विचार/अन्तरवार्ता
Sep 18, 2014
तिहारपछि डरलाग्दो आन्दोलन नयाँ जङ्गबहादुर को होला ?
—द्वारिकाकुमारी अधिकारी

वीपी कोइराला अहिले यतिखेर सबैका प्रशंसाका पात्र बनेका छन् । वीपी ज्यूँदो हुँदा वीपीका आमसभाहरु भाँड्न भीडमा मरेको सर्प फाल्ने, वीपीका देश दौडाहामा डाँडा डाँडाबाट ढुङ्गा लडाउने, गणेशमानलाई बाहुने पाटी हेलम्बू क्षेत्रमा पशुपति शम्शेरको कमाण्डमा र हेटौंडामा कमल थापाको कमाण्डामा अखिलहरुसँग मिलेर जुन अपमान गरे, आज त्यस्को फल सबैले भोगिरहेका छन् ।
वीपी कोइराला हुन् कि गणेशमान सिंह हुन्, उहाँहरु दुवै संवैधानिक राजतन्त्रात्मक संसदीय प्रजातन्त्रको पक्षपाती हुनुहुन्थ्यो ।
कथित मण्डलेहरु आफूहरुलाई राजावादी भनाएर पनि अर्को संस्थागत राजावादी शक्तिलाई निरन्तर लघारी रहन्थे । राजावादी शक्ति कांग्रेस भन्दा गणतन्त्रवादी कम्यूनिष्टहरु उनीहरुका लागि नजिक थिए । राजावादी नेविसंघलाई शत्रुवत् व्यवहार गर्ने र अखिलहरुलाई ज्वाँई पाले जस्तो सबै पञ्चहरुले पालेका थिए । झोले कार्यकर्ता बनाएका थिए । पञ्चायतीकाल कम्यूनिष्टहरुका लागि स्वर्ण युग थियो । अखिलरुपी चल्ला उनीहरुले निर्वाध रुपमा यही कोरल्न पाएका थिए । पञ्चहरुसँग मिलेर कांग्रेसीहरुलाई दबाउने र लखेट्ने अवसर सबैखाले वामपन्थीहरुले पाएका थिए ।
राष्ट्रिय जनमत सङ्ग्रहका बेला उनीहरुको उद्देश्य निर्दलीय व्यवस्था रहिरहोस् भन्ने थियो । यसैले पञ्च र साम्यवादी मिलेर कांग्रेसलाई निरन्तर लघारी रहन्थे । बग्गीमा हालेको घोडा जस्तो राजा दायाँ बायाँ देख्दैनथे । पञ्चहरुले कुँदाएका भरमा कुँदेका कुँद्यै हुन्थे ।
वीपीले पञ्चदेखि कांग्रेस नतर्स, कांग्रेसदेखि पञ्च नझस्क भनेर कांग्रेसीहरुलाई पञ्चायती धारमा हिंडाउन खोजेका थिए । त्यसबेला पञ्चहरुको नेता राजा थिए । वीपीले राजाको नेतृत्व स्वीकारेका थिए । पञ्चायती व्यवस्था वा पञ्चायती शब्दसँग मेरो विरोध वा विमति छैन, यदि त्यहाँ संसदीय गुण हुन्छ भने पञ्चायत हामीलाई स्वीकार्य हुनेछ भनेर भनेका थिए । वीपीको निधनपछि लोकनायक गणेशमान सिंहले पञ्चायतलाई प्रजातान्त्रिकरण गराउन वर्गीय संगठनको अनिवार्य सदस्यता खारेज गरिएमा र एउटै चुनाव चिन्ह दिइएमा पञ्चायती व्यवस्थामा प्रवेश गर्ने र चुनाव लड्ने भनेर राजासँग प्रस्ताव राखेका थिए । त्यो प्रस्ताव राजाले स्वीकारेका भए कांग्रेसीहरु पञ्चायतमा प्रवेश गरिसकेका हुन्थे । कांग्रेसीहरुले चुनाव लड्ने मौका पाएका भए २०४६ को जनआन्दोलन पनि आउने थिएन । पञ्चायत नढलेको भए माओवादी जन्मिने पनि थिए । तिनै खाँटी खाँटी निर्दलवादीहरु एकदलवादी उग्रवामपन्थी भएर निक्लेका हुन् ।
२०४६ सालको प्रजातन्त्र दिवसका दिन राजा वीरेन्द्रले वर्गीय संगठनको सदस्यता मात्रै हटाई दिएको भएपनि जनआन्दोलन हुने थिएन । रोकिने थियो । त्यसबेला राजसंस्थाले जानी जानी आफ्नो खुट्टामा आफै बञ्चरो हान्यो । पछि राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिंदा मन्त्रिपरिषदको अध्यक्ष आफू हुन हुने थिएन । यो ठूलो भूल भएको थियो । राजाबाट जुन भूल भएको थियो, २०६२÷६३ को परिवर्तनपछि फेरि गिरिजाप्रसाद कोइरालाले राजाको अधिकार पनि आफै खप्टेर जङगबहादुर भन्दापनि प्रचण्ड तानाशाही अधिनायकवादी प्रधानमन्त्री बनेका थिए । तिनै अधिनायकवादी प्रधानमन्त्री गिरिजाको निर्देशनमा संसदको सदस्य नभएको व्यक्तिले अर्थात् मनोनीत गृहमन्त्रीले संसदको कार्यसूचीबाट हटाइएको गणतन्त्रको प्रस्तावलाई चोरबाटोबाट आफैले प्रस्ताव पेश गरेर संसदमा छलफल नै नगराई तानाशाही शैलीमा पास भयो– पास भयो भनेर प्रायोजित रुपमा संसद उठेको थियो । २०६२÷६३ को आन्दोलनका नाउँमा अनमत्त भएर गिरिजाले राष्ट्रपतिको लोभमा अपवित्र गठवन्धन गरेर राजतन्त्र हटाउने जुन काम गरे, त्यो नै राष्ट्रघाती काम हो । जसका कारण पहिलो संविधानसभामा कांग्रेस–एमालेको लज्जास्पद हार भयो । यस्तै हो भने अब नयाँ जङ्गबहादुर जन्मिने छ ।
हामी राजतन्त्र हटाउन आएका होइनौं भनेर पहिलोपटक सार्वजनिक हुँदा भन्ने प्रचण्ड पछि गिरिजाको मतिमा लागेर गणतन्त्रवादी, धर्मनिरपेक्षवादी हुन पुगे । जनताले माओवादीहरुलाई फेरि रुचाएनन् । धोकेवाज भनेर दोस्रो संविधानसभाको चुनावमा पत्तासाफ गरिदिए । अझै पनि यिनीहरु सच्च्यौट भएनन् भने जुन बाटो आएका थिए, त्यही बाटो फर्किनु पर्नेछ । यिनीहरुलाई उक्साउने यिनीहरुका मालिकहरुको आधारभूमि मास्सिएको भारतमा बाम–काङ जनमतद्वारा भूमिगत जस्तै भएको छ । यस्को प्रभाव नेपालमा पनि पर्न सक्छ । ९५ प्रतिशत ॐकार परिवार भएको मुलुकबाट हिन्दुराष्ट्र हटाइएकोमा कांग्रेस र एमालेभित्रै व्यापक विरोध हुन थालेको छ । तिहारपछि हिन्दु राष्ट्रको पक्षमा कांग्रेस र एमालेहरुले नै आन्दोलन गर्ने भएका छन् । हिन्दु अधिराज्यवादी राजावादीहरुको आन्दोलन पनि सँगसँगै गाँस्सिएर आउँदैछ । प्रचण्डहरु सहितको मोहन वैद्य किरणहरुको ३३ दले मोर्चा पनि जनताको संविधानको विषय समातेर सडकमा ओर्लिने भएको छ । संविधान बन्नुभन्दा अगाडि नै ठूलो द्वन्द्व हुन्छ कि जस्तो पनि देखिदैछ ।
यो सबै समाधानको एउटै उपाय वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको निचोडमा आएको गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन सिंह, निर्मल लामा लगायतको सहमतिमा बनेको नेपाल अधिराज्यको संविधान २०४७ हो । यो संविधान पुनस्र्थापित गरिदिए सबैको जीत हुनेछ । कसैको हार हुनेछैन ।
Dibyachakshu Saptahik




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video