विचार/अन्तरवार्ता
Jan 02, 2019
प्रचण्ड र ओलीभन्दा ज्ञानेन्द्र असल (भाग दुई)

काठमाण्डौं । कुसुम भट्टराई । यो देशमा प्रचण्डको कथित जनयुद्धका नाममा १७ हजार नेपालीको अकालमा ज्यान गयो । ओलीहरुले झापा विद्रोहका नाममा सुतीरहेका ढकाल बन्धुहरुको सफाया गरे । कसैले बाँदरमुढेमा स्कुल बसमा बम पडकाए, कसैले काठमाडौंमा टेलिफोन बुथ भत्काए, मदन भण्डारीको हत्या भएको भन्ने नाममा । कसैले शिक्षकलाई जिउँदै रुखमा बाँधेर काटे अनि कसैले किरिया बसीरहेकाहरुलाई मारे । अहिले पनि नन्दराम अधिकारीको लासको सदगत हुन सकीरहेको छैन र त्यो शिक्षण अस्पतालको डिप फ्रिजमा छ । एउटा मान्छेले अनसन बस्दाबस्दै मरीसकेपछि आफ्नो सँस्कार अनुसार सतगद गर्नसमेत नपाउने गरी न्याय र दन्डहिनता मौलाएको यो गणतन्त्र हामी आम जनतालाई बोझ बनीसक्यो, घाँडो. भइसक्यो ।

आज प्रश्न उठीरहेको छ कि जनयुद्धको परिणाम खै ? सत्र हजार नेपालीको रगतलाई आज किन होली वाइनमा घोलेर पिउने काम भयो ? सत्र हजारको चिहानमा फुलेका फूलहरु टिपेर बनाइएका मालाहरु आज किन कुनै भ्रष्ट, अपराधी, माफीया र बदनाम मानिसहरुको गलामा पहि¥याउने काम भइरहेको छ ?

लाउडा र धमीजाको मुद्दा उठाएर जनताको सेन्टीमेन्ट पाइ सत्तामा जानेहरुले आज किन वाइड बडी बिमानमा साढे चार अर्ब घोटाला गरीरहेका छन् ? आजका शासकहरुको अनुहार किन सुर्यबहादुर थापाकोभन्दा भिन्न देखिदैन ? त्यो मोटो खाइलाग्दो (औषधिले फुलेको) अनुहारले टेलिभिजनमा जनताको उपहास गर्दै किन भन्छ कि ‘के निर्मला पन्तको बलात्कार मैले गरेको हुँ ?’
शासकहरुको भाषा यही हो ? नेकपाका नेता हौं भन्नेहरुको भाषा यही हो ? कमरेडहरु, मदन भण्डारीको हत्यारा खै ? ‘राजा विरेन्द्रको हत्यारा ज्ञानेन्द्रले गराएको’ भनेर कोकोहोलो मच्चाउनेहरुले खै त राजा विरेन्द्रको हत्याको छानविन गरेको ? मदनको शोक भजाएर राज्यका उच्च पदमा पुग्नेहरुले त्यो सँबेदनाको सम्मान गरेको खै ?

बरु राजा ज्ञानेन्द्र भारतसँग झुकेनन् । हामीलाई थाहा छ, हामी बुझ्छौं कि राजा ज्ञानेन्द्रले सार्कमा चिनलाई पनि पर्यवेक्षक बनाउनुपर्छ भनेर नभनेको भए भारतले राजतन्त्र ढाल्ने खेल खेल्दैनथ्यो र दुइ खम्बे नीति (सँबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र) नै मानिदिन्थ्यो । प्रचण्डहरुको जनयुद्ध बुमरयाङ हुन्थ्यो र उनीहरु विरप्पनहरुहरु झैं सकिन्थे । एमालेवालाहरु प्रतिगमन पुरै सच्चियो भन्दै राजालाई दाम राखेर ढोगिरहन्थे ।

जसरी २०४६ सालमा राजा विरेन्द्र भारत सामु झुक्न नमान्दा नाकाबन्दी लाग्यो र चन्द्रशेखर आदि इत्यादि मिलेर पंचायती व्यवस्था नै ढाले, चिनलाई पर्यवेक्षक बनाउने कुरा गर्दा ज्ञानेन्द्रसहित राजतन्त्र नै ढालियो । भारतसँग नझुक्दा नै राजतन्त्र ढालिएको हो, प्रचण्ड, गिरिजा र माकुनेहरुलाई मोहरा बनाएर ।

यो कुरा सामान्य राजनीतिको कखरा सिक्नेले पनि बुझीसकेपछि अब स्वाभिमान, स्वतन्त्रता र समृद्धिसहितको लोकतान्त्रिक व्यवस्था भनेको हिन्दु राष्ट्र, साँस्कृतिक राजतन्त्र र प्रजातन्त्र नै हो । अतः अब यो देशमा राजतन्त्र फर्काउनुपर्छ भनेर यदि म भनिरहेको छु भने यसको अर्थ म मन्डले हैन, एक सच्चा देशभक्त हुँ । किनकी लम्पसारबादी आजका महाराजा महारानीहरुभन्दा देशभक्त महाराजा धेरै असल हुन्, मेरो ठम्याईमा । 
कुसुम भट्टराई बरिष्ठ पत्रकार साथै गितकार समेत हुनुहुन्छ । यो बिचार हामीले उहाँकै फेसबुकबाट साभार गरेका हौं । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video