प्रमुख समाचार
Aug 02, 2019
पूर्वमा माओवादी कमाण्डर अहिले ‘रोलमोडल’ किसान
–गोपालप्रसाद बराल
बर्दिवास, साउन १७
  पूर्व माओवादी कमाण्डर रहनुभएका महोत्तरीको भङ्गाहा–४ का ३५ वर्षीय नारायण दाहालको परिचय अब पौरखी किसानका रुपमा फेरिएको छ । कम्मरमा झिलझिल चम्कने लालुपाते खुकुरी र काँधमा इन्सास राइफल भिरेर जनयुद्धमा लाग्दा त्यतिखेर आफ्नो पङ्क्तिमा कमरेड सुधिर नामले चिनिने नारायण दाहाल अहिले भने आफ्नो गाउँ बस्तीका साथी र पछिल्लो पुस्ताका लागि पौरखी किसानको उदाहरण बन्नुभएको हो । घर वरपरनै रहेको आठ कट्ठा जग्गाभित्र लटरम्म फलेका बोडी, परबल र लौकासहितका तरकारी बालीमा दाहालको मेहनत हाँसेको छ । बिहान ४ बजे ओछ्यान छोडेदेखि नै गाई÷बाख्राको हेरचाह सकेर बारी पसेपछि आवश्यक उपचार गर्ने, तरकारी टिप्ने र घरमै आइपुगेका तरकारी व्यापारीलाई आफ्नो उत्पादन तौलेर दिन भ्याइनभ्याइ पर्ने गरेको दाहाल बताउनुहुन्छ । विसं २०६५ को अन्त्यतिर माओवादी लडाकुको जीवन छाडेर गृहस्थीमा फर्केका दाहालले २०६८ यता भने खेतीमै आफ्नो भविष्य देख्नुभएको छ । माओवादी लडाकुको जीवन त्यागेर फर्कदा राज्यबाट जम्मा रु छ लाख २० हजार पाएका दाहालले त्यतिखेर त्यो रकमले छ कट्ठा जग्गा, एउटा साइकल र घरमा एउटा टिभी जोडेर सानो गाई गोठ बनाएको बताउनुभयो । “के के न गरौँला भनेर युद्ध (त्यतिखेरको माओवादी जनयुद्ध) मा होमिँए” दाहालले घरमै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “फर्केर आउने ठाउँ त गाउँ घर नै रहेछ ।” खेतीमा लागेयता आफ्नो मेहनत खेर गएको कहिल्यै महसुस गर्न नपरेको दाहालको भनाइ छ । “यसपालि वैशाखयता मौसमी बेमौसमी तरकारी खेतीबाटै अहिलेसम्म रु दुई लाखको तरकारी बेचिएछ”, आफ्नो पुगनपुग चार महीनाको कमाइबारे बताउँदै दाहालले अगाडि भन्नुभयो, “असार मसान्त ताकाको साताव्यापी वर्षासँगैको बाढीले लहरे तरकारी र लहलहाउँदा रायोको बिरुवा लता¥यो, त्यसको उत्पादन लिन सकेको भए आम्दानी निकै बढी हुने थियो ।” यद्यपि दैनिक घरखर्चमा लगाइएको रकमको लेखाजोखा भने राख्न नसकेको दाहालको भनाइ छ । त्यस्तै प्रत्येक वर्ष दशैँ, तिहार र अन्य चाडपर्वमा गरिने खर्च पनि आम्दानीको हिसाबमा नरहने गरेको दाहाल बताउनुहुन्छ । “किसानी पेशाको घरगृहस्थीमा सबै लेखा राख्न नसकिने रहेछ”, दाहालले भन्नुभयो, “तर, चाडबाड खेतीपातीले नै चलाएको छ भन्न त पाइयो नि !” आफ्नो खेती आर्गेनिक पद्धतिको भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको दाहालको भनाइ छ । तरकारीमा लाग्ने किराको नियन्त्रणका लागि दाहाल आफैँ कीटनाशक औषधि बनाउनुहुन्छ । ‘यो नारायणास्त्र, यो ब्रह्मास्त्र र यो आग्नेयास्त्र’ दाहालले तरकारी बालीमा लाग्ने किरा नियन्त्रणका लागि आफैँले घरमा बनाएका कीटनाशक औषधि देखाउँदै भन्नुभयोे, “गाईको गहुँत सङ्कलन गरेर निमका पात र अन्य कीटनाशक वनस्पति मिलाएर बनाएको औषधि हो, तरकारी बालीमा लाग्ने किराको सङ्ख्या र क्षतिको प्रकृति आँकलन गरेर मात्रा बनाएर छरिन्छ ।” रामायण, महाभारतलगायतका पौराणिक ग्रन्थमा प्रयोग गरेपछि खेर नजाने वर्णन गरिएका शस्त्रअस्त्रको महत्व थाहा पाएर किरा नियन्त्रणका लागि बनाइएका औषधिको नाउँ त्यस्तै मिलाएर राखिएको दाहालको भनाइ छ । ‘यो हेर्नुहोस्, यो आग्नेयास्त्र हो’ दाहालले एउटा सिसिमा राखिएको झोल औषधि देखाउँदै भन्नुभयो, “भगवान् रामको वाण विस्तुर जाँदैनथ्यो रे ! हो, यो त्यही ‘रामवाण’ हो, छिर्का प¥यो कि किरा खत्तम !” अहिले जताततै खेतीपातीमा कडा विषादीको प्रयोग बढेसँगै कडा प्रकृतिका रोग बढेकाले सबैलाई प्राङ्गारिक खेतीमा आकर्षित गराउन पर्ने दाहालको सुझाव छ । “अमृत हुने वस्तु हाम्रै कारण विष बनाइएका छन्”, दाहालले भन्नुभयो, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनु पर्छ ।” साझा प्रयत्नबाट यो सम्भव रहेको दाहालको विश्वास छ । दाहालको सङ्गतले गाउँका युवा पनि तरकारी खेतीबाट राम्रो उत्पादन लिन थालेका छन् । “विषादी नछरी किरा नियन्त्रण गर्न सकिने दाहालले अप्नाउनुभएको तरिकाले हामीलाई लोभ्याएको छ”, दाहालको मेहनत र खेती प्रणालीलाई अनुशरण गर्न थालेका छिमेकी छेदीलाल महतोले भन्नुभयो, “आफ्नै वरिपरि पाइने वनस्पति र गहुँतबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ ।” मुलुककै समृद्धि र जनताको मुक्तिका लागि भन्दै विगतमा बन्दुक बोकेको कुरामा पश्चाताप नभए पनि समृद्धिको बाटोचैँ अहिलेको बाटो नै उपयुक्त रहेको निष्कर्ष दाहालको छ । उहाँ अहिले गाउँ छिमेक वरपर राम्रो उदाहरणका ‘रोलमोडल’ किसान बन्नुभएको छ । “घरमा भेट्न आउने आफन्त हऊन् कि अन्य छिमेकी यिनी (दाहाल) खेतीकै कुरा गर्छन्”, दाहालकै छिमेकी ८० वर्षीय रामनन्दन महतो भन्नुहुन्छ, “यिनले त बरालिएर हिँड्ने कति केटालाई आफ्नो सङ्गतमा ल्याएर मेहनती किसान बनाएका छन् ।” त्यही बस्तीमा तरकारी बाली फस्टाउन रसायनिक मल र किरा नियन्त्रण गर्न विषादी प्रयोग गर्दै आएका दाहालका समवयस्क किसानले अब आफैँले तयार पारेको कम्पोष्ट मल र घरायसी कीटनाशक औषधि प्रयोग गर्न थालेका छन् । आफूले मेहनत र लगन लगाए पनि सरकारी निकायबाट कुनै सहयोग र भरथेग नपाइएको दाहाललगायतका सो बस्तीका युवा किसानको गुनासो छ । “खेतीपातीमा किसानलाई सहयोग गरिन्छ भन्ने रेडि (रेडियो) र छापामा भन्ने, लेख्ने गर्छन रे !” दाहालकै समवयस्क सो बस्तीका किसान चन्देश्वर राय दनुवारले भन्नुभयो, “तर, हामीसम्म त्यो कहिल्यै आइपुग्ने भएन ।” किसानका लागि छुट्याइएका रकम पनि भनसुन र ठूलाबडाकै प्रयोगमा जाने गरेका बस्तीका सोझा किसानको गुनासो छ । खेतीपातीसँगै दाहालले अहिले बाख्रापालन शुरु गरेका छन् । खोरमा १५ वटा बाख्रा जम्मा पारेका दाहालले यसको तयारीका लागि दुई वर्ष पहिले नै डालेघाँसका बिरुवा रोपेर हुर्काएको बताउनुभयो । बारीमा इपिलिपिल, बकाइनो र पट्मिरोसहितका पोष्टिक मानिने डाले घाँसका ५० रुख हुर्की सकेका र यसपालि फेरि १०० वटा जति रोपिएको दाहालले नजिकैको बारीमै देखाउनुभयो । आउने चैतसम्म २५ वटा बाख्रा पु¥याउने दाहालको लक्ष छ । “गर्दा नहुने भन्ने केही रहेनछ”, दाहाल भन्नुहुन्छ, “रु सय पचासको गर्जो टार्न गाउँ पस्नु पर्ने म अहिले आफ्नो मेहनतले नै गाउँघरको अड्कोपड्को टार्न सक्ने भएको छु ।” कृषिसँग सम्बन्धित सरकारी निकाय किसानसम्म नपुगेका दाहालको पनि गुनासो छ । अहिले सुने जतिकै सरकारले बनाएको कृषि कार्यक्रम किसानसम्म पुग्ने हो भने पनि कृषि क्रान्ति नै हुने दाहाल बताउनुहुन्छ तर, ती सरकारी कार्यक्रम किसानसम्म नपुगेको कुरा अनुगमन हुनपर्ने दाहालसहितका किसानको माग छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video