सुन तस्करी सेटिङको आरोपमा गृहमन्त्रीको सुरक्षामा खटिएका सई काकी हेडक्वार्टर तानीए

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ — सुन तस्करसँग साठगाँठ गरेको आरोपमा गृहमन्त्री बालकृष्ण खाँणको सुरक्षामा खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक (सिनियर सई) टंक कार्की अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले सई कार्कीलाई आइतबार जिम्मेवारीबाट हटाएर अनुसन्धानमा लागि तानिएको बताए । कार्कीलाई प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहेको निरीक्षणालयले अनुसन्धान अघि बढाएको छ । उनी गृहमन्त्री खाँणको सुरक्षार्थ खटिएका अगुवा गाडीका इन्चार्ज हुन् । प्रहरी प्रवक्ता राईले भीआईपी सुरक्षामै खटिएका प्रहरीमाथि गम्भीर किसिमको आरोप लागिसकेपछि प्रधान कार्यालयले अनुसन्धान अघि बढाएको बताए ।

‘सईमाथि गम्भीर किसिमको आरोप लागेको छ, यसमाथि सत्यतथ्य पत्ता लगाएर संलग्नता देखिए त्यहीअनुसार कारबाही हुन्छ,’ प्रवक्ता राईले भने । सई कार्कीले दुबईबाट आएको तस्करीको सुन गन्तव्यसम्म पुर्‍याउने सेटिङमा काम गरेको आरोप लागेको छ । यसबापत उनले ४ लाख रुपैयाँ लिएको आरोप छ । एक युवकलाई असार १६ मा प्रहरी वृत्त गौशालाले थुनेको थियो । तर, थुनामा रहेका व्यक्तिको गाडीमा रहेको ४ लाख रुपैयाँ उनै सई कार्कीले गायब बनाएको आरोप छ । थुनामा परेका व्यक्तिलाई सई कार्कीले धम्क्याएर रकम असुल्न खोजेको आरोप पनि छ । त्यसअघि असार ९ मा दुबईबाट ५ जना मानिस ५० ग्राम सुनसहित आएका थिए । तर, सुन पठाउनेले भनेको मानिसलाई सुन नदिएर अरुलाई दिएपछि सई टंक कार्कीले सुन पठाउने मानिसको योजनाअनुसार काम गरेको आरोप लागेको छ ।

प्रहरी प्रवक्ता राईले यस विषयमा विस्तृत अनुसन्धानपछि सबै विषय बाहिर आउने र संलग्न देखिए सईमाथि कारबाही गरिने बताए । उनलाई प्रहरी प्रधान कार्यालय बाहिर जान नपाउने गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array