विचार/अन्तरवार्ता
Feb 18, 2018
पालैपालो अध्यक्ष र प्रधानमन्त्री हुने गरि एकता गर्ने हो भने नयाँ नेपाल कम्युनिष्ट पार्टीलाई अहिलेनै लालसलाम गरेर बिदा गरिदिए हुन्छ ः नेपाल
फागुन ६, २०७४
लामो रस्साकस्सीपछि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी ठूला नेताहरू मिलेर एउटा कम्युनिस्ट पार्टी बनाउने निर्णय गरे। कुरो राम्रो हो। अहिले नै यसका बारेमा खुनखुन गर्नु राम्रो नहोला। तर यो पार्टी एकतामा प्रजातान्त्रिक प्रक्रिया अवलम्बन नगरिएको हुनाले केही यक्ष प्रश्नहरू उठेका छन्, जसको उत्तर एकताका अभियन्ताले दिनै पर्छ। पहिलो, यसको सिद्धान्त के हुन्छ? किनभने यहाँ एउटा लोकतान्त्रिक कम्युनिस्ट पार्टी छ र अर्को उग्रवामपन्थी पार्टी। सिद्धान्तरहित कम्युनिस्ट पार्टी हुन सक्छन् भन्ने हो भने त्यो पनि आउनुपर्‍यो। होइन भने यो कम्युनिस्ट पार्टीले अवलम्बन गर्ने सिद्धान्तलाई कसरी परिभाषित गर्छन् हाम्रा वरिष्ठ नेताहरूले!  कम्युनिस्ट बुझाइमा बग्रेल्ती परिभाषाहरू छन्। मार्क्सको कम्युनिस्ट पार्टी, स्टालिनको कम्युनिस्ट पार्टी, वर्तमानकै चिनिया, उत्तर कोरियाली, क्युबाली, फ्रान्सेली आदि कम्युनिस्ट पार्टी। हामी यी कसैभन्दा फरक छौँ भन्न पनि सकिन्छ। तर त्यो फरकको परिचय पनि चाहियो। मिलनको नाममा भद्रगोल मान्यता अगाडि सारियो भने त्यसले कुनै फलिफाप दिँदैन। पछिल्लो समय पुष्पकमल दाहालबाट सुनियो, ‘समाजवादी क्रान्ति संपन्न गर्न यो एकता गरिएको हो।’ योचाहिँ हावादारी कुरा हो। यसको तात्कालिक कार्यनीति के हो? यो पार्टीले बुझेको समाजवादी क्रान्ति नै के हो? अहिले संसारमा कम्तीमा पनि सय थान समाजवादी पार्टी होलान्। एउटा सोसलिस्ट इन्टरनेशनल भन्ने अन्तर्राष्ट्रिय संस्था छ। नेपाली कांग्रेस नेपालमा यसको प्रतिनिधि हो। के नयाँ नेकपाले त्यही सोसलिस्ट इन्टरनेशनलमा नेपाली कांग्रेसलाई विस्थापित गर्न खोजेको हो? दाहालजीले भन्नुभएको नेपाली समाजवादी क्रान्तिले नेपाली श्रमजीवी समुदायलाई के कस्तो उपहार दिन्छ? नेपालबाट श्रमजीवी समुदाय विस्थापित भइसक्यो? अहिले नेपालमा पूँजीवाद छ। तर नेपाली नेताहरूको आचरण सामन्ती छ।
पार्टीभित्रै पनि हामी ठूला हौँ। त्यसैले अरू सबैले हाम्रो अनुसरण  गर्नुपर्छ भन्ने चेतना बोकेका नेताका सिकार भएका हजारौँ कार्यकर्ता छन्। त्यसैले नेताहरूको मुखबाट समाजवाद शब्द ननिस्कनु नै राम्रो हुन्छ। ‘उदार पूँजीवादलाई रोक्न र राष्ट्रिय पूँजीवादको विकास गर्न हामीले एकता गरेका हो, एकताबाट शक्ति आर्जन गर्न खोजेका हौँ’ भन्दा त्यो भाषण पत्याउँदो पनि हुन्छ। दोस्रो, कार्ल मार्क्सले भनेका छन्, ‘हामी त्यस्ता कम्युनिस्टभन्दा भिन्न छौँ, जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन्, जो विश्वलाई एउटा विशाल गोदाम या अनुशासनको ब्यारेकमा परिणत गर्न चाहन्छन्। यहाँ त्यस्ता पनि कम्युनिस्टहरू छन्, जो वैयक्तिक स्वतन्त्रतामाथि बन्देज लगाउन चाहन्छन्। उनीहरूको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानताको विरोधी हुन्छ। तर हामी कुन कुरामा प्रष्ट छौँ भने वैयक्तिक स्वतन्त्रताको  अभावमा सामुदायिक सद्भाव बढाउन सकिँदैन। एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनुपर्छ, जहाँ सबै राजनीतिक दलहरू नीति र विचारका आधारमा आफूलाई श्रेष्ठ सावित गर्न सकून् र आफ्नो पक्षमा बहुमत पुर्‍याउन सकून्।’ अहिले एकताका सहअध्यक्ष भएका नेताहरूले ‘म ठूलो हुँ, मैले भनेको तिमीहरूले मान्नुपर्छ’ भनेर दिने उर्दीलाई अबको समाजमा कसैले मान्नेवाला छैन। हिजो नेकपाको नाममा सपना देखाउनेहरूले ‘व्यक्ति होइन, संगठन ठूलो हो’ भन्ने उल्टो ज्ञान पढाए। नेपालको सन्दर्भमा माथिको अनुच्छेद भनेको जनताको बहुदलीय जनवाद हो। यो नै मार्क्सवादी सिद्धान्तको निरन्तरता हो। त्यसैले यसलाई नेपाली मार्क्सवाद भनिएको हो। जनताको बहुदलीय जनवादप्रति नयाँ नेकपाको दृष्टिकोण के हो? के त्यसको सान्दर्भिकता सकिएको हो? जबजले दिएका १३ बुँदे लोकतान्त्रिक मूल्य र मान्यताहरू अबको नयाँ कम्युनिस्ट पार्टीका लागि  काम नलाग्ने भएका हुन्? कि नयाँ कम्युनिस्ट पार्टीले लासहरूको थुप्रो थकित भएर पल्टिएको मालेमावादलाई सकारेको हो? कम्तीमा पनि अध्यक्ष भनिएका व्यक्तिहरूले पार्टी, पार्टीका अन्य नेता, कार्यकर्तालाई ढाँट्नुभएन। एकताको चुरो पदको बाँडफाँट हो भन्ने पनि सुनिएको छ। पालैपालो अध्यक्ष, पालैपालो प्रधानमन्त्री। यो एकताको आधार हो भने नयाँ नेपाल कम्युनिस्ट पार्टीलाई अहिले नै लाल सलाम गरेर बिदा गरिदिए हुन्छ। यस्तो एकताले पार्टीलाई ‘पार्टीहरू’मा रूपान्तरित गरिदिन्छ। नामको कुनै अर्थ छैन। मुख्य कुरो सिद्धान्तको परिपालना हो। नेपाल र भारतमा समाजवादी सिद्धान्त बोकेका पार्टी एक दर्जन छन् तर तिनलाई समाजवादको ज्ञान छैन। समाजवादी चेतना पनि छैन। उता, उत्तर कोरियाले कम्युनिस्ट पार्टीको नाम नराखेरै समाजवाद निर्माण गरेको छ।
अमेरिकालाई तर्साएको छ। दक्षिण कोरियासँग एकीकरणको वार्ता प्रक्रिया अघि बढाएको छ। यद्यपि, यो धेरै जटिल प्रक्रिया हुनेछ। विश्वको मानचित्रमा अमेरिका रहुन्जेल कोरियाको एकीकरण असाध्यै अप्ठ्यारो काम हुनेछ। पूर्वी एसियाबाट अमेरिका, घर नफर्कियुन्जेल कोरियाली एकीकरण हुँदैन। तर पछिल्लो चरणमा अमेरिका हारेको छ, कोरियाली प्रायद्वीपमा। यो हो समाजवादी क्रान्तिको नमुना। त्यसैले नेपाल कम्युनिस्ट पार्टी नाम राख्दैमा, सैद्धान्तिक निष्ठा नभए पनि नेपालको आन्दोलन राष्ट्रिय पूँजीको विकास गरेर समाजवादी मार्गमा अघि बढ्छ भन्ने तर्कलाई स्वीकार्न सकिँदैन। नेकपा हुनका लागि एउटा सिद्धान्त हुनुपर्‍यो। त्यो कार्ल मार्क्सले भनेजस्तो स्वतन्त्र नागरिकले नै समतापूर्ण समाजको निर्माण गर्न सक्छन् भन्ने विश्वासमा उभिन सक्ने हुनुपर्‍यो। अहिले एकताका सहअध्यक्ष भएका नेताहरूले ‘म ठूलो हुँ, मैले भनेको तिमीहरूले मान्नुपर्छ’ भनेर दिने उर्दीलाई अबको समाजमा कसैले मान्नेवाला छैन। हिजो नेकपाको नाममा सपना देखाउनेहरूले ‘व्यक्ति होइन, संगठन ठूलो हो’ भन्ने उल्टो ज्ञान पढाए। त्यसैले नेकपाले अपेक्षित सफलता हासिल गर्न सकेन। नेकपाको पाँचौँ महाधिवेशनले व्यक्तिको भूमिकाका कारणले नै कम्युनिस्ट पार्टी भनेको सबैभन्दा शक्तिशाली पार्टी हुन्छ भन्ने ज्ञान दिएको हो। अरू पार्टीलाई केही भन्नु जरुरी छैन तर दुइटा संविधानसभाले नेपालको नामचाहिँ संघीय गणतान्त्रिक नेपाल राखे। व्यवहारमा चाहिँ सामन्ती गणतन्त्रको अभ्यास गरे। जनमतसंग्रहबाट हुनुपर्ने निर्णय फटाफट तिनैले गरे। यसो गरेर तिनले आफूलाई आम नागरिकबाट अलग गरे। यी सबै नकाममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरू पनि अरू पार्टीका नेताहरूसँगै हिँडे। श्रमजीवी वर्गको नेकपा र बुर्जुवा वर्गको नेपाली कांग्रेसबीचको भेद मेटियो।  कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता सबैले होस पुर्‍याऊन्– सिद्धान्त नभएको पार्टी, वर्गीय प्रतिवद्धता नभएको पार्टी भनेको  विवेकहीन मानिसहरूको भीड मात्र हो। नाम श्रमिक राखे पनि, कम्युनिस्ट राखे पनि त्यसको कुनै अर्थ रहनेछैन।
साभार thahakhabar.com/news/32553 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video