नेपाल रेडक्रस सोसाइटी काठमाडौँ सभापतिमा डोटेल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ, नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको सभापति पदमा श्यामकाजी डोटेल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न शाखाको ४२औँ अधिवेशनमा उहाँले ६९ मत प्राप्त गरी सो पदमा निर्वाचित हुनुभएको हो । यस अगाडि उहाँ शाखाको मन्त्री हुनुहुन्थ्यो ।

नवनिर्वाचित सभापति डोटेलको निकटतम् प्रतिस्पर्धी लबराज श्रेष्ठले ३४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकारी एवं नेरेसो भक्तपुरका शाखाको मन्त्री पर्शुराम पाण्डेले जानकारी दिनुभयो । यसैगरी शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा सुनिलकुमार श्रेष्ठ, उपकोषाध्यक्षमा नवराज भण्डारी निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यमा पुष्कर चालिसे, श्यामलाल तण्डुकार, अमृतनारायण मानन्धर, विदुर भट्टराई, राजेन्द्र बाँनिया, लक्ष्मीप्रसाद कुइँकेल, राजेन्द्रप्रसाद श्रेष्ठ, प्रतिक्षा खरेल, मञ्जु पाण्डे र सब्बरानी महर्जन चयन हुनुभएको छ ।

निर्वाचनमा जिल्ला शाखाअन्तर्गतका १८ उपशाखामध्ये १७ ले नवनिर्वाचित कार्यसमितिमा प्रतिनिधित्व गरेका छन् । “हामी रेडक्रसको आदर्श, सिद्धान्त र मूल्य–मान्यताअनुसार सामूहिक नेतृत्वमा नेरेसो काठमाडौँलाई लैजान चाहन्छौँ । नवनिर्वाचित कार्यसमितिमा जिल्लाका अधिकांश उपशाखाको प्रतिनिधित्व भएको छ”, नवनिर्वाचित शाखा सभापति डोटेलले भन्नुभयो ।

उहाँले काठमाडौँ जिल्ला शाखाको निर्वाचन नेरेसोको कन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उदाहरण बन्न सक्ने बताउनुभयो । शाखाले पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारलाई सहजीकरण गरिरहेको छ । साथै सहरी विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवालगायत मानवीय सेवाका कार्यक्रम शाखाले सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array