प्रहरी कर्मचारीले कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने छन् : प्रहरी महानिरीक्षक सिंह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ श्रावण २०७९, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताउनुभएको छ ।
आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिरिक्षक सिंहले कानून भन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकता भन्दा बाहिर गएमा कारवाही गरिने उल्लेख गर्नुभयो ।
महानिरिक्षक सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताउनुभएको छ ।
प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणाली अनुरूप पारदर्शी रूपमा भएको बताउँदै सांगठनिक सुधारको लागि ८ वटा लक्ष्य सहित कार्ययोजना २०७९ लागू समेत गरिएको उल्लेख गर्नुभयो । मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उहाँले चर्चा गर्नुभयो । प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहलेहालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै निर्वाचन शान्तिपूर्ण, भयरहित एवम् विश्वसनीय वातावरणमा सम्पन्न भएको चर्चा गर्नुभयो । साथै उहाँले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि प्रारम्भिक चरणका कार्यहरू समेत थालनी भइसकेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंह र उपस्थित सञ्चारकर्मीहरूबीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।
कार्यक्रमको शुरूमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले गत आर्थिक वर्ष २०७७÷०७८ र चालु आर्थिक वर्ष २०७८÷०७९ को त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क, नेपाल प्रहरी कार्ययोजना २०७९ एवम् प्रहरी महानिरीक्षकको १०० कार्य दिनमा गरिएका नीतिगत कार्य तथा सुधारका कार्यक्रम, अपराध अनुसन्धान, प्रविधिको प्रयोग, प्रहरी कार्य, विपद् उद्दार, समन्वय र सहयोग, मानवस्रोत विकास, प्रहरी प्रशासन, भौतिक पूर्वाधार, नेपाल प्रहरी अस्पताल तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको सहभागिता सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृतहरूको साथै विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array