारका क्रममा पत्ता लाग्यो– खुट्टा होइन, उनको मेरुदण्डमा चोट लागेको रहेछ। काठमाडौं आएपछि मात्र कुँवरलाई थाहा भयो, स्पाइनल इन्जुरी भएको, जसलाई कुनै पनि उपचारले निको पार्न सकिँदैन।

लाउँलाउँ र खाउँखाउँजस्तो उमेरमा रूखबाट लडेर दुवै खुट्टा नचल्ने भएकी कुँवर तीन वर्षअघि दक्षिण कोरिया पुगिन्, उपचारका लागि होइन, पौडी खेलाडी बनेर।

दक्षिण कोरियामा भएको पाराओलम्पिक (२०१४) मा पौडी खेलाडीका रूपमा सहभागी उनी गत वर्ष ब्राजिलमा भएको त्यस्तै प्रतियोगितामा पनि सहभागी भइन्। खुट्टा नचले पनि हिम्मत नहारेकी उनी ह्विलचेयरबाट सीधै पौडी पोखरीमा हामफाल्छिन्, दुवै हात चाल्दै अपांगसँग प्रतिस्पर्धा गर्छिन्।

प्रतिस्पर्धामा सहभागी भई कुनै पदक जित्न नसके पनि उनले अपांगलाईहरूलाई भने गतिलो जवाफ दिएकी छन्। कुँवर यो अवस्थामा त्यत्तिकै आइपुगेकी भने होइनन्, जोरपाटीस्थित पुनर्स्थापना केन्द्रमा बस्न थालेपछि उनको हिम्मत बढेको हो। उनले त्यहीँबाट नयाँ जीवनको सुरुवात गरेकी हुन्।

‘यहाँ मजस्ता अरु पनि रहेछन्, म मात्र होइन रहेछु भन्ने थाहा पाए पाएँ,’ कुँवरले भनिन्, ‘ह्विलचियरमा जीवन बाँच्ने कला सिकेपछि मरेका रहर पलाएर आए, हिम्मत भएपछि धेरै कुरा गर्न सकिने रहेछ।’ शारीरिक रूपमा अपांग भए पनि उनले हिम्मत हारिनन् र राजधानी आएपछि पढाइलाई निरन्तरता दिइन्। काठमाडौं आएर कक्षा ९ मा भर्ना भएकी उनी अहिले स्नातकोत्तर अध्ययनको तयारीमा छन्।

अध्ययनसँगै खेलकुदलाई अघि बढाएकी उनको सफलताले आफन्त समेत छक्क छन्। धेरैले अझै पनि उनले पौडी समेत खेल्छिन् भन्ने विश्वास गर्दैनन्। ‘म ह्विलचियरबाटै स्विमिङका लागि डाइभ हान्छु,’ कुँवर भन्छिन्, ‘मानिसहरू अचम्म मान्छन्, हातैले चालेर सग्लासँग प्रतिस्पर्धा गर्छु।’

हिम्मत र क्षमता हुँदाँहुदै पनि सरकारले आफूहरूलाई विभेद गर्दा कुँवरको मन कुँडिन्छ। ‘सरकारी क्षेत्रमा अपांगता भएकाको सहभागिता बढाइदिए हामीले पनि केही अवसर पाउँथ्यौँ कि?’ सरकारसँग उनको गुनासो छ। 

राजधानीका सडक, सवारीसाधन, घर, सरकारी कार्यालय, सार्वजनिक शौचालय लगायत कुरा ह्विलचेयरमैत्री नहुँदा उनीजस्तालाई समस्या छ। तर, यसलाई कसैले पनि वास्ता गरेका छैनन्। सपांगका अगाडि गरिएका यस्ता साना–साना विभेदले उनलाई चित्त दुख्छ। पुरुषले भन्दा अपांग महिलाले थप समस्या भोग्नुपर्छ। त्यसतर्फ कसैले चासो नदिएको देख्दा भने उनलाई खपिनसक्नुहुन्छ। 'समाजको हेराईमा परिवर्तन ल्याउन अझै धेरै समय पर्खनुपर्छ जस्तो लाग्छ,' उनी भन्छिन्।

गोरखाका ऋषि ढकाल वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुग्दा दुर्घटनामा परे। दुर्घटनाले उनलाई कहिल्यै उठेर हिँड्न नसक्ने बनायो। नेपाल फर्किएर पुनर्स्थापना केन्द्रमा पुगेका उनी ह्विलचेयरमा बसेरै क्रिकेट खेल्न सक्छन्।

स्पाइनल इन्जुरी भएका उनको क्रिकेट कला पनि कुँवरको पौडी कलाजस्तै छ। नेपाल फर्किएपछि गीता बस्नेतसँग प्रेममा परेका उनले अहिले उनैसँग विवाह गरिसकेका छन्। उनीहरूकी एक छोरी छन्। उनी अहिले स्पाइनल इन्जुरी भएका बालबालिकालाई पढाउने काम गर्छन्।

ओखलढुंगाका रेखबहादुर कार्की २० वर्षको हुँदा लडेर घाइते भए। उनको पनि स्पाइनल इन्जुरी भयो। परिवारको साथ पाएर नयाँ जीवन अघि बढाएका उनी अहिले थांका बनाउँछन्।

म्याग्दीका केशव थापा पनि रूखबाट लडेपछि ह्विलचियर जीवन बाँच्छन्। आफूजस्तै साथीको संगतमा पुगेपछि उनले सुरु गरे पढ्न र खेल्न। सन् २०१४ मा बंगलादेशमा भएको पाराओलम्पिक अन्तर्गतको बास्केटबल प्रतिस्पर्धामा त उनले स्वर्ण पदनक नै जिते। ‘असक्त भए पनि देशका लागि गोल्ड मेडल ल्याए,’ थापा भन्छन्, ‘देश चलाउनेले मेरा लागि केही गर्न सकेका छैनन्।’

उनीहरूले ०६६ सालमा 'नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसियसन' समेत गठन गरेका छन्। २५ वर्षदेखि ह्विलचियर जीवन बाँच्दै आएकी गायत्री दाहाल एसोसिएसनकी अध्यक्ष हुन्।

सिन्धुलीकी सोनिका ढकाल दसैंमा पिङ खेल्दा लडेर अपांग भइन्। सुरुमा निराश बनेकी उनी अहिले अपांगलाई परामर्श दिन्छिन्। उनीहरूलाई कसरी फरक जीवन बाँच्ने सल्लाह दिन्छिन्। ‘हामीलाई कसैले काम दिन चाहँदैनन्, बिचरा भन्छन्,’ ढकाल भन्छिन्, ‘म, हामीजस्ताका लागि कामको खोजी गरेर सक्षम बनाउन लागिपरेकी छु।’

समाजमा विभेद व्याप्त हुँदाहँुदै पनि स्पाइनल इन्जुरी भएकाहरू केही फरक गरेर देखाउन लागिपरेका छन्। ‘ह्विलचियर देखेपछि रोकिएको गाडी पनि छाडेर जान्छ,’ उनी भन्छिन्, ‘हामी कसरी घर, कार्यालय र काममा पुग्ने?’ नेपालको कुल जनसंख्यामा अपांगता भएको संख्या १.१४ प्रतिशत छ।

अरुभन्दा फरक भए पनि उनीहरू पूर्ण रूपमा अपांग भने होइनन्, हरेकसँग केही न केही भिन्न विशेषता छ। आफ्नो त्यही विशेषताको बलमा उनीहरू फरक हिसाबले जिउँदै छन्।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video