समाज
Aug 05, 2019
के नाग देवता हुन् ?

नारायण गाँउले  । झट्ट हेर्दा नागलाई देवता भनेर पूजा गर्ने परम्परा कुरीतिजस्तो लाग्छ । तर सनातन धर्म-संस्कृतिको गहिरो अध्ययन गर्‍यो भने नागलाई देवता मान्नुको रहस्य सजिलै तर्कसङ्गत देखिन्छ । सनातनधर्ममा देवताको सङ्ख्या लाखौं छ, अझ यो अगणनीय छ । ईश्वर एक छ, ब्रह्म । हामी ईश्वर र देवतामा प्राय: झुक्किन्छौं ।

जुनकुनै तत्त्वबाट हाम्रो जीवन या पृथ्वीमा सकारात्मक असर परेको छ त्यो देवता हो । यात्रा गर्दा छहारी दिने रुख (पीपल..) देवता हो, औषधि र अक्सिजन दिने झार (तुलसी) देवता हो, खेतमा पानी र वातावरणलाई प्राण दिने नदी देवता हो, वायु देवता हो, प्रकाश दिने सूर्य देवता हो, चन्द्रमा देवता हो..खेतीका लागि मल र जीवनको पुष्टताका लागि दूध दिने गाई देवता हो । सिङ्गो प्रकृति देवता हो । देवताको पूजा (सम्मान र संरक्षण) मनुष्यको कर्तव्य हो । पीपलको पूजा फेदमा जल चढाउनु हो, गाईको पूजा पौष्टिक आहार खुवाउनु र संरक्षण गर्नु हो । नदीको पूजा ढल र फोहर नमिसाउनु हो । साबुनबिनै नुहाएर कपडासमेत नदीमा नधुनु र बाहिरै निचोर्नु नदीको धार्मिक सम्मान हो । पूजामा औषधीय गुण भएका जडीबुटीबाट बनेका धूप बालेर होस्, त्यस्तै विशेष जडीबुटीको विधिपूर्वक हवनबाट होस् या चोक चोकमा वरपीपल रोप्नुपर्ने व्यवस्था गरेर होस्, हामीले वायुको पूजा (संरक्षण) गर्दै आएका थियौं । सोच्नुस् त, घन्टौँ उकालो उक्लिएर स्याँस्याँ भएको र शरीरमा अक्सिजन कम भएको बेला बाटोको सरर शीतल हावा बग्ने त्यो पीपल चौतारीले हामीलाई कसरी जीवन दिन्थ्यो ! वरपीपल रोप्नु र चौतारो चिन्नुलाई धर्मसँग जोडिएको थियो । रोपेको पीपल नमरोस् भनेर कम्तीमा हरेक शनिवार जल चढाउने र परिक्रमा गर्नुपर्ने नियम थियो । हरेक आँगनमा तुलसीको मठ त सबैलाई थाहा छ । मृत्युको अन्तिम क्षणमा मान्छेले स्वाभाविक सास फेर्न सक्दैन र शरीरमा अक्सिजनको कमी हुन्छ, अहिले हामीसँग सिलिन्डर र मास्क छ, तर यत्रो हजारौं वर्ष हामीसँग तुलसी थियो, मठ नजिकै शिर राखेर सुताउने चलन थियो । अझ अप्ठेरो भए 'घाट' लैजाने चलन थियो । जङ्गल र नदीको छेउको घाटमा स्वच्छ हावामा अक्सिजनको तह अन्यत्रभन्दा उच्च हुन्थ्यो ।

पृथ्वी स्वयंलाई देवता मानेर त्यसको संरक्षण गर्नुपर्ने आग्रह सनातन धर्ममा छ । यो अन्धविश्वास या कुरीति होइन, यो परस्पर सबैलाई सम्मान र संरक्षण गर्दै जिउने कला हो । यो बाँचौं र बचाऔं भन्ने संस्कृति हो । गीतामा भनिएको छ :

देवान् भावयतानेन ते देवा भावयन्तु व: 
परस्परं भावयन्त: श्रेय: परमवाप्स्यथ ।

अर्थात् देवताहरूलाई संरक्षण गरियो भने तिनले हामीलाई संरक्षण गर्नेछन् र परस्पर मिलेर जीवनको श्रेय र आनन्द हासिल गर्नसकिन्छ । प्रकृतिबाट लिने या दोहन गर्नेमात्रै होइन, त्यसलाई दिनु पनि पर्छ भन्ने शिक्षा हाम्रो धर्ममैं थियो । 
यो व्यवस्था प्रकृतिप्रतिको, इकोसिस्टमप्रतिको उच्चतम सम्मान हो । ईश्वरको सर्वव्यापकतालाई स्वीकार गरेर जीवन र जगतका यावत् तत्त्वलाई देवता मान्नु सनातन संस्कृतिको सुन्दरतम पक्ष हो । यो धर्ममा मानवमात्र होइन सबै चराचर जगत् ईश्वरीय तत्त्व हो, देवता हो । जीवनमा कसैप्रति पनि वैरभाव नराखी स्नेह या कम्तीमा समभाव राखेर जिउने कला यो संस्कृतिले विकास गरेको थियो । अहिंसा यसको मूल मर्म रहेको देखिन्छ । काग, मुसा, गिद्ध, बाघ, भालु, कुकुर सबैलाई धर्मसँगै गाँसेर पूजा गर्ने परम्परा अन्य संस्कृतिमा कहाँ होला ?

नागहरूको इकोसिस्टममा रहेको मूल्य तिनले बुझेका थिए । तिनबाट मानवजीवनमा हुने खतरा न्यूनीकरण गर्नु र तिनको संरक्षण गर्नु जटिल कार्य थियो । कम्तीमा वर्षको एकदिन उनीहरूले यसका लागि छुट्टयाए र जागरण अभियान चलाए । यो दिन नागको जीवनसँग सम्बन्ध र यसका जोखिमहरूबारे घरघरै पुगेर, चित्र बनाएर समाजका सदस्यलाई चेतना दिने परम्पराको विकास गरे । 
नागका प्रकारहरू, विषको मात्रा, इकोसिस्टममा तिनको महत्वजस्ता विषयमा उक्तदिन चर्चा हुन्थ्यो । यो संस्कृतिको एक अभिन्न अङ्गका रूपमा विकास हुँदै गयो । मिहिनेतपूर्वक चित्र बनाएर, हरेक घरमा पुगेर शिक्षा र चेतना दिनेहरूलाई पारिश्रमिक स्वरूप दक्षिणा दिने गरिन्थ्यो । यसले शिक्षक र शिक्षा दुबैलाई बचाएको थियो ।

हामी आज पनि मानवअधिकार दिवस मनाउँछौं, बाघदिवस, नारीदिवस, पृथ्वीदिवस, शिक्षा दिवस मनाउँछौ । ती सबैको उद्देश्य तत्तत् विषयमा चेतना फैलाउनु नै रहेको छ । पश्चिमले तोकेर दिएको दिवस मनाउँदा वैज्ञानिक भइने तर आफ्नै मौलिक संस्कृतिका दिवसहरू मनाउँदा नाक खुम्च्याउनुपर्ने अवस्थाको अन्त्य गरौं । जुलाइ १६ लाई विश्वले सर्प-दिवसको रूपमा मनाउँदा सर्पका तस्बीरहरूले मोबाइल र टिभीका स्क्रिनहरू भर्नु हुने अनि हामीले हजारौं वर्षदेखि मनाउने नागदिवसमा नागलाई देवता मानेर ढोकामा तस्बीर टाँस्न किन नहुने ? बरु सरकारले यो दिनलाई सर्पबारे सर्वाङ्गीण शिक्षा दिने दिवसका रूपमा मनाउन सुरु गर्ने कि ?
 
Narayan Gaunle (यसअघि नपढ्नुभएको भए यो मेरो पुरानो लेख फेरि शेयर गर्न चाहेँ । मैले लेख्ने कुरो अन्तिम सत्य या अकाट्य सत्य हो भन्ने मेरो दाबी छैन । संस्कृतिलाई बुझ्ने मेरो सानो प्रयास हो । सानो अध्ययनको निचोड़ पनि हो ।)

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video