समाज
May 23, 2020
विदेशमा रहेका परिवारका सदस्यलाई मनोपरामर्श
 काठमाण्डौं । जेष्ठ १० । रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ ।  श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र स्वीस सरकारको आर्थिक सहयोगमा दाङका चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत वैदेशिक रोजगारसँग जोडिएकाहरुका आफन्तलाई परामर्श दिने काम भइरहेको छ । 
विदेशमा रहेकाहरुको स्वास्थ्य, कामको अवस्था, कोरोनाले पारेको प्रभाव आदिबारे पनि परिवारका सदस्यसँग बुझ्ने र आवश्यक सहयोग, समन्वय गर्ने कार्य भइरहेको परियोजना जिल्ला संयोजक वसन्ता पुनले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीका कारण विदेशमा रहेका आफन्तको चिन्ताले मानसिक असर पर्न नदिन फोनबाट मनोपरामर्श दिने गरिएको उहाँले बताउनुभयो । विदेशमा अप्ठेरामा परेकाहरुका परिवारका सदस्यमा पनि मानसिक प्रभाव पर्ने भएकाले उनीहरुलाई पनि परामर्श उपलब्ध गराउने गरिएको उहाँको भनाइ छ । 
  संक्रमण फैलन नदिन लागू गरिएको बन्दाबन्दीयता जिल्लाका चार पालिका घोराही र  तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा एकएक मनोपरार्शकर्ताले परामर्शको काम गरिरहेका छन् । विशेषगरी विदेशमा आफन्त हुँदा यहाँ परिवारका सदस्यमा पर्न गएको मानसिक तनाव कम गर्न उनीहरुको पीडा सुन्ने गरेको घोराहीमा मनोपरामर्शको काम गरिरहनुभएका मनोपरामर्शकर्ता सुशीला आचार्यले बताउनुभयो ।
“यहाँ परिवारको दैनिक अवस्था, विदेशमा रहेका आफन्तको अवस्था जानकारी लिने काम भइरहेको छ”,  उहाँले भन्नुभयो । यस्तो सन्त्रासका समयमा उनीहरुको परिवारका सदस्यको मनमा उत्पन्न हुने असहज अवस्थालाई कम गर्न प्राथमिक मनोशिक्षा दिने काम भइरहेको छ । विदेशमा रहेकाहरु समस्यामा परेको भए समाधानका लागि स्थानीय तहमार्फत सरकारसँग समन्वय गर्ने कार्य पनि गरिएको परियोजनाका वित्तीय साक्षरता सहजकर्ता रमा शर्माले जानकारी दिनुभयो । विदेशमा रहेकाका परिवारको लकडाउनका कारण दैनिक छाक टार्न समस्या भए राहत उपलब्ध गराउनका लागि सम्बन्धित वडा कार्यालय र स्थानीय तहमा समन्वय गरिदिने काम परियोजनाले गरिरहेको उहाँले बताउनुभयो । 
परियोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङमा सुरक्षित आप्रवासन सूचना केन्द्र स्थापना गरेर परामर्शको काम भइरहेको छ । लकडाउनपछि राहदानी बनाएकाहरुलाई सुरक्षित वैदेशिक रोजगारी तथा कोरोनाको कारण वैदेशिक रोजगारमा भइरहेको गतिविधिबारे जानकारी दिने बताइएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video