विचार/अन्तरवार्ता
Sep 11, 2014
एनआरएनए फेरी विभाजनको भुमरीमा

बिनोद खकुरेल 

करिब एक दशकभन्दा बढी समयदेखि समुद्रपारि बसोबास गर्ने नेपालीहरुको एक मात्र साझा संगठन एनआरएनएले विश्वभरिमा गरी लगभग ६६ वटा देशमा आफ्नै सञ्जाल फैलाउन सफल भएको छ । यस संस्थाको स्थापनाकालका पूर्वाद्र्धमा एउटा कुशल नेतृत्व पाउनु पनि आफैँमा महत्व राख्दछ । त्यसपछिका दिनहरुमा खासगरीकन यस संस्थाले हरेक दुई वर्षमा काठमाडौँमा ग्लोबल सम्मेलन गर्दा नेपाल सरकारसँग खर्चका लागि पैसा लिने र क्षेत्रीय सम्मेलनमा तडकभडकका साथमा खर्चिनुको सट्टा नेपालका गरिब दीनदुःखीहरुमाथि किन नखर्चिने भन्ने बारेमा बारम्बार प्रश्नहरु उठ्दै आएका छन् । त्यसमा पनि विशेष गरी गल्फ लगायतका खाड़ी मुलुकहरुमा ठगिएका र शोषित भएका तिनीहरु ४५ डिग्रीको तातो बालुवामाथि खजुरी टिप्दाटिप्दै मृत्युसँग मितेरी लगाइरहन बाध्य हुने ती नेपाली आमाका सन्ततिहरु किन नहून्, काम गर्ने क्रममा डोमेस्टिक भ्वाइलेन्सको चरम शिकार दिनहुँ भोगेका ती नेपाली चेलीहरू नै किन नहुन्, जो दिनहुँ आज पनि शारीरिक र मानसिक शोषणको पराकाष्टा भोगिरहेको अवस्थाले मानव इतिहासको १५ औं शताब्दीको नारीप्रति गरिने अत्याचारको पराकाष्ठाको याद दिलाउँछ ।

यिनीहरू कोही फ्याक्ट्रीमा काम गर्दागर्दै आफ्नो हात काटिएर बिना क्षतिपूर्ति नेपाल फर्किनु परिरहेको छ भने कोही वर्षौं काम गरेर तलब नपाई खाली हात फर्किनु परिरहेको छ । त्यस्तै कसैको मृत शरीर नेपाल पठाउनका निम्ति हरेक पटक व्यक्तिगत रुपमा चन्दा उठाइरहनु पर्ने स्थिति आजसम्म पनि यथावत् नै छ । हालका दिनहरूमा कतारको स्थिति अझ दयनीय बन्दै गइरहेको छ । विश्वकप फुटबल २०२२ का लागि त्यहाँ बनिरहेका स्टेडियममा नेपाली कामदारहरूले पाउने पारिश्रमिक, श्रम शोषण तथा पक्राउपछि भोग्ने चरम यातनाको शिकार भइरहेका छन् । यसरी नेपालीहरु मलेसियादेखि अरबका मरुभूमि हुँदै अफ्रिकासम्म लुटिइरहेका छन् र ठगिइरहेका नै छन् । यस्ता समस्यालाई व्यवस्थित रुपमा समाधान गर्नका लागि न त सरकारले केही गरेको छ, न त एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिबाट केही कदम उठाउन चासो देखाइएको छ ।

एनआरएनए नयाँ नेतृत्व शेष घलेको एक वर्ष पुग्न लाग्दा पनि यस सवालमा न त एक शब्द बोलेको छ न त यसले यस सवालमा साधारण काम पनि गरेको छ । उदेक लाग्ने कुरा एनआरएनएले गर्ने गरेका कैयौं क्षेत्रीय बैठकहरुमा यसको बारेमा आजसम्म ठोस नीति, कार्यक्रमहरु र चर्चासम्म नउठ्नु विडम्वना नै भन्नु पर्दछ ।

मिडियामा गफ गर्दा खाली नेपालमा सामूहिक लगानी भित्र्याउँछौँ भन्ने कुरा गर्ने तर विदेश बस्ने नेपालीको सामाजिक संस्था भए पनि तिनका सामाजिक मुद्दाहरुमा सधैं मौन बसिराख्ने । देशमा अहिले बाढीले सताइरहेको छ । जनताहरु त्यहाँ प्रकृतिसँग ठगिँदै औषधि, खानेपानी र एक गाँस खाने व्यवस्थाको समेत संघारको अवस्थामा गुज्रिरहनु परेको छ । यस्तो अवस्थामा एनआरएनको आफ्नो भूमिका कहाँ गयो त ?

प्रसंग अब यो संस्थाको संरचनाबारेमा । शेष घले अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्ष भएपछि दिन प्रतिदिन केन्द्रीय समितिमा व्यक्तिवाद हावी हुन पुगेको विश्लेषण गर्न थालिएको छ । किनकि उनी व्यावसायिक रुपमा जति सक्षम र सफल भए पनि यो संस्था चलाउन एउटा कुशलताको अभाव छरपष्ट रुपमा आज बाहिर पोखिन थालेको छ । अन्तर्राष्ट्रिय समन्वय समितिको आजसम्म एउटा पूर्ण बैठक बस्न नसकेको अवस्था छ । कार्यसमितिलाई पूर्ण रुप दिनका निम्ति मनोनित सदस्यदेखि विभिन्न देशबाट राखिएका सल्लाहकार समेत मनोनित गर्दा केन्द्रीय समितिमा बिना छलफल नै आफ्नो निर्णय लाद्ने कार्यशैलीबाट अझ संगठनभित्र विवाद र दुरी बढ्दै गएको संस्थाका विशलेषकहरु बताउँछन् । कुशल नेतृत्वको अभावमा आफ्ना कार्यसमितिका सदस्यहरुलाई उनीबाट अफिसका कामदारको रुपमा व्यवहार गरिनु दुर्भाग्यको कुरा हो ।

भनिन्छ, आज केन्द्र ‘ग्याङ अफ फाइभ’ (पाँच जनाको समूह) को अवस्थामा बदलिसकेको छ । त्यसमा जर्मनीबाट दिल गुरुङ, बेल्जियमबाट जानकी गुरुङ र युवराज गुरुङ अनि बेलायतबाट डम्बर घले र अस्ट्रेलियाबाट गणेश केसी, यिनीहरुबाट यो ग्लोबल विरासतको रथयात्रामा सवार घलेले यो संस्थालाई कहाँसम्म पुर्याउँछन् भन्ने त समयले नै बताउने छ । संस्था स्थापनाका दिनहरुमा यसको संरचनाका निम्ति अहोरात्र खटेका ती थिङ्क ट्याङ्कहरुमा डा. प्रो. सूर्य सुवेदी, रामप्रताप थापा, भीम उदास, डा. राघव धिताल, डा.गोपाल पौड्याल र देवमान हिराचनजस्ता व्यक्तिहरु आज यो संस्थामा उनीहरुको उपस्थिति र महत्व दिनप्रतिदिन समाप्त हुँदै जानुको कारण यस संस्थाको गर्भभित्र लुकेको रहस्य नै हो भन्छन् विश्लेषकहरु ।

गत महिना स्पेनको वार्सिलोनामा भएको क्षेत्रीय सम्मेलनमा बानेश्वरको शंखमूल पार्कको लागि गरिएको आर्थिक सङ्कलन प्रति घलेको उदासिनता, हालको बाढीपीडितका लागि कुनै पनि खालको अग्रसरता नदेखाउनु र संस्थापन अध्यक्ष, पूर्व अध्यक्ष र अहिलेका महासचिव कुमार पन्त लगायतबाट सुरु गरिएको आर्थिक सङ्कलनमा पनि घलेको उदासिनता, त्यस्तै अर्को समाचारअनुसार गत हप्ता उनको अमेरिका भ्रमणमा बाढीपीडितहरुको सहयोगका बारेमा कुनै पनि कुरा नगरेको र खाली एनआरएनए भवनको लागि मात्र कुरा उठाउने गरेकोमा अमेरिकाको एउटा स्टेटमा लज्जास्पद रुपमै उनको कार्यक्रम स्थगित गरिएको थियो । यस्तै, आफ्नै गृहक्षेत्र अस्ट्रेलियामा एनआरएनए एनसीसीसँगको उनको सम्बन्ध आजसम्म सुधार आउन नसक्नु, अमेरिकाको एनआरएनएको चुनावमा भएको व्यापक धाँधलीप्रति केन्द्रबाट आँखा चिम्म गर्ने वातावरण सिर्जना गर्नु, क्षेत्रीय एनआरएनएसँगका सञ्जालहरुसँग कुनै पनि खालको सम्पर्क नराख्नु, सम्बन्धित देशहरुमा जाँदा आफ्ना क्याबिनेटका साथीहरुसँग बिना सल्लाह आफ्नो पारिवारिक भ्रमणका रुपमा प्रस्तुत हुनु पनि आश्चर्य नै देखिन्छ ।

हालै मात्र स्पेनबाट आएको समाचारअनुसार, त्यहाँका नेपाली संस्थाहरूबाट एनआरएनएलाई सामूहिक वहिष्कार गरेका छन् भने नेदरल्याण्ड एनआरएनएको अधिवेसनमा कार्यसमितिका व्यक्तिबाहेक अन्यको सहभागिता बिना नै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था सिर्जना भएको, जापान एनआरएनएको आन्तरिक विवाद अहिले पनि चरम अवस्थामै गुज्रिरहेको छ ।

यस्ता खालका क्रियाकलापहरूबाट आज यो संस्था दिनप्रतिदिन गतिहीन हुँदै गइरहेको आरोप उनीप्रति लक्षित हुन थालेको छ ।

त्यसमा पनि विगतका दिनदेखि संस्थाप्रतिको एउटा गम्भिर आरोप जुन चाहिँ संस्थाको संरचना नै धनी व्यक्तिहरुको क्लब हुन थाल्यो भन्ने छ । यसको ज्वलन्त उदाहरण यही सेप्टेम्बरमा हुन थालेको जापानको क्षेत्रीय भेला जहाँ भाग लिनको निम्ति ८ सय डलर तोकिएको छ । यस प्रकारले संगठनलाई अगाडि बढाइँदा, यो भविष्यमा धनी व्यक्तिहरुको क्लबमा सीमित हुने र थुप्रै यस अभियानमा लाग्नेले ग्लोबल रूपमा नै नेपालीहरूको अर्को साझा संस्था आवश्यक ठान्नु स्वाभाविक नै देखिन्छ ।

त्यसैगरी यस संस्थाले गरेको एउटा प्रमुख आन्दोलन दोहोरो नागरिकतालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसक्नुले पनि साधारण व्यक्तिहरुको सहानुभूति संस्थाप्रति हराउँदै जानुको एउटा कारण बन्न पुगेको छ । अझ बेलायतमा त गोर्खाहरुले आफ्नै तरिकाले दोहोरो नागरिकताको आन्दोलन सुरु गर्न थालेको अवस्थामा एक लाख नेपाली बस्ने बेलायतको यस संस्थाप्रतिको सहानुभूति कुन दिशामा पुग्ने हो भन्ने बारेमा नयाँ प्रश्नचिह्न खडा भएको छ । बेलायतमा बस्ने गोर्खाहरूको आन्दोलनमा एनआरएनए बेलायतले आजसम्म सक्रिय भूमिका खेल्न नसकेको आरोप उनीहरूप्रति पहिलेदेखि नै छ । त्यसैगरी, बेलायतको सन्दर्भमा त्यहाँको ठूलो विवादलाई मिलाउन विगतका दिनमा केन्द्रको सम्पूर्ण तागत प्रयोग गरिएको थियो । र यस अभियानका महारथि उपेन्द्र महतोले लण्डनमा नै केही समय बिताएर डा. सूर्य सुवेदीको विशेष सहयोगमा सम्भव बनाएका थिए । जसअनुसार, दुई वटा अध्यक्षलाई चक्रीय प्रणालीका आधारमा मिलाइएको थियो । तर त्यहाँ पहिलो वर्षको कार्यकाल सम्हालिरहेका अध्यक्षले दोस्रो वर्ष पर्खिएर बसेका अध्यक्षलाई कार्यकाल हस्तान्तरण नगर्ने हल्लाहरु बाहिर व्यापक रूपमा आउन थालेका छन् । यसले त्यहाँ एउटा नयाँ तनाव र विवाद चरम सीमामा पुग्ने र त्यसको असर हिजोका दिनमा जस्तै गरी ग्लोबलाइज हुने बलियो सम्भावना देखिन्छ ।

विशेष सूत्रबाट प्राप्त जानकारीअनुसार, यो संस्थालाई नयाँ प्रोजेक्टको रुपमा हिजोदेखि आजसम्म एनआरएनए गतिविधिबाट असन्तुष्टहरु फेरि गत सालजस्तै ग्लोबल रुपमा नयाँ एनआरएनएको बारेमा तीव्र गतिमा छलफलहरु अघि बढाउन थालेका छन् । त्यो चाहिँ यो संस्थाको भविष्यको निम्ति अर्को दुर्भाग्यको शुरुवात नै भन्नु पर्छ । उनीहरु यसको विशेष आन्तरिक तयारी घलेकै गृहक्षेत्र अस्ट्रेलिया, संस्थाको जननी देश बेलायत र पूर्व अध्यक्षको गृहक्षेत्र जापानमा भइरहेको खुलासा हुन आएको छ । यस प्रकारको अभियानमा तीव्रता आउनु वर्तमान नेतृत्वका लागि ठूलो चुनौतिपूर्ण सावित हुने विश्लेषकहरुको दावी छ ।

गत साल यो संस्थाको फुटको ग्लोबल आँधिबेहरी त्यस बेलाका तत्कालिन नेतृत्व जीवा लामिछानेलाई साम्य पार्न हम्मे हम्मे नै परेको थियो । त्यो फुटको अपजशबाट बाहिर निस्कन लामिछाने पूर्ण रुपमा सफल भएको नै मान्नु पर्छ । अन्यथा फुटको पगरी सदाका लागि उनको शीरमा पहिरिने थियो ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video