अर्थतन्त्र/सेयरबजार
Jul 05, 2019
विनियोजन र आर्थिक विधेयक पारित
कामाण्डौ, असार २० गण्डकी प्रदेशसभाको आज बसेको बैठकले विनियोजन र आर्थिक विधेयक, २०७६ बहुमतले पारित गरेको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले छुट्टाछुट्टैरुपमा विनियोजन विधेयक र आर्थिक विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले बहुमतका आधारमा पारित गरेको हो । बैठकमा प्रदेशसभा सदस्य दीपक कोइरालाले बजेटले राजश्व सङ्कलन र करको दायरा फराकिलो बनाउँदै लैजाने अपेक्षाअनुरुप समृद्धि र विकासमा लक्षित भएको बताउनुभयो । अर्का सदस्य मणिभद्र शर्माले जनताले तिरेको करबाट उनीहरुले आफू लाभान्वित भएको अनुभूति गर्नुपर्ने बताउँदै आर्थिक पारदर्शिता हुने गरी लक्षित योजना कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले यही असार १ गते आर्थिक विधेयक २०७६ प्रस्तुत गर्नुभएको थियो भने असार ५ गते विनियोजन विधेयक २०७६ सभामा प्रस्तुत गर्नुभएको थियो । विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित बजेट सम्बन्धमा छुट्टाछुट्टै छलफल भएका थिए । आजैका बैठकमा विनियोजन विधेयकअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विनियोजित बजेट सम्बन्धमा सदस्यबाट उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सन्तुलित एवम् समानुपातिक रुपमा बजेट विनियोजन भएको बताउनुभयो । प्रदेशको समृद्धि र विकास सरकारको लक्ष्य रहेको बताउँदै आगामी दिनमा बजेटको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकताका साथ बढाइने उहाँले बताउनुभयो । परिवर्तित सन्दर्भमा जनप्रतिनिधि पनि समयसापेक्ष दक्ष हुनुपर्ने औँल्याउँदै उहाँले बजेटमा तालीम तथा प्रशिक्षण केन्द्रित कार्यक्रमका साथै भौतिक पूर्वाधार निर्माणका कामलाई अघि सारिएको उल्लेख गर्नुभयो । विकास निर्माणका कामको प्रभावकारिताका लागि योजना सञ्चालनसँगै नियमित अनुगमन आवश्यक भएकोमा जोड दिँदै मुख्यमन्त्री गुरुङले सरकारले अनुगमन र मुल्याङ्कनलाई त्यही अनुरुपमा बढाउने धारणा राख्नुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video