मनाेरञ्जन/रोचक
Oct 03, 2018
नेपालभाषाका हास्यव्यङ्ग्य नाटकमा राजनीतिक–सामाजिक विकृति
 –गौतमबुद्ध बज्राचार्य 
काठमाडौँ, असोज 
१७ । नेपालभाषा साहित्य सरंक्षणका लागि जनस्तरबाट चासो देखाइएको छ । 
कविता, निबन्ध तथा कथाजस्ता साहित्यका विधामार्फत नेपालभाषा साहित्य क्षेत्रलाई जगेर्ना गर्दै आएको नेवार समुदायले ख्यालः(हास्यव्यङ्ग्य) मार्फत अझ तीव्रता दिएको छ यसकोे विकासमा नेवार समुदायसहित गैरनेवार समुदायको पनि सहयोग रहेको पाइन्छ । महाकवि चित्तधर हृदय र सिद्धिदास अमात्य, जनकवि दुर्गालाल श्रेष्ठ, नाटककार श्रीकृष्ण अणु र पद्यरत्न तुलाधर, पत्रकार धर्मादित्य धर्माचार्यजस्ता थुप्रै नेवार साहित्यकारको नेपालभाषाको विकासमा महत्वपूर्ण योगदान छ । साथै गैरनेवार समुदायका तर्फबाट साहित्यकार रमापतिराज शर्मा, मदनमोहन मिश्र तथा हृदयप्रसाद मिश्र आदिलाई पनि बिर्सन सकिँदैन । 
नेपालभाषा साहित्यको बलियो खम्बाका रुपमा रहेको ख्यालःमा हँसाउँदै हँसाउँदै नेपाली समाजमा भएका विकृति तथा विसङ्गतिमाथि घोचपेच गर्दै दर्शक तथा पाठकलाई भरपूर मनोरन्जन दिइएको छ । 
विभिन्न टोल तथा डबलीमा बेलाबेलामा हास्यव्यग्ययुक्त सामग्री प्रस्तुत गरिन्छ भने काठमाडौँ उपत्यकाको महत्वपूर्ण पर्व गाईजात्राभर ख्यालः प्रदर्शन हुन्छ । नेपालभाषा क्षेत्रमा ख्यालः साहित्यको विकास कहिले भयो भन्ने यकिन गर्न नसकिए पनि मल्लकालमा यसको प्रचूर विकास भएको देखिन्छ । संस्कृतिविद् डा चुन्दा बज्राचार्यका अनुसार नेपालभाषाको पहिलो पूर्णाङ्की नाटक भक्तपुरका राजा जगतप्रकाश मल्लद्वारा लिखित ‘मूलदेव शशिदेव’ हो । त्यस्तै ललितपुरका राजा सिद्धिनरसिंह मल्लले कार्तिप्याखँ आठ दिनसम्म प्रदर्शन गर्नुपर्ने व्यवस्था गरेका थिए । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका अनुसार सिद्धिनरसिँह मल्लका छोरा श्रीनिवासले भावनृत्यका रुपमा सीमित कातिप्याखँलाई बाथःप्याखँका रुपमा परिष्कार गरेका थिए । श्रीनिवासको शासनकालमा व्यङ्ग्यको प्रस्तुति एकैनासको नरहेको तर बाथः प्याखँभित्र रहेको विषयवस्तु भने एकनासको रहेको संस्कृतिविद् डा बज्राचार्यको धारणा छ । बाथः प्याखँभित्र रहेका प्रमुख ख्यालमा ‘च्वल्य मीगु’( ‘सुकू तुलीगु‘(सुकुल पट्याउने काम) ‘खुसि छिकिगु‘, ‘कलाःया ल्यवः सिनाः सति वनीगु ’(स्वास्नीको प्रेमिका मरेकामा सती जाने ) छन् । 
नेपालभाषा साहित्यको उत्थानमा ज्यापु समुदायको पनि विशेष योगदान छ । नेवार परम्परानुसार गुँपुन्ही र इन्द्रजात्राभरी प्याखँ(नृत्य) देखाउने उद्देश्यले आफ्नै पहलमा काठमाडौँ उपत्यकाका ज्यापूहरुले नाटक लेखेर टोलटोलमा देखाउने काम पनि गरे । यो नाटक ज्यापू जातिले देखाउँदै आएकाले यसलाई ज्यापू प्याखँ अथवा दबु प्याखँ पनि भनिन्छ । ज्यापु प्याखँमा तीन रस प्रधान गरेर नाटक प्रस्तुत गर्ने चलन रहेको डा बज्राचार्य बताउनुहुन्छ । घिन्तामुनि (रसिक भई नृत्य गर्ने ), मू विषयवस्तुया प्याखँ (वीर रस, करुण रस, शान्त रस) तथा चैन सिपाइया प्याखँ (हास्यरस प्रधान ) छन् । 
ख्यालः साहित्य नेवार समुदायमा निकै पुरानो भए पनि लिखित रुपमा नेपाल संवत् १०७८ मा पुण्यरत्न बज्राचार्यको ‘विवाह समिति’ नामक व्यङ्ग्य ख्यालः पहिलो पटक प्रकाशन भयो । नेपाल संवत् १०९७ मा नाटककार पद्यरत्न तुलाधरको ‘आः जितः नं तनतन दयावल’(अब मलाई पनि अलिअलि दया आयो) नामक ख्यालः नेवार समाजमा चर्चित रह्यो । यस नाटकले नेपाली समाजभित्र रहेको आर्थिक, सामाजिक र राजनीतिक विसङ्गतिलाई उजागर गरेको छ । 
नेपाल संवत् १०९७ मा नै नाटककार श्रीकृष्ण अणुको ‘खः ला मखुलाः ?’ (हो कि होइन ?) नामक ख्याल पुस्तक प्रकाशन भयो । नेपाल संवत् १०९९ मा नाटककार रामशेखरको ‘धिँताल्ल’ नामक ख्याल बाहिर आयो । तुलाधर, अणु र रामशेखर नेपाल भाषाको ख्याल क्षेत्रका त्रिमूर्तिका रुपमा स्थापित भएको संस्कृतिविद् डा बज्राचार्यको भनाइ छ । रमापतिराज शर्मा तथा मदनमोहन मिश्र नेपालभाषाका चर्चित साहित्यकार हुन् । मदनमोहनको ‘गजिगुलुया म्हगसय पशुपतिनाथ’(गाँजा तान्ने व्यक्तिको सपनामा पशुपतिनाथ) नामक ख्यालः पुस्तक लोकप्रिय छ । नेपालभाषा क्षेत्रमा हृदयप्रसादको व्यङ्ग्यात्मक साहित्य लेखन पनि उल्लेखनीय छ । 
नेपाल संवत् १०८० मा ‘न्हुम्ह जिचा भाजु ससलय् ’ (नयाँ ज्वाइँ ससुरालीमा ) नामक पहिलो पटक ख्यालः लेखेर नाटक क्षेत्रमा प्रवेश गर्नुभएका नाटककार तुलाधरका नाटकमा समाजका सानातिना विसङ्गतिका घटनासहित संविधानसभा तथा नेपालमा बारम्बार हुने विद्युत्भार कटौतीलाई व्यङ्ग्य गरिएको डा बज्राचार्य बताउनुहुन्छ । 
नेपाल संवत् ११०४ मा ‘ख्याः बछि नी बछि’ (आधी ठट्टा, आधी साँचो ) तथा नेपाल संवत् ११३५ मा ‘जिँ लातकि....’ (मैले भेट्टाएँ कि....)नामक तुलाधरको ख्यालः प्रकाशनमा आयो । नाटककार तुलाधरको ‘आः जितः नं तनतन दयावल’ नामक नाटकमा आठ ख्याल छन् भने ‘ख्याः बछि नी बछि’ मा पाँच ख्याल तथा ‘जिँ लातकि....’ मा १७ ख्याल छन् । 
नेपाल संवत् १०९५ मा पहिलो पटक सङ्कलित ख्यालः मुना ‘आः जित नं तनतन दयावल’ मा ‘ह्वाइट मार्केट‘ नेपाल भाषा ख्यालः धेँधेँ बल्ला कासा (नाटक प्रतिस्पर्धा) मा प्रथम भएको हो । त्यस्तै तुलाधरको ‘खरदारया छेँ बजेट भाषण’ (खरिदारको घरमा बजेट भाषण), ‘वा वल फय् बल‘ (पानी प¥यो हावा चल्यो ), ‘ह्येँ थकाली कि खेँ थकाली ’ (हाँस जेठो कि अण्डा जेठो ) चर्चित ख्यालः हुन् । 
ख्याः बच्छी निःबच्छि नामक दोस्रो पुस्तकमा ‘किसिया व्यापार’(हात्तीको व्यापार), जागीर चबुम्ह मनू (जागीरबाट खोसिएको मानिस ) आदि गरी पाँच ख्यालः छन् । नाटककार विजयबहादुर मल्लले नेपाल संवत् ११०४ मा लेख्नुभएको किसि न्याइम्ह मदनमान(हात्ती किन्ने मदनमान) नामक ख्यालमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सूर्यमाला शर्माको भूमिकामा रहेको ख्यालः निकै लोकप्रिय भएको थियो । 
डा बज्राचार्यका अनुसार नेपाल संवत् ११०६ मा प्रकाशित ‘राशिफल’ नामक ख्यालःमा तुलाधरले त्यसबेलाका नेपालका नेताहरुलाई व्यङ्ग्य गर्नुभएको छ । नेपाल संवत् ११०७ मा प्रकाशित ‘डा नवरसानन्द ख्यालः’मा भ्रष्ट नेतालाई व्यङ्ग्य मात्र नभई साहित्यको नवरसलाई पनि रमाइलो गरी प्रस्तुत गरिएको छ । त्यस्तै नेपाल संवत् ११०७ मा प्रकाशित ‘घुस नय्य हे मखु’ (घुस खाँदै खाँदैनौँ ) ख्यालःमा घुसखोरीका बीचमा इमान्दार मानिस ‘जोकर’ भएर बाँच्नुपर्ने अवस्थाको वर्णन गरिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video