उपत्यकामा पुनः ‘नो हर्न’ अभियान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ, काठमाडौँ उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमकाबीच नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख शाहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एकअर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्नुभयो ।

‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्तामा सचेतना फैलाउन आजदेखि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् । हर्नले ध्वनी प्रदूषण मात्र नभइ व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिन लागिएको काठमाडौँ महानगर प्रमुख शाहले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा ध्वनी प्रदूषण नियन्त्रणका लागि २०७४ वैशाख १ गतेदेखि ‘नो हर्न’ लागू गरिएको थियो । अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ । केही समय लागू भए पनि पछिल्लो समयमा कार्यान्वयन हुन सकिरहेको थिएन । अहिले पुनः कार्यक्रमलाई तीव्रता दिन लागिएको छ ।

कार्यक्रमको थालनी रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट गरिएको थियो । त्यसपछि काठमाडौँ महानगरपालिकाका प्रमुख शाह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक चौधरी, स्वयमसेवक, पद्मकन्या क्याम्पसका प्राध्यापक र विद्ययार्थीले सिंहदरबार चोकमा गई सार्वजनिक तथा निजी सवारी साधनमा ‘नो हर्न’ लेखिएको स्टिकर टाँसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array