कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान भएन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौँ । उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको कामपाले जनाएको छ । कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ । उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उहाँको भनाइ छ । उनीहरुलाई कुहिने फोहरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताउनुभयो ।

स्थानीय सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहर व्यवस्थापन गर्ने भने पनि काम सुरु हुन नसकेको कामपाले जनाएको छ । तीन महिनापछि हानिकारक फोहर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको कामपाको दाबी छ । दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहर व्यवस्थापन हुन थालेको छ ।

पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समयसमयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहरको डङ्गुर थुप्रने गरेको छ । यसरी स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नभएको भन्दै कामपाले अन्य स्थानमा पनि फोहर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको जनाएको छ ।

साबिकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लग्ने कामपाको योजना छ । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array