नेकपा माओवादी केन्द्रद्धारा यस अघि सिफारिस भइसकेका व्यक्तिलाई समानुपातिक सूचीका लागि सिफारिस नगर्न सर्कुलर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहत कमिटीलाई सर्कुलर गरेको छ।

विराटनगरमा बसेको पार्टी प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। ‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ मातहतको कमिटिमा पठाएको सर्कुलरमा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भइसक्नु भएका कमरेडहरूको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गर्न पाइने छैन।’

सर्कुलरमा सबै उम्मेदवारहरूको सिफारिस सम्बन्धित कमिटी बैठकको माइन्युट निर्णयसहित भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पठाइसक्न पनि निर्देशन दिइएको छ।

सो बैठकले एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला संयोजकले बैठकको संयोजन गर्ने र एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय निर्वाचन परिचालन कमिटी प्रमुखले बैठकको संयोजन गर्ने र जिल्लाले सहयोग गर्नुपर्ने निर्णय पनि गरेको छ।

यस्तै बैठकले सम्बन्धित संघीय निर्वाचन क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीहरू, सांसदहरू, जिल्ला समन्वय कमिटीका पदाधिकारीहरू, पार्टीका प्रदेश सदस्य, प्रदेश निर्वाचन परिचालन कमिटीका प्रमुख, संघीय र प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज र संयोजकहरूको संयुक्त बैठकमा सर्वसम्मत भए एक जना र नभएमा बढीमा तीन जना प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने उल्लेख छ।

बैठकले झापा गौरादह नगरपालिकाका अध्यक्ष डण्डीराज घिमिरे, उपाध्यक्ष सुलोचना राजवंशी र सचिव शेरबहादुर कार्कीले दिएको राजीनामा स्वीकृत पनि गरेको छ।

उक्त कमिटीको बैठक बहालवाला उपाध्यक्षको नेतृत्वमा बसेर पदाधिकारीको चयन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ।
यस्तै, ताप्लेजुङ जिल्लाका प्रदेश सदस्यहरूको कार्यविभाजनमा असन्तुष्टि जनाई उक्त जिम्मेवारीबाट राजीनामा बुझाउने विजय प्रकाश बनेम, लक्ष्मी आङछाङ्बो, ठाकुरसिंह लिम्बू र दावा छिरिङ शेर्पाको राजीनामा पनि स्वीकृत गरेको छ।

उनीहरू प्रदेश सदस्यमा भने यथावत् रहेको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array