सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 09, 2019
फर्पिङतिर पिकनिकका नाममा जुवा
काठमाडौँ । फर्पिङ क्षेत्र यतिबेला जुवाडेहरूका लागि उर्बर र आकर्षक एवम् सुरक्षित स्थान बन्न पुगेको छ । काठमाडौँ परिसर र अपराध महाशाखाको टोली पक्राउका लागि गए पनि लामो समय लाग्ने र कुनै न कुनै रूपबाट सूचना चुहिने भएपछि जुवाडेहरू भागी सुरक्षित हुने भएकाले पनि जुवा सञ्चालक एवम् खेलाडीहरूले यतिबेला फर्पिङ क्षेत्रलाई आफ्नो सुरक्षित स्थानका लागि रूपमा रोजेका छन् ।
त्यसैले त अहिले यस क्षेत्रमा प्रायः दिनहुँजसो ठूला ठूला जुवा अखडाहरू सञ्चालन भइरहेका छन् । गेष्टहाउस, कटेज, रेष्ट्रो भाडामा लिएर खसी–बोका काटी पिकनिकको आयोजनाका नाममा ठूलो जुवा अखडा सञ्चालन भइरहेको छ । जुवा सञ्चालकहरूले फर्पिङस्थित प्रहरी प्रभागलाई मात्रै मिलाए पुग्ने भएकाले पनि यस क्षेत्रलाई उनीहरूले सुरक्षित स्थानका रूपमा रोजेको हुनसक्छन् । यो सातामात्रै तीन वटा पिकनिकको आयोजना गरी दिउँसोको समयमा म्यारिज र साँझ परेपछि ठूलो कौडाको जुवा नै भएको थियो । बढी हल्ला हुने भएपछि उनीहरूले फर्पिङ र चाल्नाखेलमा सारी सारी पिकनिकको आयोजना गरी जुवा अखडा सञ्चालन गर्दै आइरहेका छन् । यसरी जुवा खेल्न जानेहरूमा अधिकांशतः जग्गाका दलाली र कारोवारीहरू बढी छन् । केही समयअघि मात्रै जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट सरुवा भई आएका प्रहरी निरीक्षक राजाराम खड्का फर्पिङ प्रहरी प्रमुखका रूपमा कार्यरत छन् । भक्तपुर घर भएका खड्कालाई नेकपाका नेता एवम् भक्तपुर – २ का सांसद महेश बस्नेतको दबाबमा प्रहरी मुख्यालयले आकर्षकको ठाउँ मानिने फर्पिङमा सरुवा गरेको समेत परिसरस्रोत बताउँछ । २०६७ मा असईमा प्रवेश गरेका खड्काको निरीक्षक भएपछिको पहिलो कार्यालय प्रमुखको पोष्टिङ हो यो फर्पिङ । निरीक्षक खड्काले सूचना संकलनका लागि घुमुवाका रूपमा सिपाही विनय कँडेललाई परिचालन गरेको भए पनि जुवा सञ्चालकहरूले घुमुवा कँडेललाई समेत मिलाएर हो या स्वयम् कार्यालय प्रमुख खड्कालाई सेटिङ मिलाएर हो यति ठूला जुवा अखडाहरू खुलेआम पिकनिकका रूपमा सञ्चालन हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । यसैगरी एक जना जुवाडे ४५ लाख रूपैयाँ ठगी गरी भागेका छन् । सातदोबाटोस्थित आर्मीका उच्च अधिकारीद्वारा खेलाइने जुवा अखडामा नियमितरूपमा कौडा हान्न जाने सिराहा घर भएका सुरेन्द्र सिंह ४५ लाख रूपैयाँ ठगी गरी भागेका छन् । यसैबीच काठमाडौँ प्रहरीले केही महिनायता धेरै जुवा अखडाहरूमा छापामारी पक्राउ गरेर कानुनी कारवाही गरेको कुरा सार्वजनिक गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले चार महिनामा सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा १ सय ७७ जुवाडे पक्राउ गरेको छ । यसबाट बौद्ध क्षेत्र जुवाको अखडा बन्न लागेको अनुमान लगाउन सकिन्छ । वृत्तले चार महिनाको अवधिमा १ सय ७७ जुवाडेसहित २५ लाख रूपैयाँ नगदसमेत बरामद गरेको पनि जनाएको छ । २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महिनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित २४ लाख ५४ हजार ६२५ रूपैयाँ बरामद गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । भदौ १ गतेदेखि कार्यान्वयनमा आएको नयाँ मुलुकी अपराध संहितामा जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्ने पनि जेल जानुपर्ने सजाय थप गरेको भए पनि जुवा खेल्ने–खेलाउनेमा भने कमी आएको पाइँदैन । गतअसोज २६ गते काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–६ थलीबाट ६६ हजार ९०० नगदसहित मधु पौडेललगायत १५ जनाविरुद्ध बौद्ध प्रहरीले मुद्दा चलाएको थियो । सोही महिनामा गोकर्णेश्वर नगरपालिकाको बेंसीगाँउबाट ४९ हजार ९५० नगद र दिलबहादुर राईसमेत सात जनालाई पक्राउ गरी उनीहरूविरुद्ध मुद्दा चलाइएको थियो । असोज महिनामा मात्रै चार जुवाखालबाट दुई लाख ८२ हजार ३९५ रूपैयाँ नगदसहित ३५ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बौद्धले मुद्दा चलाएको हो । त्यस्तै कात्तिक महिनामा काठमाडौँको बौद्ध परिसरभित्रका विभिन्न होटेल तथा जुवाखालबाट सादा पोशाकमा खटिएका तथा प्रहरी अधिकृतसहितको टोली ६ लाख १६ हजार ८२५ रूपैयाँ बरामद गर्नुको साथै ५९ जना जुवाडेलाई पक्राउ गरी मुद्दा चलाएको थियो । कपन र टाउन प्लानिङको क्षेत्रमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले मङ्सिर महिनामा दुई जुवा खालबाट ६ लाख तीन हजार ९८० रूपैयाँसहित २१ जनालाई पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै पुस महिनामा दुई जुवाखालबाट प्रहरीले २८ जुवाडेसहित बौद्ध फूलबारी र थलीबाट सात लाख ५० हजार ७५५ रूपैयाँ बारमद गरेको थियो । पक्राउ परेकाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए । चालु माघ महिनाको हालसम्ममा ३४ जुवाडे पक्राउ परेका छन् भने उनीहरूबाट दुई लाख ६७० रूपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेबित्तिकै थप अनुसन्धानपश्चात् म्याद थप गरी मुद्दा दर्ता गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । चन्दले भने, ‘जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई कारवाही गरिनेछ ।’ कानूनीरूपमा सो कार्यमा संलग्न रहेकालाई समेत कारवाही गरिने व्यवस्था रहेको उनले भने । बौद्ध क्षेत्रबाट महानगरीय प्रहरी वृत्त बौद्धले १६ वटा मुद्दा चलाएको हो भने प्रहरी परिसर टेकुले एक मुद्दा चलाएको छ । होटेल तथा रेस्टुराँलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घर–घरमा जम्मा भएर जुवा खेल्ने गरेको पाइएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक मीनबहादुर कुँवरले बताए । गोप्य सूचनाको आधारमा घरघरमा गएर पनि प्रहरीले जुवाडेको अखडामा छापा मार्ने गरेको छ । पछिल्लो समय घरबाटै अधिकांश जुवाडे पक्राउ पर्ने गरेको तथ्याङ्क रहेको कुँवरले जानकारी दिए । महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरीचौकी नाङ्लेभारेले गतशनिवार काठमाडौँ चापकोबोटबाट १२ जुवाडे पक्राउ गरेको थियो । उनीहरू अधिकांश ५० वर्ष नाघेका रहेका छन् । बजार केन्द्रित जुवा अहिले विस्तारै बजारबाट काठमाडौँको विभिन्न गाउँ क्षेत्रतिर सर्दै गएको प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए । अधिकांश जुवा सञ्चालकहरूले कार्यालय प्रमुखभन्दा पनि कार्यालय प्रमुखले रकम उठाउनका लागि परिचालन गरेका घुमुवाहरूलाई प्रयोग गरी जुवा सञ्चालन गर्दै आएका छन् ।
 NawaJanaprahar


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video