काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले अल्फाविटा कम्प्लेक्सका निर्देशकले नक्सा माग गर्नु भएको प्रसङ्ग उल्लेख गर्दै आफूले कार्यालयबाट नक्सासँगै डोजर पनि लिएको गएको उल्लेख गर्नुभएको छ । व्यवसायिक भवनको बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तलाको प्रयोग अनुगमन गर्न विहान बानेश्वरमा रहेको कम्प्लेक्समा पुगेको बेला अल्फाविटाका निर्देशक द्विराज शर्माले महानगरसँग नक्सा होला, हेर्नोस् भनेर आफू कानुनी रुपमा बलियो भएको दावी प्रस्तुत गर्नुभएको थियो । त्यसपछि प्रमुख शाह कार्यालयमा आएर नक्सा लिएर फेरि कम्प्लेक्स जानुभएको थियो ।
त्यहाँ पुगेर कम्प्लेक्सको बेसमेन्ट प्रवेश गर्ने ठाउँमा बनाइएको संरचना भत्काउन लगाउनुभयो । यो क्रम उल्लेख गर्दै प्रमुख शाह भन्नुहुन्छ, ‘उहाँले आफ्नै नक्सा मसँग माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’
महानगरले बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न ३५ दिने सूचनामार्फत अनुरोध गरेको थियो । सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ् नखुलाएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।
काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ देखि ०७८/०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार यी आर्थिक वर्षहरुमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो । यी भवनको बेसमेन्ट वा सेमी बेसमेन्टमा कि पार्किङ् गराउनुपर्छ कि भण्डार बनाउनु पर्छ । तर यीमध्ये अधिकांशले अन्य प्रयोजनमा ठाउँलाई प्रयोगमा ल्याएका छन् ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार आज अल्फाविटासँगै बानेश्वरबाट शंखमुल जाने सडकमा रहेको बर्गर हाउसलाई कारवाही गरिएको छ । त्यस क्षेत्रमा बेसमेन्टको प्रयोग गरेर करीव ५ ठाउँमा पसल, रेष्टुरेन्टजस्ता व्यवसाय सञ्चालनमा छन् । उनीहरुलाई प्रयोजनअनुरुप संरचना प्रयोग गर्न सचेत गराइएको छ । आजको कारवाहीका विषयमा जानकारी दिँदै पाण्डे भन्नुहुन्छ, ‘वडा नं. ९ मा मुक्ति विकास बैङ्क भएको भवनको बेसमेन्टमा सञ्चालन भएको व्यवसाय वडाध्यक्षको रोहबरमा बन्द गराइएको छ ।’
प्रतिक्रिया दिनुहोस्