समाज
Sep 26, 2019
सङ्कट समाधानका लागि गम्भीर बन्न अपिल
काठमाडौँ, असोज ९ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित सङ्कट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी जलवायुकार्य शिखर सम्मेलनको कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो अपिल गर्नुभएको मन्त्रालयले जनाएको छ । समस्या समाधानका लागि समयमै उचित कदम नचालिए पृथ्वी र मानव अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेकोतर्फ मन्त्री बस्नेतले विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । सम्मेलनको ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’लाई सम्बोधन गर्दै उहाँले समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको थियो । जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमालीमुलुक बढी प्रभावित भएको चर्चा गर्दै उहाँले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । जलवायु परिवर्तनले संसारभर अकल्पनीय अवस्थाको सिर्जना हुन लागिसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले यसले पृथ्वीको स्थिरता र मानवजातिकै भविष्यमाथि नै खतरा निम्त्याउन सक्नेबारे ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले जलवायु परिवर्तनको असरबाट साना र गरीब मुलुक बढी प्रभावित रहेको तथ्यमाथि विचार गर्न आग्रह गर्दै त्यसका लागि गरीब र साना मुलुकले अहिले गर्दै आएका प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्नुभएको थियो । मन्त्री बस्नेतले राष्ट्रसङ्घका सदस्य मुलुकबीच आर्थिक तथा प्राविधिक सहयोगका साथै ज्ञान आनादप्रदान गर्नुपर्ने र नेपालले प्रकृतिमा आधारित समाधानको प्रयासलाई जारी राखेको जानकारी दिँदै विसं २०७६ लाई राष्ट्रिय वृक्षरोपण वर्षका रुपमा मनाइरहेको जानकारी गराउनुभएको थियो । एशियाली विकास बैंकको आयोजनामा भएको अर्को कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु अनुकूलन क्षमताको विकास र अनुसन्धानको कामलाई महत्वका साथ अघि बढाएको जानकारी गराउँदै त्यसका लागि सरकारले विश्व समुदायका साथै नागरिक समाज, निजी क्षेत्र र राष्ट्रिय÷अन्तर्राष्ट्रिय साझेदारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video