नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड निकासा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

कास्की, गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।

प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताउनुभयो ।

खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि रु पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि भनेर चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै प्रदेश सरकारले रु एक करोड ४० लाख विनियोजन गरेको थियो । अर्थमन्त्रालयले बजेटमा व्यवस्था गरिएकोबाहेक थप बजेट खेलकुद मन्त्रालयलाई उपलब्ध गराएको हो ।

अर्थमन्त्री बरालले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदमा गण्डकीका टोलीको प्रशिक्षण, तयारी र आधारभूत आवश्यकताका लागि बजेट अभाव हुन नदिइने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदका लागि बजेट अभाव हुन दिदैनौँ । अहिले निकासा गरिएभन्दा थप आवश्यक परेमा पुनः बजेट दिन्छौँ । खेलाडीलाई आधारभूत सुविधामा बजेट अभावले कुनै पनि कमी हुन दिदैनौँ ।”

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सरकारले खेलाडी प्रशिक्षण सुरु गरेको छ । प्रदेश खेलकुद परिषद्ले शुक्रबारदेखि पहिलो चरणमा १४ खेलको विशेष प्रशिक्षण सुरु गरेको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलको विशेष प्रशिक्षण सञ्चालन भएको बाँकी हो ।

प्रदेश खेलकुद परिषद्ले बाँकी २२ खेलका लागि दोस्रो चरणमा जिल्ला छनोट प्रतियोगिता हुने जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ । यही भदौ ९ देखि १२ गतेसम्म जिल्ला छनोट प्रतियोगिता सञ्चालन गरिने सदस्य सचिव गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्