कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ श्रावण २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बसेको बैठकले आगामी मङ्सिर ४ गते आइतबार सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचनमा प्रणाली र समानुपातिक निर्वाचनमा भाग लिन पार्टीलाई निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा २७१ तथा राजनीति दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्न पार्टीले नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।

बैठकले महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले परित गर्दै पार्टीका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई सुम्पिएको छ ।

पार्टीका मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको विधानको धारा ३२ (८) (क), (ख), (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (७) (क), (ख), (ग) र (घ) अनुसारको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन दिनुका साथै पार्टीको निर्वाचन केन्द्रित राष्ट्रियव्यापी कार्यक्रम भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्