सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ श्रावण २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौँ , नेपाल निर्माण व्यवसायी महासङ्घ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् ।

कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए । महासङ्घका मानार्थ सदस्यसमेत रहनुभएका सङ्घीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायीका साथै कर्मचारी पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन आएसँगै सङ्कटमा रहेको निर्माण उद्योगलाई राहत मिलेको बताउनुभयो ।

“निर्माण उद्योगप्रति रहेको नकारात्मक प्रभाव चिर्दै यस पेसालाई सम्मानित बनाउने दायित्व व्यवसायीको काँधमा आएको छ”, अध्यक्ष सिंहले भन्नुभयो । समृद्धिका सारथी निर्माण व्यवसायीबिना भौतिक पूर्वाधारको विकास विस्तारले गति लिन नसक्ने उहाँको भनाइ थियो ।

महासङ्घका निर्वतमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगको विकासबाट मात्र देशको समृद्धि सम्भव भएको धारणा राख्नुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी)ले व्यवसायीलाई आफ्नो क्षमता अनुसारको मात्र काम गर्न सुझाव दिनुभयो ।

महासङ्घका महासचिव रोशन दाहालले विदेशीले जिम्मा लिएका नेपालका निर्माण परियोजनाको हालत अत्यन्त खराब रहेको बताउनुभयो । विदेशी निर्माण व्यवसायीको तुलनामा नेपाली व्यवसायीले नै राम्रो काम गरेको उहाँको दाबी थियो । महासङ्घका उपाध्यक्ष समेत रहेका एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्तले रु २५ लाखभन्दा बढीलाई रोजगारी दिएको निर्माण उद्योग चलायमान भए मात्र देशको अर्थतन्त्र मजबुत हुनसक्ने तर्क गर्नुभयो । निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष शिवप्रसाद नेपालले निर्माण व्यवसायीले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभयो ।

मुलुकमै निर्माण सामग्रीको उद्योग स्थापना गर्न व्यवसायीलाई उहाँले सुझाव दिनुभयो । कार्यक्रममा निर्माण व्यवसायी पूर्णबहादुर तामाङ, सुवित श्रेष्ठ, छत्र लामा, शिवहरि घिमिरे लगायतले निर्माण व्यवसायीका समस्याबारे चर्चा गर्नुभएको थियो ।

महासङ्घको विधानबमोजिम एसोसिएट उपाध्यक्ष स्वतः एसोसिएट समन्वय समितिको संयोजक रहने प्रावधानअनुसार भेलाले समितिको सहसंयोजक सहितको कार्यसमिति निर्विरोध चयन गरेको छ । सोअनुसार सहसंयोजकमा एनसी शेर्पा, भाइराजा श्रेष्ठ र रमेश अधिकारीलाई निर्विरोध चयन गरिएको छ ।

सचिवद्वयमा नवराज श्रेष्ठ र मोहन कार्की निर्विरोध हुनुभएको छ । उपसचिव माधवप्रसाद आचार्य चयन हुनुभएको छ । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मी कार्की र कृष्णहरि चौलागार्इं चयन भएको जनाइएको छ । सदस्यमा निर्विरोध चयन हुनेमा कुमारध्वज कार्की, उमेशध्वज थापा, गोकर्ण राउत, अनिल सिलवाल, खड्गबहादुर बुढाथोकी, कुमारप्रसाद गौतम र सूर्य अधिकारी रहनुभएको छ ।

सल्लाहकारमा सोम प्रसार्इं, विनोद भट्टराई र केशव त्वानावसु चयन भएको जनाइएको छ । भेलामा महासङ्घको कार्यसमितिमा एसोसिएटको प्रतिनिधित्व गर्दै विजयी निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array