विचार/अन्तरवार्ता
Feb 25, 2018
एमाले–माओवादी केन्द्रको एकता दुईवटा बैक मर्ज भए जस्तो हो ः डा. बाबुराम भट्टराई
नयाँ शक्ति पार्टी नेपालको लुम्बिनीमा बसेको संघीय परिषद् बैठकले नयाँ शक्तिलाई संगठनात्मक संरचनालाई वैज्ञानिक बनाउन भिजन ५ र मिसन ५ नामक सांगठनिक पुनर्गठनको प्रस्ताव गरेको छ। लुम्बिनी बैठकले एक वर्षभित्र महाधिवेशन गरेर पार्टीको नाम पनि परिवर्तन गर्ने प्रस्ताव गरेको छ। नयाँ शक्ति निर्माणको अभियानलाई पार्टीको रूपमा अघि बढाउन पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव बैठकको छ।  ९ फागुनदेखि १२ गतेसम्म सिद्धार्थ गौतमको जन्मथलो रूपन्देहीको लुम्बिनीमा बसेको परिषद् बैठकले डा. बाबुराम भट्टराईको संयोजकत्वमा ९९ सदस्य केन्द्रीय कार्यकारी समिति गठन गरेको छ। मुलुकको राजनीतिक परिवेश, नयाँ शक्तिका आगामी कार्यदिशालगायत विषयमा थाहाखबरका लागि सी. पी. खनालले डा. भट्टराईसँग गरेको कुराकानी।
तपाईंमा जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै सत्तामा रहँदासम्म जुन उत्साह, नयाँ जोश देखिन्थ्यो। तपाईंबाट जनाताले धेरै आशा गरे। तर, त्यो अहिले घट्दो क्रममा देखिन्छ। तपाईं पनि पहिलेभन्दा निराश र थाकेजस्तो देखिनुहुन्छ। तपाईंको उत्साह पनि त्यसैगरी घट्दै गएको हो?
नेपालमा लोकतान्त्रिक आन्दोलन र क्रान्ति २००७ साल देखि नै निरन्तर भयो। जनयुद्व भयो। जनयुद्ध आन्दोलनको सर्वोच्च अभिव्यक्ति थियो। नेपालमा राजनीतिक जटिलता र संरचनाको कारणले हलाल क्रान्ति मात्रै भए। नेपालमा क्रान्तिहरू त भइरहे तर भएका क्रान्ति उत्कृष्ट पूर्णतामा पुर्‍याउन सकिएन। त्यसपछि शान्ति सम्झौतामार्फत लोकतान्त्रिक गणतन्त्रमा टेकेर समाजवादको दिशामा जाऊँ भन्ने हिसाबले अघि बढ्यौँ। त्यो मैले नै अघि सारेको थिएँ। नत्र भने त्यो पनि सिद्धिने दिशातिर जाने खतरा थियो। भौतिक ढंगले दमन हुने र हामीले जित्न नसक्ने अवस्था आउने थियो। त्यसकारण हामी लोकतान्त्रिक गणतन्त्रको एजेन्डा लिएर अघि बढ्नुपर्छ भनेर अघि बढ्यौँ। तपाईंले इतिहास पल्टाएर हेर्नुस्, लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द र एजेन्डा नै मैले ल्याएको हो। त्यसो नगरिएको भए देश झन् एउटा गम्भीर अवस्थामा पर्‍थ्यो। संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र जारी गर्न पनि दृढतापूर्वक लागेको पनि मै हुँ। त्यो एक हिसाबले सम्झौता थियो। त्योभन्दा अगाडि जाँदा भिन्न ढंगले जानुपर्छ भन्ने विषयमा चित्त बुझाउन सकेको छैन। तपाईंले जुन प्रश्न राख्नुभयो, हिजो बाबुराम चै बडा क्रियाशील थियो, अहिले त्यस्तो छैन भन्ने कुरा। यसमा म के भन्छु भने म त्योभन्दा अगाडि जान खोजिरहेको छु। एकजना दार्शनिकले क्रान्तिको नियमबारे भनेका छन्, क्रान्ति सम्पन्न भएको भोलिपल्ट नै हिजोका क्रान्तिकारीहरू प्रतिक्रान्तिकारीमा रुपान्तरित हुन्छन् भनेका छन्। नेपालमा पनि एउटा सम्झौताबाट गरिएको हलाल क्रान्ति भएकाले हिजोका क्रान्तिकारीहरू सत्तामा सहवरण भएर गएका छन्। हिजो कांग्रेस, एमाले त्यही बाटोमा गए। अहिले माओवादी पनि पुरानै व्यवस्थामा सहवरण भएको छ। तर, नेपालमा रुपान्तरण र परिवर्तनको आवश्यकता र औचित्य सिद्धिएको छैन। मैले चाहिँ त्योभन्दा अगाडि बढेर नयाँ परिवर्तनको बाटो, समृद्ध समुन्नत समाजवाद निर्माणको बाटो पहिल्याउन लागेको हो। म निराश छैन। अहिलेको अन्धकारबाट एउटा ज्योति मेरो आँखाले बढी देख्याछ भन्ने लाग्छ। म त्यसमा निर्धक्क भएर अघि बढ्दै छु।
तपाईंले कुनैवेला भन्नुभएको थियो–हामी नदीको बहाव जता गइरहेको हुन्छ त्यतै बग्ने मरेको माछा हैनौँ, हामी जिउँदो माछा हौँ, पानी जताबाट बग्दै आएको छ त्यो धारलाई चिरेर पनि अघि बढ्छौँ। अहिले त तपाईंहरू बहाव चिर्नुको सट्टा ढुंगाको कापको, प्वालमा लुकेर बसेजस्तो देखियो नि! 
यो गलत कुरा हो। दुई वर्षमै कहाँ त्यो फरक हेर्न पाइन्छ र। दुई वर्षमै नयाँ शक्ति बनेको कहाँ देख्न पाइन्छ? यो लामो प्रक्रियाबाट निर्माण हुन्छ। कतै कतै क्षणिक रूपमै शक्ति बनेर सत्तामा पुगेको त हुन्छ। तर, त्यो दीर्घकालसम्म मुलुकलाई नेतृत्व दिइरहन सकेको देखिँदैन। विश्वमा कहीँ पनि त्यस्तो हुन सकेको छैन। हामी २१औँ शताब्दीमा मुलुकलाई नयाँ दिशा दिन खोजिरहेका छौँ। हामी विश्वलाई नै नयाँ सन्देश दिन खोजिरहेका छौँ। हामीले बुद्धको जन्मस्थलमा गएर हामी संकल्प गर्नुको अर्थ पनि नयाँ युगलाई नयाँ दिशा दिनका लागि तयार छौँभ नेर नै हो। बुद्धको जन्मस्थल लुम्बिनीबाट हामीले प्रण गरिसकेका छौँ। नयाँ युगको लागि परिवर्तनशील शक्तिको आवश्यकता छ र हामी त्यो शक्तिको रूपमा परिणत हुनेछाँै। यसमा हामी सबैले संकल्प गरेका छौँ, पाँच वर्षमा मुलुकको नेतृत्व गर्ने शक्ति बन्छौँ। हेर्दै जानुस्, हामीले समृद्धिको नेतृत्व गर्छौं र मुलुकलाई अघि बढाउँछौँ।
तपाईंहरूले बुद्धका दर्शनसँग दाँजेर भन्नुभएको छ, बुद्धले दुःखको कारण छ र यसको निराकरण छ भनेजस्तै मुलुकमा समस्याको कारण छ र त्यसको निराकरण छ। के रहेछ समस्याको कारण, लुम्बिनीमा पुगेर के बोध गर्नुभयो, निराकरण के हो?
हो, हामीले बुद्धका केही विषयसँग तुलना गरेका छौँ। आजभन्दा करिब २५ सय वर्ष अगाडि गौतम बुद्धले भन्नुभएको थियो, दुःख छ। दुःखको कारण छ। दुःखको निवारण छ। ज्ञान, शील र समाधिको अष्टमार्गबाट दुःखको निराकरण गर्न सकिन्छ। नयाँ शक्ति पार्टी, नेपालले बुद्ध जन्मभूमिबाट उद्घोष गरेको छ, देशमा समस्या छ। समस्याको कारण छ। समस्याको निवारण छ। ‘५ स’ को मार्गबाट ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिन्छ। हामीले पाँच ‘स’ (स्वाधीनता, समतामूलक समृद्धि, समावेशी/ समानुपातिक/ सहभागितामूलक लोकतन्त्र, सुशासन÷सदाचार र समुन्नत समाजवाद)को कुरा गरेका छौँ। नेपाली समाज गरिबी र बेरोजगारीको दुस्चक्रमा फसेको छ। अहिले क्रोनिक क्यापिटलिजम् नामको आसेपासे पुँजीवादले गाँजेको छ। त्यसबाट मुक्त भएर समुन्नत समाजवादको बाटोमा जाने नै अबको बाटो हो। त्यसलाई हामी पाँच ‘स’ को बाटो भनेका छौँ। नेपालको समस्याको समाधानको बाटो भनेको उन्नत प्रकारको लोकतन्त्रको अभ्यास, सुशासन र लोकतन्त्रको प्रत्याभूति र देशको भूराजनीतिको उचित सम्बोधन, यसलाई हामी आधार मानेका छौँ। समृद्धि बाटो हो र गन्तव्य समुन्नत समाजवाद हो। 
तपार्ईंले सोचेजस्तै शक्तिको बागडोरमा पुग्न अहिलेको नयाँ शक्तिले लिनका लागि कति समय लाग्छ? जनताले कहिले तपाईंले भनेजस्तो समृद्धिको अनुभूत गर्न पाउँछन्? 
क्रान्ति एउटा प्रक्रिया हो। यो घटना हैन। घटनाहरू समय समयमा भइरहन्छन्। ती घटनाहरू जोडिँदै, जोडिँदै गएर एउटा पूर्णतामा जाने हो। समुन्नत समाजवादसम्म पुग्न समय लाग्छ। तर, सुशासन र सदाचारका काम हामी तत्काल गर्न सक्छौँ। दबाबमार्फत क्रोनिक क्यापिटलिजमको जुन दुस्चक्र छ त्यसलाई तोड्न हामी सक्छौँ। हामी यी कामहरू त गर्दै जान्छौँ तर, समुन्नत समाजवादसम्म पुग्नका लागि यति नै समय लाग्छ भन्न सकिँदैन। तर, जनतालाई एकखालको समृद्धिको अनुभूत हामीले छिट्टै नै गराउनेछौँ। हामी मुलुकको शासनसत्तालाई खबरदारी गर्छौं र गलत बाटोमा हिँड्नबाट रोक्छौँ। खबरदारी गर्छौं।
एमाले र माओवादी केन्द्र, जसले निर्वाचनबाट बहुमत पाए, त्यो शक्तिले राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक क्रान्तिको पालो हो भनिरहेको छ। समृद्धितर्फको यात्रा सुरु गर्ने भनिरहेको छ। तपाईंहरू अझै पनि केही कुरा बाँकी छ भन्दै हुनुहुन्छ। यो त जनतालाई अलमल पार्ने कुरा भएन र?
समृद्धि भन्ने शब्द उहाँहरूको डिक्सनरीमै थिएन। हामीले ल्याएपछि अहिले उहाँहरूले त्यसको खोल ओढिरहनुभएको छ। त्यसैलाई चोरेर भोट बैंकको रूपमा प्रयोग गर्नुभयो। उहाँहरूसँग समृद्धिको अमूर्त कुरा छ। प्रस्ट खाका छैन। हामीले यसको प्रस्ट खाका ल्याएका छौँ। यसका चार आयाम हुन्छन्–उत्पादनको वृद्धि, दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नसक्ने नीति लिनुपर्‍यो, कमसेकम २ दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नुपर्‍यो यो पहिलो सर्त नै हो। नेपालजस्तो जातीय, क्षेत्रीय, वर्गीय विविधता भएको देशमा त्यसलाई सम्बोधन गर्ने गरी समन्यायिक वितरणको नीति अबलम्बन गर्नुपर्‍यो। प्राकृतिक सम्पदाको जुन खालको दोहन भइराखेको छ यसलाई ठीक गर्न दिगो विकासको नीति अबलम्बन गर्नुपर्‍यो। आर्थिक र भौतिक सम्पदाले मात्रै सुख र शान्तिको अनुभूति गर्दैन, आत्मसुख कसरी हुन्छ भन्ने बाटो देखाउनुपर्‍यो। यी चार आयामको समग्र रूपलाई हामीले समृद्धि भनेका छौँ। तर, उनीहरूले अमूर्त कुरा गरेर जनतालाई समृद्धि भनिरहेका छन्। शब्द चोरेर मात्रै समृद्धि आउँदैन। भोट त आउलान् केही समय, तर यसले दीर्घकालीन बाटोमा लग्दैन। मुलुक समृद्ध बनाउँदैन, एकाध मानिसहरू मात्रै धनी हुन्छन्। आसेपासेलाई धनी बनाउँछ।
भनेको यो सरकारबाट केही अपेक्षा गर्न सकिन्न?
मैले भनेँ नि यो सरकारले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सक्दैन। निरन्तर दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सक्यो भने राम्रै हो। तर, उहाँहरूले सक्नुहुन्न। अर्को कुरा, जातीय, क्षेत्रीय, वर्गीय विविधतालाई सम्बोधन गर्ने गरी समन्यायिक वितरणको नीति अबलम्बन गर्न सक्नुहुन्न। अरु धेरै कुराहरूमा यो सरकार पछि रहन्छ। यो त भागबन्डाकै लागि बनेको गठबन्धन पो हो।
तर, एजेन्डा त उहाँहरूकै लोकप्रिय भयो। चुनावमा समृद्धिका थुप्रै एजेन्डा लगेको नयाँ शक्तिलाई त त्यस्तो जनमत आएन? तिनै दुई पार्टी मिलेर एउटै हुन लागिरहेका छन्, उनीहरूको पक्षमा जनमत पनि देखिन्छ के भन्नुहुन्छ? 
सुरुमा त कसले पो विश्वास गर्छ र? हामी धेरै अपेक्षा गरेर चुनावमा गएका पनि थिएनौँ। हामी सत्तामा पुग्ने उद्देश्य पनि राखेका थिएनौँ। सुरुमा त मुलुकको परिवर्तन र समृद्धिका लागि सबै शक्ति मिलेर नयाँ खालको शक्ति बनाउँदा राम्रै हुन्छ भनेर हामी पनि गठबन्धनमा जाने निर्णय गरेका थियौँ। तर, त्यो भागबन्डामा मात्रै सीमित हुने देखेपछि हामी त्यहाँबाट बाहिरियौँ। हामी भागबन्डा र सत्ताका लागि लागेका छैनौँ। हामी सत्तामा पुग्नभन्दा पनि हाम्रा कुराहरू जनतामा पुर्‍याउन र सही बाटो यो हो भनेर बुझाउने अभियानमै छौँ। हामी अहिले उहाँहरूसँग तुलना गर्न चाहन्नौँ तर, केही समयपछि अवश्य उहाँहरूभन्दा माथि हुनेछौँ। सत्ताको आडमा उहाँहरू जनताको चेतनास्तरमाथि खेलेर आउनुभयो। हिजोको साधन स्रोतमा टेकेर त्यसकै फाइदा उठाएर जनताको मत लिनुभयो। यो गलत छ। जनताले बुझ्दै जानेछन् सही के रहेछ भन्ने कुरा। अनि अर्को कुरा, एमाले र माओवादी केन्द्रको एकता। यो त दुईवटा बैंक चलाउन सकिएन भने मर्ज गरिन्छ नि, यो एकता पनि त्यस्तै हो। दुईवटा शक्ति क्षयतर्फ जान थालेपछि मर्ज भएका हुन्। गुणात्मक ढंगले नयाँ पद्धति आउँदैन। नयाँ बाटो पहिल्याउनका लागि हैन। चुनावी रूपमा त बलियो देखियो तर, यो क्षणिक हो। यसले देशको दिगो विकास गर्दैन। 
साभार थाहा खवर 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video