स्थानीय तहको लगानी : नागरिकले विशेषज्ञ सेवा पाउँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ श्रावण २०७९, शनिबार
3 Min Read
Aa

टीकापुर,कैलालीका स्थानीय तहले यहाँका अस्पतालाई विशेषज्ञ सेवा सञ्चालनमा सघाएपछि नागरिकलाई उपचार सेवा पाउन सहज भएको छ ।

स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्थानीयस्तरमा रहेका अस्पतालमा विशेषज्ञ सेवा सञ्चालनमा सघाएका हुन् । आफ्ना नागरिकलाई थप उपचारका लागि बाहिर जानु नपरोस् भनी चिकित्सक सेवा दिएपछि नागरिकले सहज सेवा पाएका छन् । कैलालीको लम्कीचुहा अस्पतालमा एक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, दुई मेडिकल अधिकृत, एकजना स्टाफ नर्स, चार हेल्थ असिष्टेन्ट, दुई अनमी र एक अहेवले सेवा दिइरहनुभएको छ ।

लम्कीचुहा अस्पतालमा ५७ जनशक्तिले दैनिक काम गरिरहका र त्यसका लागि वार्षिक रु तीन करोड खर्च भइरहेको छ । लम्कीचुहा नगरपालिकाले १५ शय्याको आफ्नै अस्पताल खोलेपछि २०७८ साउनयता ४५ हजार ७२९ जनाले स्वास्थ्य सेवा पाएका अस्पतालका व्यवस्थापक जयन्द्र जैसीले जानकारी दिनुभयो ।

लम्कीचुहा अस्पतालबाट स्त्रीरोग विशेषज्ञले मात्र गत वर्ष दुई हजार ४०० लाई सेवा दिनुभएको छ । नेपाल सरकारको सहयोगमा बनेको बलिया स्वास्थ्यचौकीको भवन र प्रदेश सरकारले बनाएको बर्थिङ सेन्टरलाई प्रयोगमा ल्याइएको छ भने कर्मचारी लम्कीचुहा अस्पताल विकास समितिबाट भर्ना भएर काम गरिरहेका व्यवस्थापक जैसीले बताउनुभयो ।

टीकापुर नगरपालिकाले पनि टीकापुर अस्पतालमा दुई जना विशेषज्ञ डाक्टर उपलब्ध गराएको छ । टीकापुरमा उपलब्ध गराइएका बालरोग विशेषज्ञ र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरबाट वर्षमा हजारौँ नागरिकले सेवा पाएका छन् । नगरपालिकाको खर्चमा काम गरिरहेका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुरले नौ हजार बढी बालबालिकाको स्वास्थ्य परीक्षण र उपचार गर्नुभएको छ भने २५० बालबालिकाको एसएनसियुमा उपचार भएको छ ।

“गत वर्ष नौ हजारभन्दा बढी बालबालिकाले उपचार सेवा लिएका छन्, सबैखाले समस्या भएका बालबालिकाको उपचार भएको छ”, डाक्टर ठाकुरले भन्नुभयो, “अभिभावक यही उपचार पाएर खुसी हुनुहुन्छ ।”

यही अवधिमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरले ओपीडीमा पाँच हजार ५१७ लाई उपचार सेवा दिनुभएको छ भने ४१८ को शल्यक्रिया गर्नुभएको छ । टीकापुर अस्पतालमा गत वर्ष एक लाख आठ हजारले उपचार सेवा पाएका छन् । त्यसमध्ये नयाँ र फ्लोअप गरी ४९ हजार ८०० बीमा गरेका बिरामीले सेवा लिएका अस्पतालमा सूचना अधिकारी दीपा अर्यालले जानकारी दिनुभयो ।

यसैगरी जानकी गाउँपालिकाले उपलब्ध गराएका एनेस्थेसियाका चिकित्सकबाट पनि पनि एक हजारभन्दा बढी बिरामीले सेवा पाएका छन् । एनेस्थेसिया चिकित्सकले हाडजोर्नी, प्रसूति, हर्निया, एपेन्डिसाइटसका बिरामीको सघन शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सेवा दिनुपर्ने हुन्छ । यस अवधिमा ४१८ महिलाको प्रसूति अवस्थामा शल्यक्रिया, ५३६ को हाडजोर्नीसम्बन्धी ठूलो शल्यक्रिया र हर्निया एपेन्डिसाइटिसका ७७ जना बिरामीको शल्यक्रिया भएको छ ।

बिरामीको चाप धेरै भएको टीकापुर अस्पतालमा स्थानीय तहले पारिश्रमिक दिने गरी उपलब्ध गराएका विशेषज्ञबाट धेरै ठूलो सहयोग पुगेको टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारी बताउनुहुन्छ । “अस्पताललाई अझैँ जनरल फिजिसियन, नाक कान घाँटी रोग विशेषज्ञको खाँचो छ”, उहाँले भन्नुभयो, “अस्पतालमा चिकित्सकको सेवापछि बिरामीको चाप बढेको छ, ५१ शय्याको अस्पतालमा शय्या अभाव छ, बिरामीलाई सेवा लिन सहज वातावरणका लागि सबैको सहयोग आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

Array