प्रमुख समाचार
Dec 02, 2019
कार्यान्वयनमा गएनन् राष्ट्रिय गौरवका दुई आयोजना
काठमाडौँ,  मङ्सिर १६ राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयनमा नरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय एवं अनुगमन तथा मूल्याङ्कन गर्छ । आयोगले प्रकाशन गरेको राष्ट्रिय गौरवका आयोजनाहरुको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रगति स्थिति प्रतिवेदनमा दुवै आयोजनाको भौतिक एवं वित्तीय प्रगति शून्य देखाइएको छ । कार्यान्वयन क्षेत्र डोटी, डढेल्धुरा, बैतडी र बझाङ रहेको पश्चिम सेती आयोजनाबाट ४५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । आयोजनाका बारेमा लगानी बोर्डले आवश्यक अध्ययन गरिरहेको विवरणमात्र आयोगमा प्राप्त भएको योजना अधिकृत कृष्ण व्याञ्जुले राससलाई जानकारी दिनुभयो । नेपाल सरकार र अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनबीचको सहकार्यमा गत आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा विद्युत् प्रसारण आयोजना समावेश गरिएको हो । यसका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्ने सम्झौता दुई वर्षअघि भएको थियो । २० गौरवका आयोजनाका प्रगति गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ८०.७९ र वित्तीय प्रगति ७३.७४ प्रतिशत छ । यसैगरी बबई सिँचाइ आयोेजनाको भौतिक ४६.४१ र वित्तीय ४३.३६ प्रतिशत प्रगति छ । रानीजमरा कूलरीया सिँचाइ आयोजनाको भौतिक ८२.७३ र वित्तीय ५१.२७ प्रतिशत प्रगति छ । यसैगरी भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक १०० र वित्तीय ९८.६५ प्रतिशत प्रगति छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक ७१.५६ र वित्तीय ९७.०२ प्रतिशत प्रगति छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक ९१.५० र वित्तीय ९१.५१ प्रतिशत प्रगति छ । आयोगले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक ९६ र वित्तीय ९१ प्रतिशत प्रगति भएको जनाएको छ । आयोगका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक १०० र वित्तीय ६९ प्रतिशत प्रगति भएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक ९० र वित्तीय ९३.१८ प्रतिशत प्रगति भएको छ । पशुपति क्षेत्र विकास कोषको भौतिक ८३.७ र वित्तीय ५४.५२ प्रतिशत उपलब्धि हासिल भएको आयोगले जनाएको छ । लुम्बिनी क्षेत्र विकास कोषको भौतिक १०० र वित्तीय ९९.९९ प्रतिशत प्रगति छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको भौतिक ९७.४ र वित्तीय पनि ९७.४ प्रतिशत नै प्रगति छ । रेल्वे तथा मेट्रो विकास आयोजनाको भौतिक ७७.६७ र वित्तीय ७१ प्रतिशत उपलब्धि हासिल भएको आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । हुलाकी लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ९७.४ प्रतिशत छ । उत्तर दक्षिण (कोशी) लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ८७.३९ प्रतिशत छ । उत्तर दक्षिण (कालीगण्डकी) लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ९२.४ प्रतिशत छ । उत्तर दक्षिण (कर्णाली) लोकमार्गको भौतिक १०० र वित्तीय पनि १०० नै उपलब्धि छ । काठमाडौँ तराई–मधेस द्रुतमार्गको भौतिक १०० र वित्तीय ९६.४३ प्रतिशत प्रगति छ । आयोगका अनुसार काकाकुल राजधानीको तिर्खा मेट्न उपयोगी मानिएको मेलम्ची खानेपानी आयोजनाको भौतिक ७४.७४ र वित्तीय प्रगति ४१.३८ प्रतिशत छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको भौतिक ९५.०७ र वित्तीय प्रगति ९१.१४ प्रतिशत विवरण प्राप्त भएको योजना अधिकृत सोना श्रेष्ठले सुनाउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video