प्रमुख समाचार
Jun 06, 2020
मानवीय सेवामा तल्लीन भए बर्दिवासका युवा
महोत्तरी, २४ जेठ “मलाई नयाँ जिन्दगी दिने यी नानीहरुको जय होस्”, बर्दिवास अस्पतालमा चार दिनको उपचारपछि आँखा खोल्नुभएका करिब ८५ वर्षीय वृद्ध चित्रबहादुर अधिकारीले गहँभरि आँशु पार्दै भन्नुभयो । घुमन्ते जीवन बिताउँदै आउनुभएका उहाँलाई गत सोमबार जनसहयोगी युवा सञ्जाल बर्दिवासमा आबद्ध युवाले बर्दिवास–१४ वडा कार्यालय अगाडिको चौतारामा अचेत ढलिरहेका बेला उद्धार गरेर अस्पताल पु¥याएका थिए । “म खानु न पिउनु भएर ढलेको थिएँ, उठेर कतै निस्कने ताकत थिएन”, ती वृद्धले सञ्जालका युवाप्रति कृतज्ञता भाव दर्शाउँदै भन्नुभयो, “खै कुन प्रेरणाले हो, यी बाबुहरुले मेरो निकै सेवा गर्नुभयो, अब नयाँ जीवन पाएँ ।” सो सञ्जाल आवद्ध युवाको हेरचाह र अस्पतालको उपचारले तङ्रिनुभएका उहाँलाई अब भने फेरि कसरी जीवन धान्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । “सेवा र उपचार पाएर उठ्ने त भएँ, तर अब फेरि तङ्रिएको शरीर धान्नु त प¥यो”, उहाँले अस्पतालको श्ययामै सुस्केरा हाल्दै भन्नुभयो, “यो बूढो शरीरको रेखदेख अब के होला ?” उपचारले निको हुँदै गएर अब बोलचाल गर्न थाल्नुभएका उहाँले आफ्नो परिचयमा नाम र घर रामेछापबाहेक अन्य केही बताउनुभएन । चौताराबाट युवाले ती वृद्धलाई न्वाइँध्वाइ गरिदिएर लुगा फेराइदिइ स्टेचरमा बोकेर सो अस्पताल पु¥याएका थिए । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको नियमित रेखदेख र सेवाले अब राम्ररी तङ्रिदै आउनुभएका उहाँलाई अब नियमित खानपिन, सरसफाइ र राम्रो हेरचाहको आवश्यकता रहेको उहाँको उपचारमा संलग्न चिकित्सक डा अनिल फुँयालको भनाइ छ । “हामी लकडाउनका बेला गल्लीकुची र बाटोघाटोमा कुनै बेसहारा भोकै छन् कि भनेर ठाउँठाउँ हेर्दै थियौँ, चौतारामा वृद्ध अचेत अवस्थामा देखिनुभयो”, सञ्जालआवद्ध १८ वर्षीय किशोरी जमुना साहले भन्नुभयो, “त्यतिखेर उहाँ खानसक्ने हुनु हुन्थेन, न्वाइँध्वाइ गराएर लुगा फेरायौँ र तत्काल अस्पताल पु¥यायौँ, अस्पतालको राम्रो रेखदेखले उहाँ सामान्य हुँदै गएपछि हामीलाई आफ्नो कामले फुरुङ्ग बनाएको छ ।” अब आवश्यक औषधि र चिकित्सकको परामर्शअनुसार सामग्रीको जोहो गरेर उहाँका आफन्तजनको खोजी गरी जिम्मा लगाइने सञ्जालको तयारी छ । लकडाउन लम्बिँदै जाँदा बजार क्षेत्र, सडक क्षेत्र र विभिन्न कार्यालय परिसर वरपर खान नपाएर भौँतारिएका मानिस बढ्दै गएपछि ‘सडक मानव’लाई तत्काल भोजन गराउने उद्देश्यसाथ सञ्जाल नै गठन गरेर युवाले अभियान शुरु गरेका हुन् । जेठको दोस्रो साताको प्रारम्भसँगै शुरु गरिएको यो अभियानमा दिनहुँ ३५–४० सङ्ख्याका भोका बटोही (सडकयात्री) लाई भोजन गराइँदै आइएको सञ्जालका अध्यक्ष परमेश्वर महतो जानकारी दिनुभयो । “लकडाउनका बेला अन्य व्यावसायिक काम थाँती राखेर मानवीय सेवाका काममा थोरै सहयोग गर्ने उद्देश्यले सडक मानवलाई भोजन गराउन थाल्यौँ”, उहाँले भन्नुभयो, “गर्दागर्दै नजिकका बस्तीमा गरिबको चुलो निभ्न थालेका र असहायको जीवन कष्टकर बनेका खबर पाएसँगै त्यहाँ पुग्न थाल्याँै, यसले कामको क्षेत्र बढाएको छ ।” शुरुमा सञ्जालमा आवद्ध ११ युवा साथीको गोजीबाटै शुरु गरिएको अभियानमा काम थपिँदै गएसँगै सहयोगी हात पनि भेटिएको उहाँको भनाइ छ । सञ्जालले यसअवधिमै सडकयात्रीलाई भोजन गराउनसँगै बाटोमा भेटिने जीर्ण रोगीलाई उद्धार गरी अस्पताल पु¥याउने, गरिबका घरमा खाद्यान्न पु¥याउने र असहायलाई तत्काल केही राहत दिने गर्दै आएको छ । यसबीचमा बर्दिवास नगर क्षेत्रका अतिविपन्न ६० परिवारलाई सञ्जालले चामल, दाल, नुन, खानेतेलसहितका सामग्रीको पोका घरै पु¥याइदिएको छ । सञ्जालको सहयोगले पुत्रशोकले आहत भएको जिल्लाकै औरही नगरपालिका–१ का श्यामकिशोर चौधरीको परिवारलाई राहत भएको छ । वैदेशिक रोजगारीमा कतार गएका छोरा अनिल चौधरीलाई त्यहाँको सरकारले गत वैशाखमा मृत्युदण्ड दिएको खबरले आहत भएको चौधरी परिवारलाई भेट्न सञ्जाल आवद्ध युवा दुई बोरा चामलसहित पुग्दा चौधरी परिवारले राहत महसुस गरेको हो । “बाबु, छोरालाई मृत्युदण्ड दिएको खबरले हाम्रो संसार नै अँध्यारो भएको छ, खबर आएदेखि बूढी (पत्नी) थला परेकी छन्, खानेपिउने केही थिएन”, उहाँले भन्नुभयो, “दुःखको बेला आँशु पुछ्न आउनुभएको छ, अब तपार्इँहरुमै अनिल (छोरा) देख्नुछ ।” चौधरीको आँशुले लगातार सेवामा रहिरहन प्रेरित गरेको सञ्जाल आवद्ध युवा बताउँछन् । बर्दिवास वरपर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका, अझै क्याम्पसमा अध्ययनरत रहेका र घरगृहस्थीबाट केही समय बचत गरी लकडाउनका बेला सामाजिक सेवामा लाग्न प्रेरित भएका युवाले सञ्जालमार्फत शुरु गरेका कामले अहिले निकै सराहना पाएको छ । “सञ्जाल आवद्ध युवाको सेवाभाव साँच्चै उदाहरणीय छ”, सञ्जालले सडकयात्रीलाई खाना खुवाउँदै आएका सधैँजसो नियाल्दै आउनुभएका बर्दिवासचोककै औषधि पसल शान्ता मेडिकल हलका सञ्चालक शम्भु भट्टराईले भन्नुभयो, “यिनीहरुको सेवाचाहिँ अन्नबेगर छटपटाएका भोकामा केन्द्रित छ ।” लकडाउन अवधिमा बेसहारा सडकयात्रीलाई खुवाउने काममा लागेका सञ्जाल आवद्ध युवाले कहिलेकाहीँचाहिँ अर्थाभावले कार्यक्रमलाई निरन्तरता दिन नसकिने हो कि भन्ने पर्ने गरेको बताएका छन् । तर गर्दै जाँदा केही न केही जुट्दै गएको अध्यक्ष महतोको अनुभव छ । “काम थालिहाल्यौँ, अब कमसेकम लकडाउन अवधिभरि त थेग्नै प¥यो नि !” अध्यक्ष महतो भन्नुहुन्छ, “गर्दै जाँदा हुँदै जान्छ भन्ने विश्वासले नै धानिरहेको छ ।” आपूmहरु कसैसँग अभियानका लागि भनेर माग्न कतै नगए पनि कतिपय सहयोगी आफैँ सम्पर्कमा आएर मद्दत गर्ने गरेका उहाँको भनाइ छ । सञ्जालले थालेको भोका सडक मानवलाई खुवाउने यो अभियानमा दिनहुँ साँझ ४ बजेदेखि ५ बजेसम्म बर्दिवास नगरपालिका–१, २, १४ को पूर्वपश्चिम राजमार्ग, हटिया (साप्ताहिक बजार लाग्ने ठाउँ), कार्यालयहरुको वरिपरि र छिमेकको लालगढसम्म सञ्चालन गरिँदै आइएको छ । दिनहुँ खानाको परिकार फेरिफेरि ख्वाइन थालिएपछि कहाँ खान पाइन्छ ? भनेर भौँतारिने गरेका बेसहारा बटोही दिनहुँ अघिल्लो दिनको निश्चित ठाउँमा भेटिने गरेका छन् । दिनहुँ भोका, बेसहारालाई खान दिँदा उहाँहरुको अनुहारमा छाउने खुशीले आनन्द दिने गरेको सञ्जाल आवद्ध बर्दिवास–६ की पूजा साह बताउनुहुन्छ । शुरुमा बेसहारा भोका सडकयात्रीलाई खान दिने अभियान शुरु गरेका सञ्जाल आवद्ध युवाले विस्तारै अन्य सामाजिक गतिविधिमा पनि सरिक जनाउन थालेका छन् । शुक्रबार बर्दिवास क्षेत्रका अस्पतालमा उपचाररत बिरामीलाई रगत अपुग भएपछि रक्तदान कार्यक्रम नै आयोजन गरेर ४० पिन्ट रगत रेडक्रस बर्दिवास उपशाखालाई दिइएको उहाँ बताउनुहुन्छ । सञ्जाल आवद्ध युवाले लकडाउन अवधिसम्म सञ्चालन गर्ने गरी शुरु गरेका यो अभियानलाई सधैँ निरन्तरता दिनुपर्ने बुद्धिजीवीले औँल्याएका छन् । सधैँ बाक्लो ओहोरदोहोर हुने चोकबजार क्षेत्रमा मानसिक सन्तुलन गुमेका, परिवारले वास्ता नगरेका र असहाय बाक्लै देखिने हुँदा अभियानलाई सधैँ निरन्तरता दिनसके राम्रो हुने जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष गुञ्ज खड्का बताउनुहुन्छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video