शिक्षा /स्वास्थ्य
Jul 05, 2020
गुरु पूर्णिमाका दिन गुरु अर्थात् असल शिक्षक बारे गथासो
 —लोकनारायण सुबेदी
काठमाडौँ, असार २१
  हाम्रा प्राचीन ग्रन्थहरुमा अध्यारोबाट उज्यालोतिर मार्गदर्शन गर्नेलाई गुरुको संज्ञा दिएको पाइन्छ । त्यसैले गुरुलाई ‘इश्वरीय त्रयता’ अर्थात ‘ब्रह्मा, बिष्णु र महेश्वर’कोरुपमा गुरुको सम्मान गर्ने दिनको रुपमा लिइन्छ गुरु पूर्णीमालाई । पूर्बीय गोलाद्र्धमा खाशगरी बेद ब्यासको जन्म जयन्तिको सन्दर्भमा यो गुरुपूर्णिमा समर्पित छ । तर आजकल न गुरुको सम्मान भएको देखिन्छ न शिक्षक नै सही किसिमले सही शिक्षक भएको नै । त्यसैले आज यहाँ एउटा असल शिक्षक के कस्तो हुनु पर्ने हो भन्ने बारे संक्षिप्त बिमर्श गर्न खोजिएको छ ।
शिक्षक आधारभूतरुपले घटना, बस्तु या कुनै पनि चीजलाई हेर्ने, ब्याख्या गर्ने र बदल्ने यस संसारमा सबैभन्दा ठूलो बिद्रोही ब्यक्ति हुनु पर्दछ । किनकि त्यसरी मात्र उसले नयाँ पिढीलाई अगाडि बढाउन र सही शिक्षा दिन सक्तछ । मार्गदर्शन गर्न सक्तछ । तर त्यस्तो क्रान्ति शिक्षकमा हुने गर्दैन । बरु त्यसको बिपरीत प्रायः हरेक शिक्षक सबैभन्दा बढी सबैभन्दा कट्टरपन्थी, सबैभन्दा बढी पुरातनपन्थी(अर्थोडक्स) हुने गरेको छन् बिश्वभरी केही थोरै अपबादलाई छाडेर ! त्यसैले जब शिक्षकले एउटा बच्चालाई भन्दछन् कि तिमी गधा हौ, अबुझ हौ, बुद्धिहीन हौ या स्वाँठ हौ,त्यसमा हामीले बिचार गर्नै पर्दैछ कि यो भनाइ कत्तिको सही, कत्तिको साँचो हो भनेर ! के दुइजना मान्छे यो संसारमा प्रतिभा, क्षमता, गुणबत्ता सबै हिसाबले एकै या उस्तै हुन सक्छन् ? जो जस्तो छ ऊ आफै जस्तो छ । अर्कोसँग तुलनाको कुनै प्रश्नै उठ्दैन । उसको कुनै तुलना नै हुँदैन र हुनु हुँदैन । किनभने मानिस, बस्तु या कुनै पनि कुरा आफैं बिशिष्ठ र सार्बभौम छ ।
एउटा सानो ढुंगाको टुक्रा छ भने त्यो ढुंगाको टुक्रा हो । एउटा सानो बिरुवा छ भने त्यो सानो बिरुवा हो । कुनै ठूलो बृक्ष छ, कुनै सानो घास छ । कुनै गुलाबको फूल छ । कुनै घासको फूल छ । प्रकृतिको जहाँसम्म सम्वन्ध छ न घासको फूलसँग अप्रसन्न छ न गुलाबको फूलसँग प्रसन्न छैन । उसले गुलाबको फूललाई जति प्राण दिन्छ त्यत्ति नै घाँसको फूललाई पनि दिन्छ । जबसम्म संसारमा हामी एक मानिससँग अर्को मानिसलाई तुलना गर्दछौं त्यस बेलासम्म हामी गलत बाटोमा हिडिरहेका हुन्छौं । त्यो गलत बाटो के हुन्छ भने हामीले हरेक मानिसलाई अर्को मानिस जस्तो बन्ने इच्छा पैदा गरिरहेका हुन्छौं ।
जबकि बास्तबिकता के हो एउटा मानिस अर्को मानिस जस्तो न आजसम्म बन्न सकेको छ न बन्न नै सक्तछ । मार्क्स या आइस्टाईन, लेनिन या गान्धि, माओ या चे ग्वेभारा, हो चिमिन्ह या क्याष्ट्रो, किम इल सुुङ या मण्डेला टोल्स ट्वाई या शेक्सपियर, रबिन्द्रनाथ या गोर्की या ल्यू सुन तिनीहरु जस्तै अर्को कोही पनि बन्न सक्तैन । राम या क्राइस्ट दिबंगत भएको कति बर्ष भइसक्यो कोही अर्को उस्तै ब्यक्ति त बन्न सकेको छैन । जब कि हजारौ हजार ईसाईहरु क्राइष्ट बन्ने प्रयत्नमा छन् चौबिसै घण्टा क्राइस्ट बन्नका लागि लागिपरेका छन् तर बन्न सक्तैनन् ।
हिन्दूहरु रामको पछि लागेका छन् तर बन्न सकेका छैनन् । हजारौ जैन, महाबीर या बुद्ध बन्नका लागि लागेका छन् तर एकाध पनि बन्न सकिरहेका छैनन् किन ? के यस कुराले जान्ने सुन्ने हुँ भन्नेका आँखा आजसम्ममा खुल्नु पर्ने हो कि होइन ? तर किन खुल्दैनन् ? किन हामी एउटा अन्ध भ्रममा बाचिरहेका छौ र त्यसैलाई पछ्याइरहेका छौं । यो प्रश्न गम्भीरतम् छ । हाम्रो जीवनले पनि यो सत्य उद्घाटन गरिरहेको हुन्छ कि एउटा मानिस अर्को मानिस जस्तो हुदैन । तर त्यसलाई हामी कसैले पनि शायद गम्भीररुपमा लिएकै छैनौ र लिने गर्दैनौ । त्यही परम्परामा हामी अभ्यस्त छौ ।
अझ हामी त अन्ध मान्यताहरुमा यसरी अभ्यस्त छौं, यति धेरै किताबी छौ कि हामी के ? किन ? कसरी ? भनेर प्रश्न नै गर्दैनौ, गर्न दिदैनौ र गरेमा अनिष्ट हुने डर समेत देखाउँछौं । त्यसैले असल शिक्षक बन्ने हो भने क्रान्तिकारी बन्नै पर्दछ, राजनीतिक, आर्थिक, समाजिक, साँस्कृति घटना,परिघटना, बस्तु आदिको बिकास, उत्थान र पत्तन सबैलाई चारैतिरबाट प्रश्न तेस्याएर हेर्नु पर्दछ । अनुसन्धान गर्नु पर्दछ । प्रयोग गर्नु पर्दछ, पुनर्प्रमाणित गर्नु पर्दछ । अनि मात्र हामीलाई ज्ञान सही परिप्रेक्षमा प्राप्त हुन्छ । अन्यथा हामी किताबी, परम्पराबादी र अन्धसुरमा जान्ने सुन्ने भएको जस्तो भएर हिडिरहेका हुन्छौ । जीवन गुजारी राखेका हुन्छौ ।
मानिस मात्र पनि होइन, एउटा ढुंगाको टुक्रा जस्तो अर्को पृथ्वीभरीमा खोज्न कठिन छ । यो संसारमा हरेक बस्तु या चीज बिशिष्ठ छ या आफ्नै किसिमको छ र अद्वितीय छ । अनि जबसम्म हामीले प्रत्येकलाई उसको अद्वितीय प्रतिभाका लागि सम्मान दिदैनौ या दिन सक्तैनौ तबसम्म बिश्वमा प्रतियोगिता भइरहन्छ त्यतिबेलासम्म मारकाट मच्चिरहन्छ र त्यसबेलासम्म हिंसा कायम रहन्छ । अनि त्यतिबेलासम्म सबै किसिमका बेइमानीका उपायहरुबाट मानिस अगाडि निस्कन चाहन्छ र अर्को जस्तो हुन चाहन्छ ।
त्यसैले माक्र्सले भनेका थिए मानिसले मानिसलाई गर्ने शोषणको अन्त्य हुने परिपाटी बसाल्न बर्गीय समाजलाई बदलेर बर्गबिहीन तुल्याउनु पर्दछ ।
अनि मात्र सबैले समान अवसर पाएर आफ्नो बिशिष्ठ र सार्बभौम प्रतिभालाई प्रस्फुटन गराएर समाजलाई योगदान दिन सक्तछ । सबै मानिसको बिशिष्ठता मौलाउन सक्तछ । कसैले कुण्ठित रहनु या हुनु पर्ने स्थिति रहँदैन । अँध्यारोबाट उज्यालोतिर लाग्ने यो मूलबाटोतिर अग्रसर होऔं । सही गुरु र सही शिष्य बनौ !


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video