विचार/अन्तरवार्ता
Jan 21, 2019
बिचौलियाको भूमरीमा मधेशको दल
— डा. राजेश अहिराज
धेरैपछि मुलुकले स्थिर र सबल सरकार पाएको छ । तर स्थिर सरकारका तरंग अलि बढी नै लहरिएको छ । यो किनभने जुन जोशमा राजा सन्तुष्ट र प्रशासक असन्तुष्ट हुन्छन, त्यसले देशको भलो कहिले हुँदैन, स्थिरता पनि हुँदैन । कालान्तरमा क्षणिक स्थिरता देखिएला तर त्यो स्थायी चाँही हुँदैन । 
वर्तमान दुई तिहाइको सरकारको परिणाम कामले देखाउने कुराहरू हुन् । जनताको भान्छासम्म, जनताको घरआँगनसम्म, मजदुर, किसानको मनसम्म सुधार आएको छैन । दस्तावेजमा, कानुनमा, संविधानमा, अभिव्यक्तिमा, भाषणमा र गोष्ठीमा सुधार आयो तर जनजिविकामा सुधार आएन । असमानताहरूबीच समान प्रतिस्पर्धा गराइयो भने नतिजा पनि असमान नै आउँछ । कुनै पनि प्रतिस्पर्धामा सहभागी हुने सीप, अवसर र क्षमतामै विभेद  छ भने त्यसबाट समानता आउन सक्दैन ।
सडकमा खाल्डाखुल्डी छ भने नयाँ गाडी भएर पनि त्यसले गति लिन सक्दैन । समाजमा खाल्डाखुल्डी धेरै छन् । त्यसकारण समाजले गति लिन सक्दैन । जुम्लाको एक बालकले काठमाडौंको महंगो विद्यालयमा पढेको बालकसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ ? जबसम्म स्वास्थ्य र शिक्षा समान हुँदैन तबसम्म देशको विकास हुँदैन ।
जुन देशमा उच्च र तल्लो तहको निर्माण भएर पनि मानिसहरूले राम्रो सेवा सुविधा पाएका छन्, त्यहाँका जनताको जीवनस्तर माथिल्लो हुन्छ । उनीहरू ३ महिना काम गरेर पनि वर्षभर बाँँच्ने आधार पाइरहेका हुन्छन् । विदेश भ्रमण गर्न सक्ने क्षमता आर्जन गरिरहेका हुन्छन् । तर नेपालमा  १२ महिना काम गरेर १० महिना मात्रै खान पुग्ने अवस्था छ ।
हाम्रो जस्तो देशमा स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ । हाम्रो सरकारले नुन, चामल, खसी, तेल बेच्छ तर स्वास्थ्य र शिक्षा व्यापारीको हातमा पु¥याइदिन्छ । लोककल्याणकारी मुलुकले निगरानी गर्नु पर्ने हो, आफैले व्यापार गर्ने होइन ।
यसअघि नेपालका कानुन र संविधानले मधेशीलाई काम नदिनू, दलितलाई हेला गर्नु, जनजातिलाई अवसर नदिनु भनेका थिएनन् । विभेद लेखेर गरिँदैन । नेपालीको समस्या भनेको नीतिगत होइन, नियतिगत हो । हामी अविकसित भएको होइन, अव्यवस्थित भएका हौं । हाम्रा नेताहरू दल, गुट, टुक्रे समुदाय, जात तर परिवारका लागि चिन्तित छन्  । देशका लागि चिन्तित छैनन् ।
नेपालमा गणतन्त्रसम्म आइपुग्दा राष्ट्रिय पार्टीको अध्यक्ष मै हुँ भन्नेहरूको आफ्नै गाउँमा स्वास्थ्य, शिक्षा, सडक कुनै पनि क्षेत्र राम्रो छैन । नेपालमा जनताको लागि होइन जनताको नाममा राजनीति हुन्छ । राष्ट्रिय भनिएका दलहरूको विधानमा देशलाई खण्डित गरिने गरी विधान नै तयार हुन्छन् । संविधानमा ‘नेपाली’ भन्ने मात्रै शब्द प्रयोग हुनु पथ्र्यो । तर जनजाती, खस, आदिवासी, मधेशी, मुस्लिम आदि आदि शब्द प्रयोग भए । दलहरूका विधान त्यस्तै छन् जसले नेपाली–नेपालीबीच फाटो ल्याउने गरी जनताहरूको कित्ताकाट गरिदिएको छ । यी सब पहिचानका अवयव होइनन । नेपालीको पहिचान नेपाली नै हो ।
मान्छेले कसरी सोचेको हुन्छ, त्यसमा भर पर्छ । एक नेपाली भएर सोचिन्छ भने सोच्ने व्यक्ति नेपाली मात्रै हुन्छ । जातको धर्मको रूपमा आफूलाई उसले सोच्दछ भने ऊ त्यही जाती र धर्मको मात्रै हुन्छ । सोच्ने मानिसको स्तरले पनि यी कुराहरूको निर्धारण गर्छ । राष्ट्रिय नेताले क्षेत्रीय सोच राख्ने, जातीय व्यवहार र पारिवारिक आम्दानी गर्ने हुनहुँदैन । जस्तो चित्र हुन्छ, त्यस्तै चरित्र पनि हुनुपर्छ । जस्तो पद छ, त्यस्तै भूमिका हुनुपर्छ । जस्तो मन्तव्य छ, गन्तव्य पनि त्यस्तै हुनु पर्छ । नेताहरूको न धार, न धारणा न धरातल प्रष्ट छ ।
मलाई यो कुरा भन्दा लज्जाबोध हुन्छ कि नेताहरू गुटका लागि छलफलमा जुट्छन् । दलका लागि छलफल गर्छन् र खुलेरै भन्छन् कि अब यो पार्टीलाई बलियो बनाउने हो । कसैले पनि यो देशलाई बलियो बनाउने हो कसैले भन्दैनन् । नेपालमा राष्ट्रवादीहरू धेरै भए । देशभक्त कम । राष्ट्रवाद र देशभक्ति फरक कुरा हो ।
यसअघिका सरकारहरूका कार्यशैली, बिचौलियाहरूको पहुँच, नीजि लाभ, दवाब, भ्रष्टाचार हेर्दा वर्तमान सरकार सफा छ । तर यो सरकारले बोले जति कुरा जनताको आँगनसम्म पुगेको छैन । गाउँगाउँमा सिंहदरबार भनियो, सिंहदरबार आयो आएन थाहा भएन तर गाउँगाउँमा राजारानी पुगेको भन्न थालिएको छ ।  जनताको यो गुनासो सहि हो । किनभने जनताले स्वराजको अनुभव गर्न सकेको छैन । जनताले मागेको भन्दा बिल्कुल फरक नेताहरूले दिएका छन् । नेपालका कुनै पनि भूगोलका कुनै पनि जनताले धर्मनिरपेक्ष बनाउ भनेका थिएनन् । यस्तो भताभुंगे संघीयता लागू गर पनि भनेका थिएनन् । जुन नेता र दलहरूले राजसंस्था हटाए, धर्मनिरपेक्षता लादे, जसले संघीयता लादे उनीहरूले चुनावको बेला यस्तो परिवर्तन गर्छौं भनेकै थिएनन् । सुन दिन्छु भनेका थिए लसुन दिए । नेताहरू लिडर होइन, डिलर भए ।
विगतका सरकारसँग तुलना गर्दा वर्तमान सरकार सफा छ भन्दा भन्दै विवादमा पनि फसकेको साँचो हो । किनभने यहाँ फोहोर धेरै छ । फोहोर सफा गर्नेलाई अलिअलि दाग त लागिहाल्छ । यति धेरै बौद्धिक लठैत छन् कि जति राम्रो गर्न खोजे पनि केही मानिसहरू विरोधमै बोल्छन् । कतिपय नेताहरू नियतवस पनि सरकार बदनाम गराउन लागेका छन् । उदाहरणका लागि एक वरिष्ठ अधिवक्ता भइसकेको मान्छेले यहि संविधानको विरोध ग¥यो । पछि त्यही संविधानअन्तर्गतको संसदीय व्यवस्थाको एक समितिको अध्यक्ष पनि भयो । उसले त्यसपछि ड्राइभरको तलब पनि आफैंले खायो । काठमाडौंमै घर भएर पनि घरभाडा बुझ्यो । के उसलाई कानुन  र विधिको ज्ञान थिएन होला ? मधेशका राम्रा नेताहरूले पनि सरकारको १२ हजार खाइदिएर पनि सरकारको बदनाम गरिदिएका छन् ।
वर्तमान सरकारले सुधारका प्रयास गरेको छ । पहिलेजस्तो पैसा दिएर सरूवा हुँदैन, पैसा दिएर प्रहरीमा जागिर पाइँदैन, बिचौलियाहरूले सरूवा, बढुवाका लागि क्रियाशील भएको अवस्था पनि छैन । तर पनि यो सरकारले बोलेका जति काम गर्न सकेको छैन ।
सञ्चारमन्त्री र प्रधानमन्त्री दुबैले बोलेर होइन काम गरेर सबै प्रश्नहरूको व्यवहारिक जवाफ दिनुपर्छ । बोल्न कम गर्नुपर्छ । जति पनि मानिसहरूले प्रश्न गर्छन्, त्यसको जवाफ शब्दमा होइन, कामले दिनु पर्छ । बोल्ने काम प्रवक्ता, आलोचक, प्रतिपक्षलाई दिनुपर्छ ।
जसले पिए नै नियुक्त गरेको छैन, उसलाई पनि पिएको पैसा निकासा गर्ने सरकारी कर्मचारी कस्ता हुन् ? जसले आफ्नो सम्पत्ति विवरणमा काठमाडौंमा घर छ भनेर स्पष्ट लेखेको छ, उसैलाई घरभाडा हालिदिने कर्मचारी कस्ता हुन् ? नेता मात्रै होइनन, संरचना पनि दोषी देखिएको छ । नेता हुँदैमा सबै कानुनको ज्ञाता हुँदैनन् ।
नेपालका प्रथम गणतन्त्रवादी व्यक्ति ज्ञानेन्द्र नै हुन् । जसले कुनै पनि नागरिकको हत्या नगरी आफ्नो सर्वस्व सुम्पेर हिँडे । १७ हजार मान्छे मारेर माओवादी स्थापित भए । सयौं मान्छे मारेर उपेन्द्र यादव स्थापित भए । कांँग्रेस कम्युनिष्ट सबैको पृष्ठभूमि जनता मार्ने नै छ । तर पूर्वराजाले जनता मार्नुभन्दा गद्दि नै छाडिदिए । यसले उनमा नागरिक तहमा भएको प्रेम देखाउँछ । जनताले यो कुरा बुझ्दै गएका छन् ।
कांग्रेस हिन्दुत्वको मुद्दामा फर्किए हित नै हुनेछ । कांग्रेसको एकमात्रै आधार क्षेत्र मधेशमा बाँकी छ । मधेशमा अधिकांश मानिस हिन्दू छन् । हिन्दूको कुरा गर्नुको अर्थ इसाईको विरोध गर्नु होइन । अरू धर्मको अपमान गर्नु पनि होइन । तर राप्रपा जस्तो पनि गर्नु हुँदैन । राप्रपाले हिन्दुत्वलाई ‘ताक परे तिवारी नत्र गोतामे’का रूपमा प्रयोग गरेको हो । त्यसरी चाहिँ कांग्रेसले गर्नु हुँदैन । कांग्रेसले हिन्दुत्व बोक्यो भने त्यो पार्टी समाप्त हुने भन्ने प्रचण्डको अभिव्यक्ति विचलनको संकेत हो ।
केन्द्रमा मधेशका मुद्दा भइदिएको भए क्षेत्रीय दल बन्ने नै थिएनन् । जति पनि छन् आफूलाई मधेशवादी भन्नेहरू छन्, उनीहरू मधेशको नेतृत्व गर्दैनन, प्रतिनिधित्व मात्रै गर्छन् । उनीहरू अवसरवादी राजनीतिक बिचौलिया मात्रै हुन् । त्यसैले उनीहरूबाट न मधेशको न त देशको कसैको हित हुन्छ । (मधेश दर्पण फिचर  सेवा)
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video