विचार/अन्तरवार्ता
Dec 31, 2017
बिपी रोएको त्यो दिन
 काठमाडौँः आज पुस १६ गते, ४२ औं राष्ट्रिय मेलमिलाव दिवस। नेपालको स्वतन्त्र अस्तित्व, प्रजातन्त्र र समुन्नतिका लागि राजसंस्था र प्रजातान्त्रिक शक्तिबीचको सहकार्य नै मेलमिलापको केन्द्रीय विषय थियो। त्यो मेलमिलापको तयारी पृष्ठभूमि र बिपीको स्वदेश फिर्तीपछि मौन तर चट्टानझैँ त्यो सिद्धान्त बोकेकी शुष्मा कोइराला, जो बिपीकी जेठी बुहारी पनि हुन्, सँग देशसञ्चारकी दीपा दाहालको अन्तरंग र सम्भवत त्यस विषयमा उनको पहिलो खुलासा।

बिपीलाई नदेखेको पुस्ताका लागि उनको अर्थ 
जब म बिपी कोइराला परिवारभित्र पसेँ, त्यतिबेलादेखि नै उहाँको राजनीतिक चिन्ता, देशप्रतिको माया र सम्मान देख्नुका साथै महसुस गर्न थालेको थिएँ। म जमिन्दारको छोरी थिएँ तर यहाँ आएपछि धेरै राजनीतिक व्यक्ति र उनीहरुको समाज सेवा नजिकबाट नियाल्ने मौका पाएँ, त्यो पनि चिया दिने समयमा। त्यो बेलाको माहोल धेरै फरक थियो, सबै क्रान्तकारी थिए।

पञ्चायती व्यवस्थाको विरुद्धमा उनीहरु होमिएका थिए र त्यसको नेतृत्व बाबा (बिपी)ले गर्नुभएको थियो। घरमा आउने सबै क्रान्तिकारी विचारधारा बोकेका हुन्थे। बाबाबाट कांग्रेसका सबै सदस्य एउटै परिवारका हुन् भन्ने मैले सिकेको थिएँ। पहिले अरुलाई खान दिनु अनि आफूले खानू भन्ने पाठ उहाँबाट मैले सिकेको हुँ। हरेक घटनाबाट एउटा शिक्षा लिनुपर्छ अनि मात्र जीवनमा अघि बढ्न सकिन्छ भन्ने शिक्षा पनि उहाँबाट नै मैले पाएको हुँ।

मनीषा भर्खर जन्मिएकी थिइन्, एकपटक स्याङ्जाका वेदप्रसाद पनेरु घरमा आउनुभयो। मैले पहिले बाबालाई खाजा दिएपछि मात्रै पनेरुलाई दिएँ। त्यसपछि मलाई बाबाले धेरै गाली गर्नुभएको थियोे । मैले खाजा पहिले पाहुनालाई दिनुपर्थ्यो, त्यो कुरा मैले बुझिनँ किनभने म जमिनदारको छोरी थिएँ।

बाबाले मेरो एक बोलीमा जनताले हाम फाल्न तयार हुन्छन्, उनीहरुलाई तिमीहरुले कसरी अनादार गर्न मिल्छ भन्नुभयो। यो पार्टी मात्रै होइन, एउटा परिवार भएकाले पार्टीका हरेक सदस्यलाई आफ्नो परिवारको सदस्य ठान्नुपर्छ भन्नुहुन्थ्यो। घरमा धेरै थरिका खाना खाँदा बाबा र सुशीला आमाको झगडा पथ्र्यो। बाबाले भन्नुहुन्थ्यो, नेपालका कुनाकाप्चामा बस्ने जनताले के यस्तो खाना खान्छन्? उनीहरुले पेट समेत भर्न पाएका छैनन्। हामी चाहिँ किन धेरै व्यञ्जन खाने?

उहाँको माया कांग्रेसका हरेक सदस्यप्रति निकै धेरै थियो। र, उनीहरु पनि बाबाप्रति ढुक्क थिए। बाबालाई कांग्रेसीहरुले आफ्नो संरक्षक मान्थे र उहाँले हाम्रो दुःखलाई हेर्नु हुन्छ भनेर ढुक्कै हुन्थे जबकी हामीसँग भने केही थिएन। हाम्रो आर्थिक अवस्था पनि राम्रो थिएन। भेट्न आउने कार्यकर्ताले आफ्नो पटुकामा गाँठो पारेर राखेको पैसा लुकाएर बाबालाइ दिन्थे। पैसा दिँदा कांग्रेसी कार्यकर्ता पनि प्रफुल्लित भएर फर्कन्थे। हामीलाई पनि लाग्थ्यो कोही त जसले हामीलाई इज्जत गर्छ।

पोखराका मिनबहादुर गुरुङले बाबालाई चढाएको पैसा विपन्न कांग्रेसी कार्यकर्तालाई दिनु भन्नुहुन्थ्यो। पार्टीभित्र उहाँले कहिल्यै पनि विभेदको दृष्टिकोणले हेर्नु भएन। म अहिलेका नेतालाई पहिले कार्यकर्तालाई माया गर्नुहोस् अनि तेरो मेरो नभन्नुहोस भन्छु। त्यसो नहुनाले नै आज कांग्रेसको हालत राम्रो छैन। कार्यकर्तालाई पनि नेतालाई सम्मान गर्नु पर्छ भन्ने सल्लाह दिन्छु। हुन त म यतिबेला कांग्रेस पार्टीमा आवद्ध छैन तर एक मतदाता भने हो।

राजा महेन्द्रको मृत्यु र उनीप्रतिको आदर 
अग्लो शारीरिक कद। स्वर पनि कडा। नजिकै पर्दा अलि डरलाग्ने। तर मैले उहाँबाट अरुले जस्तै धेरै माया पाएँ। मनीषा जन्मिएपछि त झनै धेरै माया पाएको अनुभव हुन्थ्यो। मलाई माइतीमा असल छोरी बन्नू भनेर सिकाइएको त थियो तर बाबाले मलाई असल छोरी बन्नका लागि आवश्यक व्यवहारिक ज्ञान सिकाउनु भयो। मेरो आत्मविश्वास बलियो भयो उहाँको प्रेरणाले। मैले राजा महेन्द्रलाई कत्ति पनि मन पराउँदैन थिएँ। तर म परिवर्तन भएँ।

एक दिन म मनीषालाई हेरेर बसिरहेका बेला अचानक बाबा अगाडि देखा पर्नुभयो। म तर्सिएँ। बाबाले भन्नु भयो, ‘नानु किंग महेन्द्र ह्याज डाइड।’ म त खुसी भएँ र ‘गुड ही डाइड’ जनतालाई खुव दुख दिएका थिए भनेँ। तपाईलाई पनि धेरै दुःख दिए नि उनले हैन बाबा?

बाबाले त रिसाउँदै भन्नुभयो ,‘स्टुपिड, ही इज नेसन्स् किंग।’ त्यसपछि मलाई निकै दुःख लाग्यो। मैले बाबालाई मनमनै सलाम गरेँ। आफूलाई त्यत्रो दुःख दिँदा र जेलमा हाल्दा पनि बाबाले राजालाई माया गरेको देखेर म छक्क परेँ। बाबाले दुःख मान्दै प्रश्न गर्नु भयो, जब मेरो बुहारीको बुझाइ त यस्तो छ भने आम जनताको बुझाइ के होला? जब मेरो बुहारीको यस्तो प्रतिक्रिया छ भने म जनतलाई कसरी बुझाउँला भन्दै बाबाले पिर गर्नु भयो।

स्वदेश फर्कन र मेलमिलापका लागि जेपीको समर्थन 
प्रजातन्त्र जोेगाउन बाबा भारत प्रवासमा हुनुहुन्थ्यो। त्यो सबैलाई थाहा थियो। पञ्चायती व्यवस्थाले मुलुकलाई जर्जर बनाइरहेको थियो। जनता आजित भएका थिए। भारतमा इन्दिरा गान्धी सत्तामा थिइन्। यता राजा वीरेन्द्रको शासन सुरु भएको थियो।

पटनाबाट इन्दिरा शासन विरुद्ध आन्दोलन चलिरहेको थियो। बाबा, गणेशमान सिंहजी, शैलजा दिदीलगायतको कसरी देश बचाउने भन्नेमा निरन्तर छलफल चलिरहेको हुन्थ्यो। मेरो काम उनीहरुलाई चिया खुवाउने मात्रै हुन्थ्यो। तर मेरा कानमा ती सबै कुरा ठोक्किन्थे। छलफलका क्रममा कहिलेकाहिँ चर्काचर्की समेत हुन्थ्यो तर अन्तमा सबै मिलेर एकअर्कामा हार्दिकता देखाउँथे।

बंगलादेशको स्वतन्त्रता र भारतमा सिक्किम विलयको निकै चर्चा भइरहेको थियो। कतै हाम्रो देश पनि अरुले खोस्ने त होइन भन्ने डर उहाँहरुको छलफलमा झल्किन्थ्यो। मुलुक अरुलाई दिनु भन्दा राजासँगै मिल्नु राम्रो भन्नु भयो बाबाले। त्यसका लागि बाबाले भारत प्रवासमा रहेका सबै नेता नेपाल फर्कनुपर्छ भन्न थाल्नु भयो।

गणेशमान पनि निकै चिन्तित हुनुहुन्थ्यो। बाबाको कुरा टार्ने नसक्ने उहाँ। यो कुरा हालका नेपाली कांग्रेसका नेताहरुले थाहा पाउनु जरुरी छ। तर नेपाल आउन अलि डर मान्नु भएको थियो। एक पटक मैले गणेशमानजीलाई तपाईँ पनि नेपाल जाने हो भनेर सोधेको थिएँ। उहाँले जान त जाने तर मार्दिन्छन् कि भन्नु भयो। नानु, तिम्रो ससुराको अघि म कसरी पछि हट्ने? उहाँले भन्‍नुभयो।

त्यति नै बेला हामी पटना पुग्यौँ। जेपी ( बिपीका अभिन्न मित्र तथा सर्वोदयी नेता जयप्रकाश नारायण)ले भने, ‘जाइए बिपी जाइए, हम राजासाप से ये विनम्र अनुरोध करते हे कि अपने ये देशभक्त नेताको पहिचाने, अपने और उनके विचार मिलाके अपने देश चलायेँ, अपने देशको स्वतन्त्र रखेँ।’

त्यसपछि बाबा रुन थाल्नु भयो। उहाँसँगै रहेका सबै नेता र शुभचिन्तकहरुको आँखाबाट आँसु झर्न थाल्यो। मलाई अहिले पनि रुन आउँछ त्यो घटना सम्झिएर। त्यस्तो राम्रो नेता आजसम्म मैले भारतमा देखेको छैन जो नेपालको हित चाहन्छ।

नेपाल र नेपाली बुझ्ने नेताहरुको आवश्यकता छ भारतमा। त्यसपछि बाबा मृत्युको जोखिम लिएर नेपाल फर्कनु भयो। उहाँसँगै अन्य नेताहरु पनि नेपाल आउनु भयो। त्यो घटनाले मलाई नेपालप्रति अझ माया लाग्यो। नेपाली कांगे्रसप्रति झनै धेरै गर्व लाग्यो। बिपी पथ नेपाली कांग्रेसले मान्नु पर्थ्यो मेरो चाहना हो। किन बाबाले आफ्नो ज्यान जोखिममा हालेर राष्ट्रिय मेलमिलापको सन्देश लिएर स्वदेश फर्किनु भयो?
आफ्नो देश बचाउन।

बिपीलाई नबुझ्दा आजको संकट 
उहाँलाई आफ्नोभन्दा देशको माया थियो। आफ्नो मुलुक संकटमा नपरोस् भन्ने नै उहाँको इच्छा थियो। देश भनेको खालि भूगोल मात्रै होइन, त्यहाँका जनता र उनीहरुको पहिचान पनि हो। यहाँ एमाले, माओवादी र पञ्चहरु पनि छन्। त्यो बेला उहाँ स्वदेश नफर्किएको भए आज हाम्रो देश कहाँ पुग्थ्यो? देश बचाउने नेतालाई आज अरुले त भुले नै कांग्रेसले समेत भुलेको छ। बाबाको नीतिलाई कांग्रेसले नअंगालेका कारण आज मुलुक फेरि संकटमा परेको छ। राष्ट्रवादी संस्था (राजा) र प्रजातन्त्रवादी (कांग्रेस) मिलेर अघि बढ्नुपर्छ।

बिपी पथ, कोइराला परिवार र कांग्रेस 
बिपी पथ त्यागिनुमा कोइराला परिवार मात्रै जिम्मेवार छैन। समग्र कांग्रेस, त्यसका नेता नेता जिम्मेवार छन्। बिपीको नीति उनीहरुले अँगाल्नुपछ। बिपी नेता हुनुहुन्थ्यो, उहाँले आफू र अरुलाई पनि सफल बनाउने काम गर्नुभयो। बाबाले माओवादीले जस्तो हतियार देखाएर शक्तिशाली हुन खोज्नु भएन। उहाँ हतियार फालेर आफ्नो मुलुकमा आउनु भयो। अहिंसात्मक राजनीतिले मात्रै हाम्रो मुलुक अघि बढ्छ र, जनता खुसी हुन्छन् भन्ने मान्यताका साथ।

उत्तराधिकारीलाई बिपीको सल्ल्लाह 
बाबाको नीति अँगाल्ने हो भने राजालाई फाल्नु हुन्थेन। हिन्दू राष्ट बनाउनुपर्थ्यो। तीन सय वर्ष पुरानो संस्थालाई हटाएर आफ्नो अस्तित्व मेटाउन हुन्न। हाम्रो मुलुकको पहिचान नै त्यही थियो। नेपालको पहिचान नै पृथ्वीनारायण शाहले बनाएको हो। बाबा आफ्नो जीवनको अन्तिम क्षणमा हुनुहुन्थ्यो।

बिरामी हुनुहुन्थ्यो। वीर अस्पताल लग्ने कुरा भइरहेको थियो। उहाँले प्रकाश (बिपी पुत्र तथा शुषमाका श्रीमान)लाई राजनीतिमा ल्याइसक्नु भएको थियो। प्रकाशले बाबा अब म के गर्ने भनेर सोध्नुभयो। बाबाले भन्नु भयो जबसम्म मेलमिलापको नीति लिएर अघि बढ्न पाउँछस् तबसम्म राजनीति गर। त्यसरी अघि बढ्न नसके राजनीति छोड।

गिरिजाबाबुलाई पनि बाबाले त्यही भन्नु भएको थियो। त्यसैले म अरुले खेलाएको राजनीति नगर र आफैँले मनन गरेर राजनीति गर, आफ्नो मुलुकबारे सोच भन्न चाहन्छु। जहाँसम्म परिवारको प्रश्न छ, हामी कहिल्यै उहाँको बाटोबाट अलग्गिएनौँ।

म, मेरो श्रीमान प्रकाश, छोरी मनीषा, छोरा सिद्धार्थ र अन्य मेरो परिवारका सदस्यहरु। कोइराला परिवारका अन्य सदस्यहरुले पनि त्यसै गर्नु पथ्र्यो तर भएन। त्यसमा हामीलाई दुःख छ। नेपालीले माटो हातमा समातेर बोल्नु पर्छ मुलुकलाई कता लैजाने? माटो आफैँले बोल्छ। माटोले भनेको कुरा नसुनेर अरुले भनेको कुरा सुनेमा नेपाल अर्कैले लैजान्छ। नेपाल नै नरहे के नेपाली भनेर मख्ख हुनुको अर्थ छैन।

अब के ?
म राजनीतिमा छैन । तर मलाई कांग्रेसको माया लाग्छ । कांग्रेस मेरो परिवार हो जस्तो लाग्छ अहिले पनि । म कांग्रेसीलाई विनम्र आग्रह गर्छु तपाई हरु राजसंस्थालाई स्वीकार गनुृहोस । अहिलेको बाटो त्यही हो। जुनरुपमा हामी स्वतन्त्र र बलियो थियौं, त्यही रुप राख्न र मुलुकको अस्तित्वलाई दीगो राख्न नेपाली कांग्रेस अघि बढ्नु पर्छ।deshsanchar



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video