थप ३४७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ श्रावण २०७९, आईतवार
2 Min Read
Aa
काठमाडौँ,  देशभर पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ८८८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ३६० जनाले पीसीआर र एक हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ९५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ४८९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७८ हजार २२८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५६ पुगेको छ । होम आइसोलेशनमा तीन हजार ३५, संस्थागत आइसोलेशनमा १४२, आईसीयू २२ र भेन्टिलेटरमा दुई जना सङ्क्रमित रहेका छन् ।

हाल ५०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुमा ललितपुर र मोरङ रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरूमा मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, हुम्ला, बाजुरा र डढेलधुरा छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७६३, ललितपुर ३१३ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ४०९ दशमलव पाँच रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array