स्थानीय सरकार
Mar 24, 2019
प्रदेशसभाको बैठकमा सरकारका कामप्रति असन्तुष्टि
धनगढी, चैत १० सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले प्रदेश सकार गठन भएको एक वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार काम किन हुन नसकेको भनी सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभा भवन धनगढीमा आज बसेको बैठकको विषेश समयमा बोल्ने सत्ता पक्ष र प्रतिपक्षका सदस्यहरुले जनअपेक्षाअनुसार काम गर्न नसके व्यवस्थाप्रति नै वितृष्णा आउनेतर्फ समयमै ध्यान दिन सरकारलाई सचेत गराउनुभएको छ ।

सदस्यहरुले जनसरोकारका विषयमा संसद्मा नियमित रुपमा आवाज उठाइने गरिएको भए पनि अहिलेसम्म जवाफ नआएको भन्दै सरकारका काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँहरुले दैवीप्रकोपबाट पीडित प्रदेशका बासिन्दालाई अहिलेसम्म राहत किन दिन नसकेको भनी प्रश्नसमेत गर्नुभयो । प्रदेशसभा सदस्यहरुले चिकित्सकको लापरवाहीले सेती अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको भन्ने घटनाको विषयमा गम्भीर हुन, प्रदेशका महिलालाई सशक्त बनाउने लक्ष्यका साथ ल्याइएको कार्यक्रम गैरसरकारी संस्थामार्फत सञ्चालन नगर्न, हालै धनगढीमा भएको मुख्यमन्त्री कपअन्तर प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा भएको खर्च विवरण सार्वजनिक गर्न, राजनीतिक आस्थाका आधारमा कर्मचारी समायोजन नगर्न, सङ्घीय सरकार मातहत रहेका योजनाको कार्यान्वयनका लागि बजेटको व्यवस्थाको पहल गर्न, किसानलाई समयमै उन्नत बीउबिजनको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो ।

विषेश समयमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्णा जोशी, महेशदत्त जोशी र हर्कबहादुर कुँवर, प्रतिपक्ष नेपाली काङ्ग्रेसका डिल्लीराज पन्त, कर्णबहादुर मल्ल र राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले बोल्नुभएको थियो । सभामुख अर्जुनबहादुर थापाले विषेश समयमा उठेका प्रश्नको एक हप्ताभित्र जवाफ दिने गरी सम्बन्धित मन्त्रीलाई पत्राचार गर्न प्रदेशसभा सचिवालयलाई निर्देश गर्नुभयो । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

बैठकमा प्रदेशसभा, विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले समितिमा दफावार छलफल भई तयार भएको सुदूरपश्चिम प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अर्को बैठक यही चैत १२ गते दिउँसो २ बजे बस्ने छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video