सुदूरपश्चिमको विकासका लागि कार्ययोजना बनाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ जेष्ठ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाइ राखेका हुन्। उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणासमेत राखे।

प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे।

सो बन्दरगाहले सिधै भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोडने र त्यसले सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो। प्रधानमन्त्री देउवाले भने, ‘अब यो सुदूरपश्चिममा ड्राई पोर्ट बनाउने भारत सरकारसँग सहमति भएको छ। महाकाली पारी दोधारा चाँदनीमा ड्राईपोर्ट भएको खण्डमा सिधै सुदूरपश्चिम प्रदेश भारतको बम्बईसँग कनेक्ट हुनेछ।

सिधै बम्बईबाट मालसामान ल्याउन सकिनेछ। यसले त्यहाँको विकासमा सघाउ पुग्ने मैले विश्वास लिएको छु। भौगोलिक विकटता र लगानीको सुरक्षा नभएका कारण यस प्रदेशको विकास नभएको हो। अब लगानीको सुरक्षा हुन सकेको खण्डमा यो प्रदेशलाई सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ।

पछि परेको यो प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध छ।’ प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताए। उनले यस प्रदेशको विकासका लागि मानव संशोधनको विकासमा जोड दिनका लागि हातेमालो गरेर अघि बढ्न पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

Array