समाज
Jul 27, 2019
पञ्चेबाजाले चिनिएको धौलागिरि
– काशीराम शर्मा
बाँके,  साउन ११
युवापुस्ताले चासो नदिँदा परम्परागतरुपमा चलनचल्तीमा आएको पञ्चेबाजा बजाउने चलन लोप हँुदै गएको छ । विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा लोपोन्मुख अवस्थामा छ । नयाँपुस्तामा सीप हस्तान्तरण नभएका कारण पञ्चेबाजा लोप हँुदै गएको हो । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाबुबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको छ । जाने बुझेदेखि नै पञ्चेबाजा बजाउन थाले पनि उमेर ढल्केपछि बजाउन छाड्ने गरेका छन् । विवाह, गाउँघरमा हुने विभिन्न शुभकार्य तथा सांस्कृतिक कार्यक्रममा पञ्चेबाजासँगै पुरानो कला–संस्कृति हराउन थालेको छ । नौमती पञ्चेबाजा हिजोआज शहरी क्षेत्रमा मात्रै होइन पहाडी क्षेत्रमा समेत लोप हुँदैछ । कला–संस्कृति लोप हँुदै जाँदा पञ्चेबाजाको अस्तित्व नै मेटिन थालेको छ । ट्याम्को, झुर्मा, ढोलक, नरसिंहा, कर्नाल र विकुलजस्ता बाजामात्रै होइन बजाउने व्यक्तिसमेत पाइन छाडेका छन् । कला र सीप स्थानीयस्तरमा मात्र सीमित रहँदा धेरैले बाजा बजाउन छाडिसके । गाउँघरमा कमै मात्रामा पञ्चेबाजा बजेको आवाज सुन्न पाइन्छ । गाउँघरमा पहिलेजस्तो पञ्चेबाजाप्रति त्यति आकर्षण देखिँदैन । मौलिक पहिचान बोकेको कला–संस्कृतिको संरक्षण नहँुदा अस्तित्व नै मेटिन थालेपछि चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न भन्दै बाँकेको खजुरा गाउँपालिका–२ धौलागिरिका स्थानीयवासी पञ्चेबाजा संरक्षणसँगै प्रचारप्रसारमा जुटेका छन् । खजुराको पञ्चेबाजा समूह छिमेकी जिल्ल्लामा समेत चिनिन्छ । खजुरा गाउँपालिका–३ धौलागिरि गाउँका बासिन्दा धौलागिरि अञ्चलबाट बसाइँसराइ गरेर आएका हुन् । खस र मगर समुदायको बसोबास रहेकोे धौलागिरि गाउँ पञ्चेबाजाका कारण छिमेकी जिल्ला बर्दिया, कैलाली, दाङ र सुर्खेतसम्म चिनिएको छ । विसं २०६३ मा गाउँले मिलेर समूह बनाई शुरु गरिएको कामले सिङ्गो खजुरा गाउँपालिकालाई चिनाएको छ । आफूहरुको आयआर्जनको राम्रो स्रोत बनेको बताउनुहुन्छ, धौलागिरि पञ्चेबाजा समूहका उपाध्यक्ष बलबहादुर डगामी । बञ्चेबाजाले धौलागिरि गाउँ मात्रै नभएर सिङ्गो गाउँपालिकालाई नै चिनाउन सफल भएकोमा डगामी दङ्ग पर्नुभएको छ । पन्ध्र सदस्य रहेको सो समूहको नेतृत्व गङ्गाबहादुर थापाले गर्नुभएको छ । समूहकै सदस्यको घरमा पञ्चेबाजा राख्ने गरिएको छ । “बाजालाई सुरक्षित राख्न र व्यवस्थित रूपमा समूहलाई सञ्चालन गर्न कार्यालय स्थापना गर्ने तयारीमा छौँ । कार्यालय स्थापनापछि पञ्चेबाजा सङ्ग्रहालय बनाउने योजना छ”, डगामीले भन्नुभयो । सङ्ग्रहालय बनेपछि पञ्चेबाजा सुरक्षितसँगै संरक्षित हुने र हेर्न आउनेसँग न्यूनतम शुल्क लिँदा थोरै भए पनि आम्दानीको स्रोतको जोहो गर्न सकिने उपाध्यक्ष डगामीको भनाइ छ । पुरानो परम्परा र रीतिरिवाजसँग जोडिएको पञ्चेबाजा नयाँपुस्ताका लागि प्रेरणाको स्रोत बन्ने उहाँले बताउनुभयो । नयाँपुस्ताले पूरै बिर्सिएको पञ्चेबाजा धौलागिरिमा भने नयाँपुस्ताले नै बजाउने गर्छ । धौलागिरिमा रहेको पञ्चेबाजा समूहले लोपोन्मुख पञ्चेबाजा बजाउने कला र बाजागाजाको समेत संरक्षण गर्दै आएको छ । पञ्चेबाजा समूहले रु १८ हजारदेखि रु ५० हजारसम्म शुल्क तोकेको छ । यही शुल्क बाजागाजाको मर्मत, नयाँ बाजा खरीद र सदस्यको पारिश्रमिकमा खर्च गरिन्छ । धौलागिरिलाई पञ्चेबाजाको गाउँ भनेर चिन्दा र सम्झिँदा गाउँवासी खुशी छन् । बञ्चेबाजा संरक्षण गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने धौलागिरिवासीको माग छ । स्थानीय समाजसेवी सतिश निरौला स्थानीय सरकारले बाजाको व्यवस्थापन र सञ्चालनका लागि हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सङ्ग्रहालय बनाएर सञ्चालनमा ल्याउन सके आन्तरिक पर्यटकलाई भित्र्याउन सकिन्छ ।” “नयाँपुस्तालाई बाजा बजाउने प्रशिक्षण र सीप दिँदै उनीहरुलाई आकर्षण गर्न पनि बाजा सङ्ग्रहालय आवश्यक छ”, बाह्र वर्षदेखि बाजा समूहलाई सक्रिय बनाउँदै आउनुभएका आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटा भन्नुहुन्छ, “बाजा समूहले पञ्चेबाजा संरक्षणसँगै नयाँपुस्तालाई यसका बारेमा ज्ञान दिएको छ । विवाह, पूजामा ब्यान्डबाजा र अन्य बाजाका नाममा बाहिरिने आर्थिक रकमलाई पनि गाउँमै रोकेको छ ।” –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video