मनाेरञ्जन/रोचक
May 05, 2019
आलेख ः ६ वर्ष भयो विन्दवासिनीले आँखा नचिम्लेको !

– रिपेश दाहाल हेटौँडा , वैशाख २२ सानै उमेरमा चोट, हण्डर र ठक्करको सामना गर्न पुगेकी विन्दवासिनी कंसाकारलाई मास्क, स्कार्फ, चश्मा अनि, क्याप लगाएर हेटाँैंडाको सडकमा हिँड्दा धेरैले दोहो¥याएर वा तेहे¥याएर हेर्ने गर्छन् । कतिपयले दयाभाव देखाउँछन्, चुकचुकाउँछन् र सहानुभूति पनि दिन्छन् तर, विन्दवासिनीलाई न त दयाभाव चाहिएको छ, न सहानुभूति । आत्मविश्वाससहित लक्ष्य प्राप्तिका लागि यात्रारत विन्दवासिनीलाई चाहिएको छ त केवल ‘न्याय’ । एक भारतीय नागरिकको विवाहको प्रस्ताव अस्वीकार गर्दा ६ वर्ष अघि तेजाब आक्रमणमा परी शारीरिक एवं मानसिक चोटले गम्भीर बनेकी विन्दवासिनी न्याय प्राप्तिको लडाइँ लडिरहनु भएको छ । “फूपुको छोराको मिल्ने साथीको रुपमा परिचय भएको भारतीय नागरिक राज केशरीसँग विन्दवासिनीको पहिलो भेट उही फूपुको छोरोकै विवाहमा भएको थियो । त्यसपछि कहिलेकाहीँ फाट्टफुट्ट भेट भइरहने केशरी फूपुको घरमा बरोबर आइरहन्थ्यो । महिला त्यसमा पनि केटीहरुसँग अलि बढी नै नजिकिन खोज्ने केशरी त्यसपछि भने हेटाँैंडाको मेनरोडमा अवस्थित विन्दवासिनीको पसलमा पनि आउन थाल्यो । कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउने गर्न थाल्यो । अनावश्यक फोन कलहरु गर्न थाल्यो । फोनबाटै प्रेम प्रस्ताव राख्न भ्याएको केशरीले एक दिन त विन्दवासिनीलाई विवाहको प्रस्ताव समेत राख्यो । आफूसँग विवाह गरे रानी बनाएर राख्ने आश्वासन दिने केशरीलाई विन्दवासिनीले विवाह गर्न नसक्ने जवाफ दिनुभयो र सम्झाउने प्रयास गर्नुभयो । केशरीले भने त्यही रुपमा प्रस्तुत भइरह्यो । केशरीले दैनिकी नै असर पार्ने गरी पटक पटक भेट्ने र विवाहको प्रस्ताव स्वीकार्न बाध्य पार्न थालेपछि विन्दवासिनीले सबै कुरा आफ्नो परिवारमा राखिन् । भोलि पल्ट बिहानै पसलमा बसिरहेकी विन्दवासिनीलाई भेट्न आएका केशरीलाई बुबा मधुसूदनले राम्रैसँग सम्झाए । त्यतिखेर सबै कुरा सम्झे झैं गरेर पसलबाट बाहिरिएको केशरी उसको मिल्ने साथी अर्थात् विन्दवासिनीको फूपुको छोरासँग मेलामा स्टल राख्न चितवन गयो । विसं २०७० वैशाख ९ गते घरमा रमाइलो थियो । आमाबुबाको विवाह बन्धनमा बाँधिएको दिन भब्यसँग मनाउने तयारी हँुदै थियो । विन्दवासिनी पसलमा बसिरहेकी थिइन् । एकाएक पसल अगाडि केशरी देखाप¥यो । विन्दवासिनीले नदेखेझै गरिन् । हातमा महको बट्टा बोकेको केशरी हँसिलो अनुहार पारेर फेरि कतै हरायो । एक्कै छिन पछि फेरि हातमा त्यही महको बट्टा बोकेर पसलको टेबलमै आयो । “यो मह घरमा देउ ल ?” यति भनेर उसले बिर्को खोल्यो । के गर्ने ? कसो गर्ने ? असमञ्जस्यमा परेकी विन्दवासिनीले केही सोच्नै नपाइकन त्यो मह भनिएको वस्तु अनुहारतिर छ्यापेर केशरी त्यहाँबाट भाग्यो । आफूतर्फ छ्यापिएको वस्तुलाई मह नै सम्झेकी विन्दवासिनी भत्भती पोल्न थालेपछि चिच्याउन थालिन् । विन्दवासिनीको चिच्चाहट सुनेर बुबा, आमा, दाइ आत्तिदै आए । छोरीको अनुहारमा कसैले तेजाब खन्याइदिएको थाहा पाएका बाबुले रुँदै कराउँदै पानी खन्याउन थाले । अत्तालिएका मधुसूदनले छोरीको जिउमा ट्यांकी रितिउञ्जेलसम्म पानी खन्याए । कक्षा १२ मा अध्ययनरत १९ वर्र्षीया विन्दवासिनीको त्यस दिनदेखिको तीन वर्ष नेपाल तथा भारतका विभिन्न अस्पतालहरुमा बित्यो भने आजसम्म पनि उपचार जारी नै छ । उपचारमा झण्डै साठी लाख रुपैयाँ खर्च भइसक्यो । सुन्दर भविष्यको कल्पना सहित सफलता तर्फ दौडिरहेको दैनिकी एकाएक रोदन र छटपटाहटमा परिणत भयो । दाइको साथीको रुपमा परिचय भएर आएको व्यक्ति नै आफ्नो जीवनको सबैभन्दा ठूलो पीडाको कारक बनेपछि विगतदेखि नै न्याय माग्दै आएकी कंसाकारले आँखा चिम्लेर ननिदाएको ६ वर्ष भयो । केशरीले तेजाब खन्याएर बेपत्ता भएपछि पाँच वटा नारी दिवशहरु मनाइए, महिला हिंसा विरुद्धका थुप्रै अभियान र कार्यक्रमहरु भए । तर, यो अवधिमा न त केशरी पक्राउ परे न त विन्दवासिनीले न्याय प्राप्त गर्ने आधार तय भयो । विन्दवासिनीका अनुसार तेजाबले अनुहार, छाती र शरीरका कतिपय अङ्गहरु जलाएपछि उपचारमा लाखौं खर्च भयो, धेरै हदसम्म निको पनि भयो तर, तेजाबले खाएर च्यातिएको आँखाको डिल नजोडिँदा आँखा चिम्लिन वा झिम्क्याउन मिल्दैन । विन्दवासिनीले भन्नुभयो – “त्यो मात्रै होइन । तेजाबले दिएको पीडा त, कति छ कति ? त्यो भन्दा ठूलो पीडा त अहिलेसम्म दोषी पत्ता लागेर पनि पक्राउ नपर्नु हो ।” जति पटक प्रहरी कार्यालयमा जाँदा पनि भारतमा भएर पक्राउ गर्न नमिलेको जवाफले आफू दिक्क भएको उहाँको गुनासो छ । प्रहरी सन्धि सम्झौताका कारण पक्राउ गर्न मिल्दैन भन्छन् । “अपराधीलाई समेत पक्राउ गर्न नमिल्ने कस्तो खालको सम्झौता हो ?,” उहाँ प्रश्न गर्नुहुन्छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह भने केशरीलाई पक्राउ गर्न प्रहरी प्रयासरत रहेको बताउनुहुन्छ । भारतीय प्रहरीसँग समन्वय भइरहेको छ । इन्टरपोल मार्फत रेडकर्नर नोटिस समेत जारी भएको छ । भारतीय प्रहरीले उसको खोजी शुरु गरेको छ । विगतमा भारतीय नागरिक र उसकै देशमा लुकिरहेका कारण केही समस्या भए पनि अब चाँडै नै हामी उसलाई पक्रन सफल हुन्छौं,” उहाँले भन्नुभयो । सफल व्यवसायी र समाजसेवी बन्ने लक्ष्य लिएकी विन्दवासिनीको तेजाबले खाएको ठाउँमा दैनिक लगाउनुपर्ने क्रिम तथा आँखामा लगाउने ड्रप लगायतका औषधिको मासिक खर्च २० हजार रुपैयाँ जति छ । वाणिज्यमा स्नातक गरेकी विन्दवासिनीलाई सरकारले न्यायसँगै तेजाब पीडितहरुका लागि समाजमा स्थापित हुन अन्य सहयोग गरोस् भन्ने लागेको छ । अहिलेसम्म सरकारका तर्फबाट कुनै सहयोग नपाएकी विन्दवासिनी देशमा न्याय मरेको छैन भन्ने प्रमाणित गर्न सबै भन्दा पहिले दोषीलाई पक्राउ गरोस् भन्ने चाहनुहुन्छ । तेजाब आक्रमण गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्ने माग राख्ने उहाँ तेजाबको सहज बिक्री वितरणलाई नियन्त्रण गर्नुपर्ने बताउनुहुन्छ । आक्रमणका आरोपित केशरी भारत विहार घर भई हेटाँैंडामा व्यापार गरेर बस्थे । केशरीसँग केही समय सङ्गत गर्नुभएकी एक महिलाको भनाइअनुसार आफूलाई नेपाली चलचित्रको कलाकारसमेत बताउने केशरी चतुर र विपरीत लिङ्गीको सवालमा अलि बढी नै लहसिने स्वभावका थिए । नाम नबताउने शर्तमा उहाँले भन्नुभयो – “ऊ आफूलाई निक्कै स्मार्ट देखाउन खोज्थे । कुनै न कुनै निहुँ बनाएर केटीहरुसँग नजिकिन खोज्ने बानी भएको मान्छे थियो ऊ । ठूलै अपराधी पो रहेछ !” –––




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video