ठूला र विशेष आयोजनाको निर्माणकार्य निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन : मन्त्री चौधरी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ श्रावण २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ,  सहरी विकासमन्त्री मेटमणि चौधरीले ठूला र विशेष आयोजनाको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले निर्माणको काम समयमा नै सम्पन्न गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यभार सम्हालेको यस अवधिमा नयाँ सहरतर्फ ११ वटा भवन निर्माण, चार सय सडक बत्ती जडान, पाँच हाटबजार, दुई बसपार्क, पाँच खेल मैदान, पाँच पार्क निर्माण, तीन खानेपानी आयोजना निर्माण र तीन वटा जग्गा एकीकरण आयोजनाको सुरुआत गरेको पनि जानकारी गराउनुभयो ।

नेपाल सहरी शासकीय पूर्वाधार विकास आयोजनाअन्तर्गत पोखरामा करिब रु एक अर्ब र तिलोत्तमा नगरपालिकामा करिब रु ७८ करोड लागतको सडक निर्माण कार्यको सम्झौता भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

त्यसैगरी मोरङ जिल्लाको उर्लाबारीमा करिब रु ५१ करोड र विर्तामोड नगरपालिकामा करिब रु ७६ करोड लागतमा सडक निर्माण कार्य अघि बढाइएको जनाइएको छ । त्यसैगरी सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत एक महिनामा करिब १५ हजारको सङ्ख्यामा आवास एकाइको निर्माण कार्य सम्पन्न भएको छ । त्यस्तै ३५ परिवारको लागि यस अवधिमा आवासको छाना छाउने काम सम्पन्न भई अन्य निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नै आगामी दुई महिनाभित्र करिब २० हजार आवासको फुसको छानो फेर्ने पनि पत्रकार सम्मेलनमा मन्त्री चौधरीले जानकारी दिनुभयो ।-

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array