विचार/अन्तरवार्ता
May 24, 2020
स्थानिय तहमा दिगो विकासको सोच र आगामी नीति तथा कार्यक्रम
अशोक विष्ट /प्रमुख प्रशासकीय अधिकृत
महाभारत गाउँपालिका
विश्वभर फैलिएको कोभिड १९ को प्रकोप यसले पारेको मनोबैज्ञानिक असर र यसको संक्रमणबाट बच्न गरिएको लकडाउनको असर आज सबै तह र तप्कामा परेको छ । विषेशगरि स्थानिय तहहरुमा यो चैत्र, वैशाख र जेष्ठ महिनालाई भौतिक विकास कार्यक्रमको लागी त अतिनै द्रुतगतिमा काम गर्ने महिनाको रुपमा लिन सकिन्छ । अषारे वर्षा अगाडि नै र अर्को आर्थिक वर्ष अगावै ठेकेदार, उपभोक्ता समितिहरु मार्फत गरिने भौतिक पुर्वाधार विकास कार्यक्रम यी महिनाहरुमा होड बाजिकै रुपमा गरिने गरिन्छ । तर आज यी र यस्तै गतिविधिका कार्यक्रमहरुलाई कोभिड १९ को लक डाउनले हाम्रा सबै स्थानियतहहरुमा प्रत्यक्षरुपमा असर पारेको कुरालाई हामी नर्कान सक्दैनौ । एकातर्फ काम रोकीएको अवस्था र अर्कोतर्फ अब नजिकै आईरहेको आ.ब. २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम तथा वजेट कसरी ल्याउने भन्नेपनि चिन्तनको विषय बनेको पाईन्छ ।
 

गणतन्त्रको उपलब्धीपछि हाम्रो संघ, प्रदेश र स्थानियतहरुको स्पस्ट खाका र नक्सा तयार भई कार्यान्वयनको चरणमा आएको पनि ३ वर्षभन्दा बढि भईसकेको छ । हाम्रा जनप्रतिनिधिहरुको ५ वर्षे सेवाकालाको आ.व.२०७७।०७८ को बजेट प्रस्तुती चौथो र आ.व. ०७८।०७९ को वजेट प्रस्तुती हाम्रो संविधान अनुसार सेवकालको अन्तीम वजेट प्रस्तुती हुनेछ । यी बिचमा हाम्रो सबै स्थानिय तहहरुले ३ वर्षको हाम्रो नीति तथा कार्यक्रम र बजेट खर्च गरिसकेको अवस्था छ । यो ३ वर्षको विचमा के हामीले साँच्चै स्थानिय सरकार संचालन ऐन अनुसार हामीले गरेको सामाजिक विकास, आर्थिक विकास र भौतिक विकासमा उल्लेखनिय उपलब्धी पाएका छौ त ? के के कुरामा सुधार ल्याउनु पर्ने र के के कुरामा आत्मा आलोचना गरी नयाँ ढंगबाट हाम्रो नीति तथा कार्यक्रमहरुमा परिमार्जन गर्नुपर्ने चिन्तनको विषय अहिले यो समयमा बनाउन पर्ने आवश्यक देखिन्छ । भौतिक विकासमा हरेक स्थानियतहरुमा बाटो अति आवश्यक पूर्वाधार हो । कुनैपनि ठाउँको विकासको प्रमुख मेरुदण्ड बाटो नै हो । ठुला ठुृला  विकसित राष्ट्रहरुले पनि पहिलो प्राथमिकता बाटोलाईनै दिएको पाईन्छ । यसै कुरालाई मध्यनजर गरी सायद हाम्रा स्थानिय तहरुमा पनि पूर्वाधार विकासको ६० प्रतिशत भन्दा वढि हिसा बाटोलेनै ओगटेको पाइन्छ । हाम्रो स्थानिय तहहरुको हाम्रो आप्mनै भुगोल, नक्सा सिमा र बाउन्ड्री छ । त्यसै वाउन्ड्री भित्र रहेर हामीले बाटो खन्ने कामहरु विगत ३ वर्ष वा सो भन्दा अगाडी देखि गरि रहेका छौ । हाम्रा हरेक स्थानिय तहहरु कुनै न कुनै राष्ट्रिय राजमार्गहरुको सिमाना संग जोडिएको पाईन्छ र त्यस्ता राजमार्ग संग आईपुग्न या हामी भन्दा विकसित छिमेकी स्थानिय तह सम्म जोड्न हामीले धेरै बाटोहरु खोलिसकेको अवस्था छ । एउटाले हुदैन अर्को कच्ची ट्याक खोल्छौ , फेरी त्यो हुँदैन अनि अर्को विकल्प खोज्दछौ तर जति नयाँ ट्याक खोलेपनि स्थाई ट्याक भने कुनै हुँदैन । हिउदभरी हामी धुलो उडाउदै ती बाटोहरुको प्रयोग गर्छौ र वर्षाभरी ती बाटोहरुबाट खोला बगाउँछौ अनि हिउँद लाग्छ बाटो सरसफाईको अभियानतिर लाग्छौ । यस्ता हिउद र वर्षा हामीले ३ पटक फटाई सकेउ तर हाम्रा स्थानिय तहरुको बाटोको हालत उस्तै छ । २ ठाँउ ३ ठाउँ ४ ठाँउ गरी धेरै ठाउँको विकल्प रोज्दै हामीले बाटोहरु खनेउ तर स्थाईत्व कुनैमा भएको पाउन सकिन्न । कच्ची बाटोको निर्माण गर्नु पूर्व हामी त्यसको डिपिआर पनि गरुछौ तरपनि हालत उहि हुन्छ । किन आज सम्म हाम्रो दिमागमा सर्वप्रथम एउटाबाटोलाई स्थाईत्व दिउँ अनि क्रमागत रुपमा दोस्रो, तेस्रो गरर्दै जाउ भन्ने चिन्तनको विकास हुन सकेको र्छैन ? हामी सबैलाई थाहाछ दोस्रो तलामा जान पहिला पहिलो खुट्कीलो उक्लनु पर्छ अनि दोस्रो, तेस्रो, चौथो, हुदै हामी पाँचौमा पुग्छौ । हाम्रा भर्याङहरुत छन, खुटकिला पनि छ तर झुण्डीएर, लडेर, जोखिक मोलेर भएपनि किन हामी एकैपटक दोस्रो तलामा जान खोजिरहेका हुन्छौ । हिउदमा कोसिस गर्छौ अनि वर्षा लागेपछि पछारिएर फेरी उहि ठाउँमा पुग्छौ । त्यसैले अब यस भित्रको कमिकमजोरीहरुको पत्ता लगाई हामीले क्रमागत विकासको अवधारणामा जानु आजको आवश्यकता भएको छ । एकातर्फको बाटो लथालिङग छ हामीलाई अर्को कच्ची ट्याक खोल्नुपर्छ त्यो पनि करोडौ खर्चेर अनि दुवैतिरको बाटोको हालत जस्ताको त्यस्तै । हरेक स्थानीय तह अहिलेको परिपेक्षमा एउटा स्थानिय राज्य या सरकार हो । हरेक स्थानिय तहको केन्द्रविन्दु छ । त्यसमा स्थानिय सरकारको सिहंदरवार प्राय सबै ठाउँमा निर्माणाधिन अवस्थामा छ या कुनै स्थानिय तहमा त बनि सक्यो । त्यसपछि जनसंख्या र भौतिक विकासको आधारमा वडाहरुको विभाजन भएको छ । तिनै वडा कार्यालय नजिक विधालय, स्वास्थ्य चौकी लगायतका अन्य पूर्वाधारहरु छन । बाटो जता त्यतै खनिएको अवस्था छ । एउटा डाडामा २ वटा घर हुन्छ त्यहा सम्म पनि लाखौ खर्चेर बाटो पुगेको अवस्था छ तर एउटा मान्छे विरामी हुँदा उही पुरानै स्थीति ईस्टाचारमा हालेर बिरामीलाई स्वास्थ्य चौकीमा पुर्याउनु पर्छ । त्यो बाटो खनिएको आखिर के का लागी ? हो त्यसैले बाटोको पहिलो आवश्यकता स्थानियतहको केन्द्रविन्दुसम्म जहाँ स्थानिय तहको प्रशासकिय कार्यालयहरु हुन्छन त्यहाँ पहिलो प्राथमिकता दिने । नजिकको कुन हाईवेय या छिमेकी स्थानिय तहको बाटो संग जोड्न सकिन्छ र जुन बाटोबाट हिउद वर्षा जतिखेर पनि सजिलै आवत जावत गर्न सकियोस । 
अनि दोस्रो प्राथमिकता हरेक वडा कार्यालयबाट जहाँ अन्य विधालय, क्याम्पस, स्वास्थ्य चौकीहरु हुन्छन त्यहाँबाट सजिलै स्थानिय सरकारको सिहंदरवार सम्म सजिलै आवत जावत गर्न सकियोस । अनि तेस्रो प्राथमिकता मानसिहरुको गाउँबस्तीबाट वडा कार्यालय सम्म आवत जावत गर्न बाटो खन्ने र क्रमागत रुपमा यसरीनै घनाबस्तीलाई प्राथमिकता दिदै जाने । हामी सबै देशकै विकासका खातिर आखिर जुटिरहेका छौ भने किन हामी सकारात्मक सोचको चिन्तन गर्न र दिगोविकासको अवधारणामा हाम्रो भावनालाई मन वचन र कर्मले लगाउन सक्दैनौ । संविधान परिवर्तन भएर देशको प्रशासनिक संरचनामा समेत परिर्वतन भईसकेपछि पनि हाम्रा विचार र कामगर्ने शैलिहरुलाई किन हामीले परिवर्तन गर्न सकेका छैनौ । हामी सबैले गौन भएर सोच्ने बेला आएको छ । हिजो एउटा जिल्ला विकास समितिले पुरै जिल्लाभरको विकास निर्माण हेर्नु पर्थ्यो । अन्यथा नलागोस कतीपय ठाउँमा त जिल्लामै बसेर प्राविधिकहरुले गाउँको बाटोको नक्सा बनाई दिन्थे । अनि डोजरले खन्दै गयो बाटो भिरमा पुगेर खन्नै छाड्नु पर्ने अवस्था हुन्थ्यो तर आज त्यो अवस्था छैन । हामी संग प्रशासकिय कार्यालय छ । प्राविधिक छन , जनशक्ति छ किन हामी एउटा सिंगो आफ्नो गाउँपालिका या नगरपालिकाको रोड म्याप बनाउन सकिरहेका छैनौ र विकासको नाममा एकत बजेटको सत्यानास गर्ने अनि दोस्रो प्राकृतिक डाँडा पाखाहरु जथाभावि भत्तकाएर भुक्षेयको जोखिममा धकेलिरहेका छौ । 

हाम्रै स्थानिय तहरुमा भुगोल अनुसारको आप्mनै स्थानिय कच्चा पर्दार्थहरु छन । त्यस्ता कच्चा पदार्थहरुको उच्चतम प्रयोगगरी हाम्रा गाउँ ठाउँ बनाउनु हाम्रो बुद्धिमान्ता हो तर डुवानीनै गर्न नसकिने ठाउँबाट महंगो भाडा तिरेर त्यस्ता कच्चा पर्दाथ ल्याउदा हामी गर्व गर्छौ । उदाहरणको लागी गिटृी हामीले हाम्रै गाउँठाउको प्रयोग गर्न सक्छौ । बाटोको लागि चाहिने ग्रावेल उपयूक्त भिरपाखाको खोजीगरी त्यहाँबाट प्रयोग गर्न सक्छौ । आगनमा बिछाउने टायलहरु हाम्रा पहाडी भुभागमा जता त्यतै पाईन्छ । हाम्रा हरेक स्थानिय तहहरुको सिमाना प्राय खोला नालाहरुले निरधारण गरेको पाईन्छ । त्यस्ता खोल नालामा प्रसस्त पानी, ढुंगा बालुवाहरु पाईन्छन तर त्यसको व्यवस्था गरी हामी बाहिर खोज्न जान्छौ । सन २००८ मा भएको वोलम्पीक गेमको लागी चाईनाले तयार पारेको बर्ड नेस्ट रंगाशाला हेर्दा यस्तो लाग्छ कि त्यहाँ प्रयोग भएका बाटोको ढुंगा देखि सजावटका हरेक सामानहरु आयातित हुन ।  तर हैन ! ति सबै उसको आप्mनै देशको साधारण भन्दा साधारण कच्चा पदार्थ हो जसलाई आधुनिक शैलिमा सजावट गरेको  पाईन्छ । 

यी र यस्तै धेरै कुराहरु छन् जुन हामीले हाम्रा स्थानिय तहहरुमा प्रयोगमा ल्याउन सक्छौ । आर्थिक विकास, सामाजिक विकास र भौतिक विकास स्थानिय तहको विकासका मुख्य तीन खम्बाहरु हुन । यी तीन खम्बाहरुलाई कुन तवरबाट खडा गर्दा बलियो र दिगो हुन्छ भन्ने विषयमा हामीले चिन्तन र मनन गरेर मात्र वार्षीक नीत, कार्यक्रम र बजेट निर्धारण गर्न सकेको खण्डमा पक्कैपनि हामीले पाएको गणतन्त्र उपलब्धी मुलक हुनेछ । 

बेलायतले चाईनाको हङकङलाई सय वर्षमा कृतिम स्वर्ग बनाएर हस्तानतरण गरेको, चाईना स्वयम सन १९८० को दशकपछि हाल सम्ममा विश्मै उत्कृस्ट राष्ट्र बनेको, हाम्रो देश नेपाल र मलेशिया संगसंगै जस्तो एउटै आर्थिक स्थीतीमा भएको र आजको मलेशियालाई हेर्दा यस्तो लाग्छ उनिहरुको देशमा एउटा पुस्ताले विकासको फरक फरक ३ चरण देख्छन र मर्छन तर हाम्रो देशमा १०० वर्षमा एउटा पुस्ता सकिन्छ तर हामी जहाँको त्यही हुन्छौ । म यहाँ एउटा उदाहरण प्रस्तुत गर्न चहान्छु । मेरो हजुर बुवाको पालामा मेरो गाउँ सुन्ताखानबाट रत्नपार्क सम्म जान हजुर बुवा चावहिल सम्म हिडेर जानु हुन्थ्यो । मेरो बुवाको पालामा जोरपाटी सम्म गाडी चल्यो मेरो पालामा पनि त्यही भयो र बल्लबल्ल गोकर्ण सम्म ट्याम्पु चल्यो । आज मेरो छोराको पालो आएको छ उसलाई पनि क्याम्पस जान अझै गोकर्ण सम्म हिडेर गाडी भेटाउन जानुपर्छ । जबकी रत्नपार्कबाट मेरो गाउँ सुन्ताखान सम्म जम्मा १५ किलोमिटरको यात्रा हो । अब हामी आफै बिचार गरौ मेरो हजुर बुवा ६० सालमा स्वर्गीय हुनु भएको । स्वर्गीय हुँदा हजुरबुवा ८५ वर्षको हुनुहुन्थ्यो । अहिले २०७७ साल । ८५ मा १७ जोड्दा १०२ वर्ष । १०२ वर्षमा पनि रत्नपार्कबाट सुन्ताखान सम्मको १५ किलोमिटरको यात्रा गर्न अझै मेरो छोरालाई गोकर्णसम्म हिड्नु पर्छ त्यो पनि खचाखच भरिएको थोत्रो गाडी चड्न त्यसमाथि पनि राजधानी जस्तो ठाउँमा भने हाम्रो देशको अन्य पहाडी भुभागको हालत अझै कस्तो होला ? मेरो हजुरबुवाको पालादेखि आज सम्म १०२ वर्षको विचमा माथिको विकसित राष्ट्रहरुको विकास हेर्दा त मेरो छोराले राजधानीमा मेट्रो ट्रेन चढेर कलेज जानुपर्ने हैन र ?? यो एउटा तितो सत्य हो नेपालको परिपेक्षमा । नेपालको दिगो विकासको मुख्य वादक के हो ? अब यसको पहिचान गरी हामीले गणतन्त्रपछि पाएको हाम्रो स्थानिय तह सम्मको सरकारको सहि सदुपयोग गरी द्रुतगतिमा देशको विकास गर्नु आजको आवश्यकता भएको छ । 
स्थानिय श्रोत र साधन, आयातित भन्दा स्वदेशी बस्तुको उच्चतम प्रयोग, खर्चमा भन्दा उत्पादनशिलतामा,  स्थानिय सरकारले पाएको जनशक्तिको भरपुरमात्रामा कर्मक्षेत्रमा लगाई कृषिलाई विशेष प्राथमिकता दिदै क्रमागत दिगो विकासको अवधारणलाई अग्रपङतीमा राखेर कुनैपनि काममा दोहोरो बजेट नपर्ने गरी सामाजिक, आर्थिक र भौतिक विकासमा आवधिक मुलभुत विकास योजना बनाई पहुंचको आधारमा नभई आवश्यकता र महत्वको आधारमा हाम्रा नीति, कार्यक्रम तथा बजेट अबको आर्थिक वर्षमा ल्याउन सकेको खण्डमा पक्कैपनि हाम्रा स्थानिय तहहरुमा केही सुधारका संकेतहरु देख्न सकिन्छ । 

सामाजिक विकासतर्फका हाम्रा बजेटहरु हामिले पहुंच र राजनैतिक स्वार्थको आधारमा विभिन्न शिर्षक बनाई बाढिरहेका छौ । कहिले आर्थिक सहायताको नाममा त कहिले क्षात्रवृतिको नाममा त्यो पनि कुनै पारदर्शि र स्पस्ट कार्यविधि विना । कयन हाम्रा स्थानिय तहका उत्कृस्ट क्षात्र क्षात्राहरु विद्यालयमा फिस तिर्न नसकेर भोको पेट अध्ययन गरि रहकेका छन तर हामी भने पहुच र गुलामीको आधारमा तेस्रो स्थानमा पनि उतिर्ण हुन नसकेका विधार्थिहरुलाई राजनैतिक स्वार्थमा लिप्त भएर क्षात्रवृति वांडी रहेका छौ । हाम्रा उत्कृस्ट विधार्थीहरुलाई क्षात्रवृतिद्धारा अध्ययन गराएर हाम्रै्र स्थानिय तहमा तिनको ज्ञान र सिपलाई प्रयोग गराउने हामी बिचमा सोचनै छैन । अध्ययन अध्यापन गराउन नसकेको आजको शिक्षा कानुन अनुसार मापदण्ड नपुगेका विद्यालयहरुलाई खारेज तथा अर्को विद्यालयमा मर्ज गराउने । २ घंटासम्म हिडेर विद्यालय पुग्नुपर्ने ठाउँका विद्यालयहरुलाई एकैठाउँमा मर्जगरी आवसिय विद्यालयको रुपमा विकास गर्नेे, शैक्षिक गुणस्तर सुधारर्ने जस्ता गहन विषयहरुमा अझैपनि हाम्रो सोच पुरानै परम्परामा अल्झी रहेको छ । जग्गाको खण्डीकरणलाई मध्यनजर गर्दै एकिकृत खेती प्रणालीको विकास गर्ने । एकिृत बस्तीको विकासगरी सामाजिक, सांस्कृति एकता र भाईचाराको विकास गर्ने जस्ता कुराहरुमा हाम्रो सोच पुगेर सोही अनुरुप नीति तथा कार्यक्रम बनाउन सकेको खण्डमा पक्कैपनि हाम्रो स्थानिय तहहरुले विकासमा छलाङ मार्नेछन । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video