विचार/अन्तरवार्ता
Oct 05, 2014
दसैं र देवी पूजन

भेषराज पोखरेल

दसैं हिन्दुहरूको ठूलो चाड हो । हिन्दुहरूको साझा चाड हुनाले यसले यो समाजभित्रका सबै पक्षसँग साइनो गाँस्छ । धनी, गरिब आर्थिक, सामाजिक, धार्मिक सबै पक्षलाई यसले प्रभाव पार्छ । राम्रो लाउने, राम्रो खाने चाड भएकाले केटाकेटीदेखि वृद्धवृद्धालाई आवश्यकीय परिधान पाइने बजार तात्ने भइनै हाले । गरिबले पुराना लुगा फालेर नयाँ लाउन दसैं नै कुरेर बसेका हुन्छन् भने धनीले आफ्नो रवाफ देखाउने साझा चाड पनि दसैं नै हो । खानेकुराको बजारमा चहलपहल त हुने नै भयो । यसका सामाजिक पक्ष पनि बलिया छन् नै धार्मिक पक्ष अझ बलियो छ । सबैले घटस्थापना गरेर जमरा राखी नौ दिनसम्म दुर्गादेवीको पूजापाठ गर्ने धार्मिक परम्परा छ । चण्डी पाठ यो बेलाको अति चल्तीको अनुष्ठान हो । अझ देवीका मन्दिरहरूमा शंख, घण्टको ध्वनि, नगराको थर्को जहाँतहीँबाट गुञ्जिनु दसैंका बेला समान्य हो । नेपालको तराई क्षेत्रमा पुराणमा वर्णन भएअनुसार देवीका विभिन्न रूपका माटाका मूर्ति बनाएर पूजा गर्ने परम्परा छ ।

दसैंका बेला यति महत्त्वका साथ पूजा गरिने देवीका बारेमा पुराण आदिमा वर्णन भएका छन् । सतत रूपमा पूजा त हुँदै आएको छ तर नयाँ पुस्तामा यसको कमै जानकारी भएको देखिएको छ । अझ अहिलेको कार्यमूलक शिक्षा लिने पुस्ताले यसलाई धार्मिक कम, रमाइलो बढीका रूपमा मात्रै लिनथालेको देखिएको छ । नेपालमा त लेख्य रूपमा देवीको वर्णन भएभन्दा पनि आफ्नै खालका परम्परा पनि छन् । पहाडका थुम्का-थुम्कामा देवीथानहरू स्थापना भएका छन् । दसैंभरि पुजारी मन्दिरमै शुद्ध भोजन गरेर व्रतकै रूपमा बस्ने चलन छ । प्रायः सबै मन्दिरमा बलि दिइन्छ । अति गरिबले पनि आफ्नो जीवन सुखमय होस्, आफ्नो काम फलिफाप होस्, आफ्नो गरिबी हटोस्, वस्तुभाउ राम्रा होउन्, बालबच्चा स्वस्थ होउन् भनेर देवीका मन्दिरमा भकल गर्ने र बलि दिने चलन छ । यो सामान्य आस्थामात्रै नभएर अति गहिरो रूपमा सामाजिक, मानसिक तथा आर्थिक पक्षसँग पनि त्यति नै बलियोसँग जोडिएको छ । बलि भारतको असम र पश्चिम बंगालमा पनि चल्छ, अन्य स्थानमा भने कमै चल्छ । यो शाक्तहरूको विशेष अनुष्ठान हो । तन्त्रशास्त्रले पनि बलिलाई ग्राह्य मानेको छ । नेपालीहरू शाक्त विशेष नभए पनि तन्त्रका अनुयायी भने हुन् । नेपाल मुख्य रूपमा शिव-पार्वती क्षेत्र भएकाले तन्त्रशास्त्र अनुसारको जीवनचर्या बढी चल्छ । त्यही भएर होला यहाँका सबै जातिले पहिलेदेखि बलि दिंदै आएका । मार्कण्य पुराणअनुसार अति बलिष्ठ महिषासुर राक्षसले आतंक मच्चाइरहेका बेला उसलाई नष्ट गर्न देवताहरू एकठ्ठा भएर सबैले आ-आफ्नो शक्ति प्रदान गरी संयुक्त शक्तिका रूपमा दुर्गादेवीको उत्पत्ति भएको हो ।

नेपालमा देवीको पूजा गर्ने चलन र परम्परागत मान्यता ठाउँअनुसार फरक-फरक छन् । काठमाडौं उपत्यकामा भैरव र काली शक्तिलाई पूजा गर्ने चलन छ । यी देवदेवीको पूजा तान्त्रिक विधिद्वारा गरिन्छ । सहिदगेट नजिक रहेको भद्रकाली देवीलाई तान्त्रिक विधिद्वारा भारतको असमबाट ल्याइएको हो । त्यस्तै तलेजु भवानीलाई भारतको मध्यप्रदेशबाट ल्याइएको जनश्रुति छ । काठमाडौंमा रहेका प्रायः अन्य पीठहरूमा पनि बलि दिइन्छ । नेपालमा सबै देवी पीठहरूलाई पुराणअनुसार नै लिने गरिन्छ, तर नेपालको पहाडी क्षेत्रमा स्थापना गरिएका देवीथानहरू अन्यत्रको भन्दा फरक छ । विभिन्न स्थानमा जुनसुकै जातिका भए पनि शुद्ध आत्मा मानिएका नारी बितेपछि देवीका रूपमा प्रकट भएको मानिन्छ । यस्ता देवीस्थानहरूमा दक्षिणकाली, मनकामना, चुरियमाई, गडीमाई, सुपादेउराली, पाथीभरा, गडीमाई, दाउन्नेदेवी जस्ता अनेकौं देवीस्थान छन् । यी सबै देवीस्थानमा तान्त्रिक विधिद्वरा नै पूजाआजा गरिन्छ । यी क्षेत्रमा बलि नै प्रमुख पूजा मानिन्छ । यो परम्परा नेपालको मौलिक हो । यी क्षेत्रले सबै जातजातिलाई एकतामा बाँधेका छन् । कुनै ठाउँमा मगर पुजारी छन्, कुनै ठाउँमा क्षत्री पुजारी छन्, कुनैमा बाहुन पुजारी छन् भने कुनैमा अरू जाति नै पुजारी छन् । जुन जातिका पुजारी भए पनि सबै अन्य जातिले पूर्ण आस्थाका साथ श्रद्धा व्यक्त गरेका हुन्छन् ।

देवी सबै शक्ति एक भएकी संयुक्त शक्ति हुन् र सबैतिर व्याप्त छन् भनेर पुराणले भनेकै छ । यी महिला पवित्र आत्मा पनि उनै देवीका अंश भए नै ।

दसैंमा बलि चढाउने चलन नेपालमा बढी छ । यो परम्परालाई ठीक र बेठीक दुवै दृष्टिले हेर्ने गरिएको छ । यसलाई सबैले यथार्थ जानकारी लिनु आवश्यक छ । देवी सबै देवशक्तिकी समन्वित शक्ति हुन् । यिनी सबैकी मातृशक्ति हुन् । सबै प्राणी र प्रकृति पनि यिनैका सन्तान हुन् । पुराणले जहाँतहीं यही भनेको छ । सबै प्राणीकी साझा माताले कुनै एउटा सन्तानलाई फइदा दिन वा आफ्नो शरीर पुष्टिका लागि अर्को सन्तानको रगत कसरी खालिन् ? उनको त शरीर नै संसार हो, उनी निराकार पनि हुन्, त्यस्ती देवीलाई बोका, राँगा, हाँस, कुखुराजस्ता निरीह प्राणीको रगत, मासुको के अर्थ रहला ? यावत् सबै कुरा आफ्नै भएकाको पराई को रहन्छ र ? यो वैदिक मत हो । यसले पहिले आफूलाई ठीक गर, मनलाई शुद्ध गर, देवी शक्तिको ध्यान गरेर आफूलाई एकाकार गर, त्यसले सतशक्ति प्राप्त हुन्छ भन्छ । यो सतपथ हो ।

अर्को बलि दिने तान्त्रिक पथ हो । यो उन्मुक्त नभएर बद्धपथ मानिन्छ तर मानिस सबै उन्मुक्तपथमा हिंडिरहन सक्दैनन् । शक्ति प्राप्त गर्ने, काम गर्ने, आर्जन गर्ने, उपभोग गर्ने, आफूले प्रयोग गर्ने वस्तु आफ्ना पूज्य देवदेवीलाई चढाएर सन्तुष्ट हुन पनि त पाइन्छ । अनन्त मुक्तिको बाटो खोज्न सकिएन भने क्षणिक लाभको बाटो खोज्न त सकिन्छ । सबै मुक्ति नै हुन्छन् भन्ने पनि त छैन, क्षणिक भए पनि सन्तुष्ट त भइन्छ, यो त्यही बाटो हो । यो बाटो जस्तो भए पनि नेपालमा भने यसले सबै जातजातिलाई जोडेको छ । यसलाई तत्कालै कम गर्न त सकिंदैन तर ज्ञान मार्गलाई बढाएर क्रमशः कम गर्दै लैजान सकिन्छ ।

बलिलाई कम गर्न नसकिने कुरै छैन, त्यसका लागि हाम्रो संस्कारका यावत् पक्षबारे जसलाई ज्ञान छ, उनीहरू पनि गम्भीर हुनु आवश्यक छ । बलि हिंसा हो, हिंसाका अन्य यावत् पक्षलाई अपनाउने तर बलि त्यागेंँ भन्नुको पनि त कुनै अर्थ रहन्न । घरमा खसी, बोका, राँगा, कुखुरा काटेर खानु पनि हिंसा हो । अझ आजभोलि सामान्यजस्तै लिइने जाँड, रक्सी सेवन गरेर सम्पत्ति गुमाउने, श्रीमती, दिदीबहिनी तथा अन्यलाई मानसिक चोट पुर्‍याउनु हिंसा नै हो । यसलाई पनि पूर्वीय दर्शन हिंसा भन्छ । यस्ता कुसंस्कारलाई त्याग्न सबै लाग्नु आवश्यक छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video