विचार/अन्तरवार्ता
Nov 04, 2017
अब राष्ट्रवादीहरुले जित्ने बेला आएको छ ः खडका
 सविन कुमार खड्का
 प्रदेश नं ३ अन्तर्गत ललितपुर क्षेत्र नं ३ (क), उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी

तपाईं प्रदेशसभाको उम्मेदवार हुनुभयो, तयारी के कस्तो छ ?
— सवैभन्दा पहिला म इमान्दार राष्ट्रवादी हुँ, हिन्दूवादी र राजसंस्थावादी पनि हुँ । यो निर्वाचनमा म ललितपुर क्षेत्र नं ३ (क) का सम्पूर्ण जनतासँग आफूलाई विजयी गराउन अनुरोध गर्दछु । चुनावी कार्यक्रम र घोषणा पत्र सहित घरदैलो कार्यक्रम गर्ने तयारी गरेको छु । म राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय सदस्य भएकोले यो संगठनसँग आवद्ध सम्पूर्ण युवाहरुले मलाई जिताउन सक्रिय रुपमा सहयोग गर्ने मैले विश्वास लिएको छु । म उम्मेदवार बन्न रहरले मात्र उठेको होइन । ललितपुर क्षेत्र नं ३ को विकासको लागि म उठ्नु अत्यन्त आवश्यक ठानेर उठेको हुँ । मलाई लाग्छ म अत्याधिक बहुमतले विजयी हुन्छु । मेरो जित नै सम्पुर्ण राष्ट्रवादी, हिन्दूवादी र राजसंस्थावादीको जित हो भन्ने मैले ठानेको छु । 
चुनावमा उठ्ने उम्मेदवारले मोटो रकम खर्च गर्छन् भन्ने सुनिन्छ, तपाई यस विषयमा के भन्नुहुन्छ ?
— तपाईंले अत्यन्त सान्दर्भिक प्रश्न सोध्नुभयो । ठुला पार्टीहरु मै मोटो रकम खर्च गरेर उम्मेदवार बनीरहेको हामीले देखिरहेको र भोगीरहेका छौं । वास्तवमा स्पष्ट भन्नुपर्दा म खुल्ला दिलले जनताको घरदैलोमा पुग्छु । म पैसा खर्च गरेर चुनाव जित्ने भन्ने पक्षमा छैन । जनताले जिताए जनताकै सेवा गर्छु । हराए पनि म जनताकै माझ हुन्छु । म के भन्न चाहन्छु भने पैसा नबाडे पनि राष्ट्रवादीहरुले जित्ने समय आइरहेको छ । 
विजयी भएपछि त्यस क्षेत्रको विकासको लागि तपाईंका एजेण्डा के–के छन् त ?
— सवै भन्दा पहिला व्यपाक रुपमा शिक्षा र स्वास्थ्यमा सुधार गर्छु । सरकारी विद्यालयमै पनि गुणस्तर वृद्धिको लागि पहल गर्छु । एम्बुलेन्स, दमकल, रक्तसञ्चार जस्ता आकस्मीक सेवाको सहजीकरणमा जोड दिन्छु । सम्पूर्ण सामाजिक संघसस्थाको विकास र विस्तारको लागि आफूले सक्दो सहयोग गर्न पहल गर्छु । राजावादी हरुलाई परिचालन गर्न विभिन्न कार्यक्रम ल्याउँछु । टोल टोलमा हिन्दूहरुको आश्थाको केन्द्रको रुपमा रहेको मठमन्दीर हरुलाई संरक्षण गर्न सक्दो सहयोग गर्छु । 
अहिलेको अवस्थालाई तपाईंले कसरी लिनु भएको छ ?
— अहिले यतिबेला देश लोकतन्त्रवादी र वामपन्थीबीच ध्रुवीकरण भइरहेको छ । अब हामीले प्रजातन्त्रलाई बचाउन पनि कांग्रेस सहितका लोकतन्त्रवादी हरुलाई सहयोग गर्नुपर्ने भएको छ । यसैकारण वरिष्ठ राजनीतिज्ञको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी भएको हो । राप्रपा सत्तामा गएकोमा विभिन्न आरोम लगाइए पनि वास्तवमा भन्ने हो भने राप्रपा लोकतन्त्र बचाउन कै लागि सरकारमा सहभागी भएको हो । अब कांग्रेसले पनि स्पष्ट भिजन लिएर हिन्दू राज्य पुनस्र्थापना गर्न राप्रपासँग मिल्नै पर्ने बेला आएको छ । अब राजासहितको प्रजातन्त्रले मात्र कांग्रेस राप्रपा लगायतका लोकतान्त्रिक शक्तिहरुको भविष्य रहेको हामीलाई लागेको छ । मलाई लाग्छ यो निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशमा अत्याधिक क्षेत्रमा कांग्रेस राप्रपा सहितका लोकतन्त्रवादीहरुले जित्ने छन् । 
तपाईंले भने झैं हिन्दू राज्य र राजसंस्था पुनस्र्थापना गर्न कांग्रेसले सहयोग गर्ला ?
— हामीलाई लागेको छ हिन्दू राज्य र राजसंस्था पुनर्वहाली गर्न कांग्रेसको पनि बाध्यता बनेको अवस्था छ । हामीलाई लाग्छ कांग्रेस महामन्त्री सशांक कोइराला, खुमबहादुर खड्का लगायतका कांग्रेसका नेताहरुले हिन्दू राज्यहकै पक्षमा अभिव्यक्ति दिइरहनु भएको छ । यो स्वागत योग्य हो । ९० प्रतिशत जनता हिन्दू रहेको नेपालमा यदि कांग्रेसले हिन्दूवादीहरुको चित्त बुझाउन सक्यो भने तिनै हिन्दूहरुको मतले कांग्रेसलाई जिताउने छन् । 
तपाईंले लोकतान्त्रिक एकीकरणको कुरा त गर्नुभयो तर एकै सिद्धान्त बोकेका राप्रपाहरु किन एक हुन सक्नु भएन त ?
हामी युवाहरु राप्रपाहरु मिलेकै हेर्न चाहन्छौं । आपसमा केही विषयमा कुरा नमिलेर राप्रपा फुटे पनि हामी एउटै विचार र सिद्धान्त भएकाले निर्वाचनमा पनि आपसी तालमेलमा जानुपर्छ । हामी राप्रपाहरुको एकताको लागि प्रयासरत छौं । हामी मिल्नुको विकल्प देखिंदैन । 
राप्रपाले कति स्थानमा विजय हासिल गर्ला भन्ने अनुमान गर्नुभएको छ ?
— हामीले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेससँग चुनावी तालमेल गरेको ४ स्थानमा अध्यक्ष कमल थापासहित चारैजनाले विजयी हुने हामीले विश्वास लिएका छौं । यसैगरी एमालेसँग तालमेल गर्नुभएका महामन्त्री राजेन्द्र लिंदेनले पनि त्यहाँ अत्याधिक बहुमतले जित्ने हामीले देखेका छौं । यसका अलावा प्रदेशहरुमा पनि हामीले निकै राम्रो गर्नेछौं । समानुपातिकमा पनि हामीले विगतको संविधानसभामा भन्दा पनि बढी मत ल्याउने छौं । 
राप्रपाले यो निर्वाचनमा युवाहरुलाई कसरी परिचालन गर्छ ?
— म पनि सवैभन्दा पहिला युवा हुँ । यो निर्वाचनमा युवाहरुलाई सवैभन्दा बढी परिचालन गर्नुपर्छ । युवाहरु नेपालमा रोजगारी नपाएर विदेशीनु परिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्पूर्ण युवाहरुलाई नेपालमै राजगारी दिलाउन उद्योगधन्दा खोल्न प्रयासरत छ । राप्रपा पटक पटक सत्तामा गएपनि हामीले सत्ताको नेतृत्व गर्ने ठाउँमा पुगिसकेका छैनौं । हाम्रो पार्टी सत्ताको नेतृत्वमा पुगीसकेपछि सम्पूर्ण युवाहरुलाई नेपालमै रोजगारी दिलाउन पहल गर्छ । 
अन्त्यमा केही भन्नु छ कि ?
— हामी राष्ट्रवादी हौं । सम्पूर्ण राष्ट्रवादी, हिन्दूवादी र राजसंस्थावादीहरु एकतावद्ध भएर म लगायत सम्पूर्ण राप्रपाका उम्मेदवारहरुलई विजयी गराउन समस्त देशवासीहरुमा आग्रह गर्दछु । राप्रपाले जितेमात्र राष्ट्रवादीहरुको जित हुन्छ । त्यसैले अब दोमन नगरीकन राप्रपालाई मत दिनुहोस् तपाईको मतको राप्रपाले अत्यन्त सम्मान गर्नेछ । हामी जितेर पनि तपाईंहरुकै माझमा रहेर विकास निर्माणको काम गरिरहने छौं । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video