विचार/अन्तरवार्ता
Dec 05, 2019
किसानमाथि चरितार्थ – ‘दैबो दुर्बल घातक’
लोकनारायण सुवेदी
काठमाडौँ, मङ्सिर १९ । हाम्रो देशमा किसानहरुको अबस्थालई हेर्दा एउटा पुरानो सुक्ति याद आइरहेको छ । त्यसमा भनिएको छ — ‘अश्वं नैब गजं नैब ब्याघ्रं नैब च नैब च अजा पुत्रं बलि दद्यात् दैबो दुर्बल घातक’ चरितार्थ भइरहेको छ । बिश्वमा मानिसले कुनै हात्ती या घोडालाई कतै कहिले पनि बिरलै बली दिएका होलान्, दिदैनन् । बाघको बली दिने कुरा त झन् कसैले सोच्न पनि सक्तैनन् । अन्ततः बली दिएर देबतालाई प्रसन्न तुल्याउनका लागि निरीह बाख्रालाई नै अघि सारिन्छ । हाम्रो पञ्चबली – राँगा, भेडा, बाख्रा, परेवा, हास आदि – परम्पराई हेर्ने हो भने पनि यो कुरा प्रष्ट हुन्छ । यसबाट प्रष्ट हुन्छ कि इश्वरले पनि बाख्राकै अर्थात् कमजोर जनावर र पशु पंक्षीकै बली लिन नै मन पराउँदछन । त्यसैले हाम्रो पूर्वीय दर्शनमा खाशगरी दक्षिण एशिायाली क्षेत्रको पुरानो दर्शनमा भन्ने गरिदै आएको छ कि ‘भगवानले पनि कमजोरको रक्षा गर्दैन’ । बलिया बांगाकै साथ दिन्छ ।
यहाँ प्रसंग नेपाली किसानको हो । किसान यो देशमा ‘रस्ती रसाउने र बस्ती बसाउने’ वास्तवमा ‘धरती पुत्र’ हुन् र  अन्नदाता हुन् । बस्तुतः जीवनको रक्षक पालन पोषणकर्ता प्राणरक्षक हन् किसान । तर यीनै किसान बर्गलाई  सर्सरी मात्रै पनि हेर्ने हो भने यी  कति कमजोर, निरीह, उपेक्षित र कुरीति, अन्धबिश्वास, अशिक्षा, अभाव र असुरक्षा आदि अनेक समस्याले अत्यन्तै आक्रान्त छन् । त्यसमा पनि अझ किसान महिला जो बिहान चार बजेदेखि राती एघार बजेसम्म मेहनत गर्दछन् तिनको स्थिति अझ गए गुज्रेको र नाजुक छ ।
देशमा जतिसुकै राजनीतिक परिवर्तन आए पनि किसानको जीवनमा खाशगरी उनीहरुका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको समस्यामा किञ्चित परिवर्तन आएन । बरु किसानको जीवन निराशाजनक र कृषि क्षेत्र आज अनाकर्षक बनेको छ । त्यसैले आज खेतीपाती अरु क्षेत्रमा जाने कुनै आधार देखा नपरेको अबस्थालाई धान्ने एउटा अनिच्छापूर्वक र उत्साहीन तरीकाले चलाइएको धन्धा मात्र बन्न पुगेको छ । यसको कारण हो पुरानो सामन्ती र आजको अर्ध सामन्ती अर्थ–राजनीतिक, सामाजिक–साँस्कृतिक प्रथा कायम रहनु र भूमिमा रहेको असमान बितरण, न्यून उत्पादनशीलता र न्यून उत्पादनले निरन्तरता पाइरहनु ।
यस स्थितिमा एकातिर बढ्दो जनसंख्या अनि अर्कोतिर त्यसको अनुपातमा न्यून उत्पादनशीलता र उत्पादनले गर्दा कृषि प्रधान देश भएर पनि खाद्यान्न, फलफूल, माछा–मासु, दूध र दुग्धजन्य पदार्थ तथा अन्य कृषिसँग सम्बन्धित  बस्तु आयात गर्नमा हामीले बर्षेनी खर्बौ रुपैया लगानी गर्नु परिरहेको छ । यो दुष्चक्रलाई तोड्ने सोच, उपाय र सामथ्र्य राज्यले देखाउन सकेको छैन र भावी दिनमा यस्तो दृढता देखाउन सक्ला भन्ने कुनै आधार र आशा पनि अहिलेसम्मको अनुभवले दिदैन । त्यसो भएको हुनाले नै बास्तवमा जमिन, जल, जंगल, जडीबुटी सहीतको ब्यापक जैबिक बिबिधायुक्त कृषि–मैत्री प्राकृतिक बातावरण भएर पनि नेपाल कृषि क्षेत्रमा सधै पिछडिएको अबस्थाबाट गुज्रिरहनु र कुण्ठित हुनुपरिरहेको आजसम्मको कटु यथार्थ हो ।
यस अबस्थालाई चिरेर वास्तविक किसानको जीवन र कृषिमा क्रान्तिकारी आमूल परिवर्तन ल्याउनु आजको पहिलो र आधारभूत राष्ट्रिय आवश्यकता हो । यसो गर्न नसकेसम्म नेपालको अर्थतन्त्र लगायत बिकासको सम्पूर्ण क्षेत्र सन्तुलित रहन्छन् र सकारात्मक किसिमले अघि बढ्न सक्तैन भन्ने कुरा एकदमै प्रष्ट भइसकेको छ । यसै परिप्रेक्षमा अहिलेसम्मका भूमिसुधारका अभियान र गतिबिधिहरु किन असफल भए र अपेक्षित परिणाम दिन सकेनन् भन्ने कुराको राष्ट्रिय अन्तर्राष्ट्रिय बस्तुगत बिश्लेषण गरेर नेपालको समग्र बिकासमा अघि बढ्नु सक्नु पर्दछ । अन्यथा नेपालको चौतर्फी समृद्धि र बिकासको नारा पनि बिगतमा ‘आधारभूत आवश्यकता पूरा गर्ने, बिकासको मूल फुटाउने र एशियाली मापदण्डमा पुग्ने’ नारा जस्तै जनतालाई निराश तुल्याउने एक पछि अर्को अन्तहीन र  औजार बाहेक आम किसान बर्गका लागि अरु केही नहुने कुरा एकदमै प्रष्ट छ ।
बिगतका अनुभव र आजको आवश्यकताका आधारमा देशमा सबैभन्दा पछि पारिएको र निराश तुल्याइएको कृषि क्षेत्रलाई जगाउन, उठाउन र अघि बढाउन आज सर्बोपरी ध्यान जानु अनिवार्य र अपरिहार्य छ । त्यसको लागि सम्पूर्ण किसिमले जमिनबाट सामन्ति उत्पादन पद्धति र उत्पादन सम्वन्धलाई समाप्त पार्न क्रान्तिकारी भूमिसुधार – जमिनको स्वामित्व वास्तबिक किसानलाई प्रदान गर्दै तथा सामाजिक न्यायकासाथ कृषि उत्पादनमा उत्साहबद्र्धक सुनिश्चिता ल्याई कृषिमा शतत प्रगतिको मार्ग प्रसस्त गर्दै किसानको आमदानी बढाउन, राष्ट्रिय बजारको अभिबृद्धि गर्न र राष्ट्रिय औद्योगिकरणको जग बसाल्न आवश्यक छ । यसको निमित्त नेपाली कृषि र उद्योगसँग गाँसेर जलश्रोतको बिकास गर्नु पर्दछ । यसरी मात्र नेपाली किसान र कृषिलाई दुर्बलताबाट मुक्त गर्न सम्भव छ । अन्यथा ‘दैबो दुर्बल घातक’ भन्ने पुरानो सुक्तिकै पुनराबृत्तिले निरन्तरता पाइरहने छ । अनि त न सम्बृद्ध नेपाल न सुखी नेपाली १




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video