अपांगता/अल्पसंख्यक
Sep 11, 2014
अपांगताप्रतिको गलत धारणा

लक्ष्मी खनाल

भाद्र २५ - केही समयअघि नेपाल साप्ताहिकमा छापिएको एउटा लेखको शीर्षक थियो, 'अपांग विकासे मोडल'। उक्त लेखमा प्रभावकारी हुन नसकेका विकासका केही मोडलहरूलाई 'अपांग' शीर्षक दिइएको थियो। त्यस्तै केही महिनाअघि बजेट प्रस्तुत भएपछि धेरैले उक्त बजेटलाई 'अपांग बजेट'को संज्ञा दिए। हामी कुनै असफल, अपूर्ण, असक्षम, असामान्य, कमजोर र दयालाग्दो कुरालाई प्रस्तुत गर्नुपर्‍यो भने अपांगतासँग सम्बन्धित शब्दावलीहरू प्रयोग गछार्ंै। अपांगता र अपांगता भएकाहरूलाई हामीले कमजोर विम्बको रूपमा प्रयोग गर्दै आएका छौं। कसैले केही कुरा नबुझ्दा हामी उसलाई कस्तो 'लाटो'जस्तो केही नबुझ्ने भनेर गाली गर्छौं। कोही कसैसँग ठोक्कियो भने, कस्तो 'अन्धो'जस्तो नहेरी हिँडेको भनेर झर्किन्छौं। कसैलाई बोलाउँदा अलि सुनेन भने कस्तो 'बहिरो' केही नसुनेको भन्छांै। कोही विस्तारै हिँड्यो भने के 'लंगडो'जस्तो हिँडेको भनेर खिल्ली गछार्ंै। फरक तरिकाले हिँड्ने, बोल्ने व्यक्तिको हामी मजाक उडाउँछौं। अपांगतालाई एक ठट्टा गर्ने विषय बनाउँछांै। हामीले कहिल्यै अलिकति पनि ख्याल गरेका छौं, हामीले प्रयोग गर्ने यस्ता शब्द र विम्बले अपांगता भएकाहरूको आत्मसम्मानलाई कतिको चोट पुर्‍याइरहेको छ? अपांगतालाई हामी जुन विम्बको रूपमा प्रयोग गरिरहेका छौं, के त्यो विम्ब अलिकति पनि सही र सार्थक छ भनेर हामीले कहिल्यै विचार पुर्‍याएका छौं?

हामीलाई लाग्छ, जो व्यक्ति बोल्न सक्दैन, ऊ बुझ्न र सोच्न पनि सक्दैन। तर कान नसुन्ने र बोल्न नसक्ने व्यक्ति पनि कुरा गर्न सक्छन्, बुझ्न सक्छन्, सोच्न सक्छन्। केवल उनीहरूको बोल्ने र बुझ्ने भाषा फरक हुन्छ। त्यो हो, सांकेतिक भाषा। हामी मुखले बोल्छांै, उनीहरू हातका इसाराले बोल्छन्। त्यस्तै खुट्टा नहुने व्यक्तिहरू पनि हिँड्न सक्छन्। फरक यति हो, हामी खुट्टाले हिँड्छौं, उनीहरू बैसाखी, हवलचियरमा हिँड्छन्। त्यस्तै बौद्धिक अपांगता भएकाहरू पनि बुझ्न सक्छन्, सिक्न सक्छन्। केवल उनीहरूको बुझ्ने र सिक्ने शैली हामीभन्दा फरक हुन्छ। अपांगता नभएका पनि एकअर्कामा फरक छन्। सबैको सोच्ने तरिका फरक, हिँड्ने शैली फरक, देख्ने नजर फरक, बुझाइ फरक, बोल्ने ढंग फरक। सबै फरक छन्। त्यसो हो भने कसैले भकभकाएर बोल्यो भन्दैमा, एउटा खुट्टा खोच्याएर हिँड्यो भन्दैमा, हातको भाषाले कुरा गर्‍यो भन्दैमा उसलाई मजाकको विषय बनाउनु बुद्धिमानी हुँदैन। कसैको हिँड्ने, बोल्ने, सुन्ने, बुझ्ने, देख्ने माध्यम हामीभन्दा अलि फरक भयो भन्दैमा उनीहरू असक्षम हुँदैनन्, कमजोर हुँदैनन्। अपांगता भएकाहरू पनि आफ्नो दैनिक कार्य आफैं गर्छन्। उनीहरू सक्रिय र सक्षम भएका उदाहरण हाम्रो समाजमा छैनन् र? हात नभएर खुट्टाले नै कम्प्युटर चलाउने, एक खुट्टाले नै राम्रो नाच्ने, आँखा नदेख्ने व्यक्ति पनि राम्रो शिक्षक भएका उदाहरणहरू हामीले देखेका पढेका छैनौं र? उनीहरू पनि आफ्नो जीवनमा सफल छन्। कोही व्यक्ति अपांग हुँदैमा ऊ असफल हुन्छ भन्ने हुँदैन। त्यसैले कुनै असफल, असक्षम कुरा प्रस्तुत गर्दा अपांगतालाई विम्ब बनाउनु गलत कुरा हो।

अपांगता अपूर्णता होइन। हात नहुनु, खुट्टा नहुनु, दिमाग विस्तारै चल्नु, आँखा नदेख्नु, अपूर्णताभन्दा पनि शारीरिक विविधता हुन्। मानिस पूर्ण छ कि छैन भनेर आँकलन शारीरिक अंगले मात्र गर्छ र? सिंगो मानिस हुनलाई शरीरसँगै मन, सोच, व्यवहार, बुझाइ सबै चाहिन्छ। यहाँ कोही पूर्ण छैनन्। शरीरले पूर्ण भएका सोचमा अपूर्ण छन्, शरीर र सोच दुवैमा पूर्ण भएका व्यवहारमा अपूर्ण छन्। त्यसैले केही अपूर्ण कुरा प्रस्तुत गर्दा अपांगतालाई जोड्नु मूर्खता हो। अपांगता कुनै रोग होइन र अपांगता भएका व्यक्ति बिरामी पनि होइनन्। हवलचियर प्रयोग गर्ने सबै बिरामी हुँदैनन्। अपांगता केवल एक अवस्था हो। अपांगता कुनै विशेष र असामान्य अवस्था होइन। हामीमध्ये कति टाढा,­ नजिकको देख्न नसकेर चस्मा प्रयोग गर्छौं। चस्मा प्रयोग गर्नु कुनै असामान्य कुरा हो र? त्यस्तै कोही व्यक्ति हिँड्न सक्दैनन्। त्यसैले उनीहरू हवलचियरको प्रयोग गर्छन्। हामीले चस्मा लगाउँदाचाहिँ सामान्य हुने र कसैले हवलचियर प्रयोग गर्दाचाहिँ कसरी असामान्य हुने? त्यसैले अपांगता सामान्य कुरा हो।

विश्वले अपांगता विषयलाई शिक्षा, रोजगार, स्वास्थ्य, मनोरञ्जनजस्ता विविध क्षेत्रमा समेटिसकेको बेला हामी भने बोल्ने भाषा र सोच्ने शैलीमै अडकिरहेका छौं। अपांगता भएका व्यक्तिहरू पहिले एक आम मानिस हुन्, अनिमात्र अपांग हुन् भनेर अन्तर्राष्ट्रिय स्तरमा 'पर्सन फस्ट' (व्यक्ति पहिले) को भाषा प्रयोग भइरहेको बेला हामी भने अपांगता भएका व्यक्तिलाई एक आम मानिसको रूपमा स्वीकार्नु त कता हो कता उल्टै उनीहरूलाई एक नकारात्मक र संकुचित विम्बको रूपमा प्रयोग गरिरहेका छौं।
kantipur daily



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video