सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 20, 2019
नेपाल प्रहरीका डिआईजी देखि डिएसपी सम्म ८८ पद रिक्त, बढुवाका लागि दौडधुप सुरु, को को छन दौडधुपमा ?
काठमाण्डौं । माघ ६ । नेपाल प्रहरीका डिएसपी देखि डिआइजी सम्म रिक्त रहेको ८८ पदमा बढुवाका लागि दौडधुप सुरु भएको छ । सरकारले प्रहरी नियमावली संशोधन गरी इन्सपेक्टर देखि एसएसपी सम्मको बढुवाका लागि चारबर्षे कार्यअवधीको प्रावधानलाई संशोधन गरी तिन बर्ष कायम गरेपछि बढुवाका लागि दौडधुप सुरु भएको हो । नेपाल प्रहरीमा चारबर्षे सेवा अवधी रहने प्रावधानका कारण लामो समय देखि १५ एसएसपी, २७ एसपी र ४५ डिएसपीका पदहरु खाली छन् । नेपाल प्रहरीका डिआइजी सुशीलकुमार भण्डारी केहि समय अगाडी काभ्रेमा सवारी दुर्घटनामा परी निधन भएसँगै डिआइजीको एक पद समेत रिक्त रहेको छ ।
एक डिआइजीका लागि मुख्य गरेर ४ जना एसएसपी प्रतिष्पर्धामा रहेका छन् । एसएसपीको पहिलो नम्बरमा रहेका वीरेन्द्र श्रेष्ठ, दोस्रो नम्बरमा रहेका घनश्याम अर्याल, तेस्रो नम्बरमा रहेका गणेशबहादुर ऐर र पुरुषोत्तम कडेल, विश्व पोखरेल, ७ नम्बरमा रहेका वसन्त पन्त समेत डिआइजीका लागि दौडधुपमा रहेका छन् । एसएसपीको पहिलो नम्बरमा रहेका श्रेष्ठ वर्तमान आइजी सर्बेन्द्र खनालका व्याजी पनि हुन् । श्रेष्ठ कहिल्यै विवादमा नपरे पनि उनी प्रहरी संगठनमा काविल अफिसरका रूपमा भने चिनिँदैनन् । तर आइजिपी खनाल भने आफ्नो व्याजी भएकै कारण उनलाई बढुवा गराउने पक्षमा रहेको स्रोत बताउँछ । त्यसपछिका एसएसपीहरू भने विगतदेखि नै कुनै न कुनै कारणबाट चर्चामा आएका पात्रहरू छन् । 
दोस्रो नम्बरमा रहेका अर्याल यसअघि डिआइजी भइसकेका २ जनाको भन्दा उनको नम्बर बढी भए पनि पूर्वाग्रहका आधारमा बढुवा हुनबाट बञ्चीत भएका थिए त्यसपछि तेस्रो नम्बरमा रहेका गणेशबहादुर ऐर काँग्रेस सभापति शेरबहादुर देउवा देखि अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग निकै नजिक रहेको भन्दै चर्चामा छन् । पाटनको एसएसपी हुँदा दाहालसँग उनको सम्बन्ध नजिकिएको बताइन्छ । त्यसपछिका पुरुषोत्तम कडेल, विश्व पोखरेलहरूको पनि व्यापक दौडधूप रहेको छ । एसएसपी पोखरेल रक्षामन्त्री ईश्वर पोखरेलदेखि सभामुख कृष्णबहादुर महरा र अख्तियार प्रमुख नवीन घिमिरेसँग नजिक रहेका कारण उनी पनि बढुवाको दावेदारका रूपमा रहेका छन् । एसएसपीको ७ नम्बरमा रहेका वसन्त पन्त पनि बढुवाको लागि शक्तिकेन्द्र धाइरहेका छन् । पन्तलाई हालका आइजिपी सर्वेन्द्र खनालको पनि आशीर्वाद रहेको देखिन्छ तथापि आइजीले डिआइजी बनाउन सक्ने अवस्था राजनीतिक हस्तक्षेपका कारण कमै देखिएका कारण त्यति सजिलो भने छैन । 
१५ एसएसपीका लागि भने २९ जना एसपीहरूको प्रतिस्पर्धा छ । ४ वर्षे पदावधि कायमै रहेको भए फागुनसम्म बढुवा निस्कने अवस्था थिएन । ३ वर्षे गरेका कारण बढुवा प्रक्रिया सुरु भएसँगै दुई प्रतिस्पर्धी नयाँ थपिएका छन् । नियमावली संशोधनले गर्दा बढुवाको प्रतिस्पर्धामा थपिएका दुई भाग्यमानीहरूमा २८ नम्बरमा रहेका दीपक थापा र २९ नम्बरका अर्जुनचन्द ठकुरी छन् । त्यसो त दीपक थापालाई यसअघि पूर्वाग्रही ढंगले बढुवामा पछि पारिएको कुरा विभिन्न छापाहरूमा सार्वजनिक भइसकेको छ । तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालले पूर्वाग्रही ढंगले पछि पारेको आरोप यसअघि नै आइसकेको छ । प्रहरी निरीक्षकका रूपमा रहेका २३ नम्बरका थापा डिएसपीमा बढुवा हुँदा १७ नम्बरमा थिए । छर एसपी बनाउँदा भने पहिलो लटमा उनलाई छुटाएर ४ महिनापछि मात्रै एसपी बनाइएको थियो । एसएसपीका लागि प्रतिस्पर्धीहरूमा गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दिप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, मीरा चौधरी थारु, किरण बज्राचार्य, भरतबहादुर बोहरा, टेकप्रसाद राई, रवीन्द्र केसी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, उमेशराज जोशी, नरेन्द्र प्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, दुर्गा सिंह, कृष्णकुमार महत, लालमणि आचार्य, किरण राणा, भीमप्रसाद ढकाल, दीपक थापा र अर्जुनचन्द ठकुरी प्रतिस्पर्धामा छन् । गणेश रेग्मीको ३० वर्षे सेवा अवधिका कारण जागिर अवधि लामो छैन, ०७६ मा उनी अवकाश हुन्छन् । त्यसपछिका श्यामलाल ज्ञवाली नेकपा नेतृ पम्फा भुसालमार्फत् गृहमन्त्रीसमक्ष पुगेका छन् भने नेता विष्णु पौडेल, प्रदिप ज्ञवाली र शंकर पोखरेलमार्फत् पनि बढुवाका लागि पहिलो नम्बरमा आउन प्रयासरत छन् । त्यसपछिका सन्दिप भण्डारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्यलाई बोकेर हिँडिरहेका छन् । तर भैँसेपाटी निवासले भण्डारीलाई त्यति नरुचाए पनि जीवन आचार्यले बोकेका कारण उनको पल्ला भारी पहिलो नम्बरमा हुन्छ हुँदैन त्यो हेर्न बाँकी नै छ । अर्का वसन्तबहादुर कुँवरकी श्रीमती नेकपाको भ्रातृ संस्थाका रूपमा रहेको शिक्षक संगठनसँग आबद्ध भएको नेतृ भएका कारण र बालुवाटारको एक सरकारी स्कुलमा पढाउने भएका कारण उनले कृषिमन्त्री चन्द्रप्रकाश खनालदेखि तोपबहादुर रायमाझी, अख्तियारका सचिव महेश्वर न्यौपाने, प्रधानमन्त्री कार्यालयमा कार्यतर कुँवर थरका सहसचिवदेखि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसम्मलाई प्रयोग गरिरहेका छन् । १६ नम्बरमा रहेका केदार ढकाल केही महिनाअघिमात्रै काँग्रेस छोडेर नेकपामा प्रवेश गरेकी आफ्नी दोस्री श्रीमती ओमदेवी मल्लमार्फत् लागिपरेका छन् । रामदत्त जोशीले सुदूरपश्चिमका लेखराज भट्टदेखि भीम रावलसम्मलाई बोकेर हिँडिरहेका छन् । दुर्गा सिंह दाङमा बस्दाको फाइदा उठाउँदै सभामुख कृष्णबहादुर महरादेखि ऊर्जामन्त्री वर्षमान पुनसम्मलाई प्रयोग गर्दै हिँडिरहेकी छिन् भने एसपी करण राणा आफ्ना सहोदर भिनाजु एआइजी धिरु बस्नेतमार्फत् बढुवाका लागि दौडधूपमा छिन् । उता किरण वज्राचार्य पूर्वएआइजी रमेश वज्राचार्यमार्फत् शक्तिकेन्द्रमा लागिपरेकी छिन् भने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई पनि प्रयोग गरिरहेको थाहा भएको छ । सबै एसपीहरू एसएसपीका लागि आ–आफ्नो शक्ति र सामथ्र्य एवम् राजनीतिक शक्तिलाई प्रयोग गरेर दौडधूपमा सक्रिय छन् । एसपी अशोक सिंह, हृदय थापा, सुरेन्द्र मैनालीलगायतकाहरूको आगामी फागुन १९ गतेमात्रै ३ वर्ष पुग्ने भएकाले उनीहरू यस प्रतिस्पर्धामा बन्चित हुन पुगेका छन् तर पनि हाल नेपाल प्रहरी अस्पतालको प्रमुख रहेकी एआइजी दुर्गा थापामगर पुनले आफ्नो भाइ एसपी हृदय थापालाई बढुवा गराइदिनका लागि यसै साता गृहमन्त्रालयका एक उच्च अधिकारीलाई फोन गर्न सम्म भ्याएकी थिइन् तर क्राइटेरियामा नै नपरेपछि कसको के लाग्यो र ?
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video